काठमाडौं । राजनीतिक दलहरु विश्वासको संकटमा फस्दै गएका छन् । राजनीतिक सिद्धान्त, मान्यता र लोकतान्त्रिक पद्धतिमा रहनुपर्नेमा यस्तो हुन सकेको देखिन्न ।
अझं दलका नेताहरु नै असन्तुलित अभिव्यक्ति दिन्छन भने पार्टीकै निर्मम समिक्षा पनि गर्छन तर, किन उनीहरु जस्तोसुकै मिलाप वा विग्रहमा पुग्छन त ?
राजनीतिक दलहरुमा विश्वासको संकट गहिरिदै गएको छ । एकले अर्कोलाई सत्ताको भ¥याङ बनाउने र स्वार्थसिद्ध गर्न जस्तोसुकै सौदाबाजी गर्ने प्रचलनका कारण दलको विश्वसनीयतामाथिका प्रश्न गम्भीर बनिरहेका छन् ।
लोकतन्त्र र दलको आधारभूत मान्यतालाई नै अनुकुल र प्रतिकुलतामा चलाउन खोज्ने कारण पनि समस्या सिर्जना हुन थालेको बताइन्छ । पहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा के छ अवस्था त्यो हेरौं ।
१. नेपाली कांग्रेस
नेपाली कांग्रेस प्रजातन्त्र र लोकतान्त्रिक मान्यतालाई छाड्नै नसकिने भन्छ भने वामपन्थी दलहरुले मुलुकलाई एकाधिकार सर्वसत्तावादमा लैजान काम गर्ने भन्दे आरोप लगाउँछ ।
यतिमात्रै नभई कांग्रेसले घोषित रुपमै एमालेमाथि लगाउने आरोपहरु बडो रोचक र अहिलेको सत्ता गठबन्धन बन्ने आधार नै नबन्ने किसिमका देखिन्छन् । त्यसमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको यो अभिव्यक्ति हेरौं ।
शर्माले गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री केपी ओलीमाथि आरोप लगाउदै संसदमै विभिन्न प्रश्न गर्थे । एकाएक एमाले कांग्रेस गठबन्धन बनेपछि उनले गठबन्धन चुप बस्नका लागि नभएको त भने तर, अहिलेसम्म उनले गिरिबन्धुको विषयमा कतै बोलेका छैनन् ।
यो प्रतिनिधि घटनामात्रै हो । यसरी आरोप–प्रत्यारोपको वर्षा चलेपनि उनीहरुले सहकार्यलाई अघि बढाइरहेका छन् । यद्यपी कांग्रेस नेताहरुले पछिल्लो समय पार्टीमा विचलन आएको र सुधारका काम गर्नुपर्ने पनि भनिरहेका छन् ।
यसरी कांग्रेसले जनतामा भन्ने विषय एउटा र व्यवहार अर्को देखाइरहेको कुरा छिपेको छैन भने जनतामा विश्वासको स्थिति सिर्जना पनि गर्न सकेको देखिन्न ।
२. नेकपा एमाले
प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमाले पनि स्थिर र विश्वासको जग बसाल्न असक्षम बनिरहेको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले सरकार बनाउँदा कांग्रेससँग किन गठबन्धन गरियो भन्ने विषयलाई प्रचण्ड र रवि लामिछानेले विभिन्न मुद्दामा फसाउन खोजेपछि यस्तो भयो भनिरहेका छन् ।
ओलीले यस्तो अभिव्यक्ति दिनुले सत्ता र सरकारलाई नै जनताले अविश्वास गर्ने स्थिति बनेको छ भने मतभेदको चुलीमा रहेको कांग्रेससँगको मिलापलाई पनि अनौठो मानिएको छ । कुनैबेला कांग्रेससँग लिखित माफीनामा माग्ने एमालेले सरकारमा सहकार्य गर्नु राजनीतिक रुपमा शंकाको घेरा स्वभाविक देखिन्छ ।
एमाले नेता र पार्टीमाथि नै विश्वासको संकट प्रष्ट छ । दुई दलीय प्रणालीमा जानुपर्ने भन्दै संविधानले नै बहुदलीय प्रतिष्पर्धा भन्दै दल खोल्न दिएको छूटलाई चुनौति दिइरहेको एमाले सत्तामा जानुको कारण के र किन भन्ने औचित्य पुष्टीमै कमजोर बनिरहेको छ ।
३. नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रमाथि सत्ता लोलुपताको आरोप पहिलेदेखि नै लाग्ने गरेको छ । कमजोर अंकगणितमा पनि प्रायः सत्तामै रहने माओवादी अहिले प्रतिपक्षमा छ । तर, माओवादी नेताहरु सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा फरक व्यवहार देखाउने गर्छन् । जसकारण जनताले विश्वास गर्ने स्थिति बन्न सकेको देखिन्न ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामपन्थी एकताको विषयमा केहि समय पहिले गरेको दाबीले नै माओवादी स्थिर बन्न सकेको छैन भन्ने देखिन्छ ।
वामपन्थी एकता भनेको केहि समयमै विप्लव लगायतका नेता र दलहरुले उपयोग गर्न खोजेको आरोप लगाएपछि कांग्रेस एमालेले प्रचण्डलाई छाड्नुको कारण पनि यस्तै त होला भन्ने भाष्य निर्माण भइरहेको देखिन्छ भने माओवादी केन्द्र पनि विश्वास जागृत गर्ने सवालमा संकटमै देखिन्छ ।
४. राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको जनताको विश्वास क्षणभरमै ढलेको छ । रास्वपाले राजनीतिक प्रतिशोध भनेपनि पार्टी सञ्चालनको शैलीमै चुक्दा प्रश्नहरु जब्बर बनेका छन् ।
रास्वपामा कार्यकारी पदहरु रिक्त छन् । ती पदमा कार्यबाहकले नै चलाउने अभ्यास देखिन्छ । कार्यबाहक सभापति, कार्यबाहक महामन्त्री, कार्यबाहक प्रवक्ता जस्ता पदीय जिम्मेवारीले रास्वपामा राजनीतिक संस्कारकै संकट भएको त होइन भन्ने खतरा पैदा गरिदिएको छ ।
उसोतः रास्वपाले मान्ने भनेको विधिको शासन र सामाजिक न्यायको विषय पनि पछिल्लो समय खण्डित हुँदै गएको छ ।
५. साना दलहरुमा पनि उस्तै
साना दलहरु पनि विश्वासको संकटमा छन् । मधेस केन्द्रित दलहरु फुट्ने र नेता बन्ने प्रवृत्तिको शिकार बनिरहेका छन भने राप्रपाजस्ता दलहरु पनि गम्भीर जनमत संकटमा छन् ।
भने यस्ता दलीय प्रवृत्ति समग्रमा राज्य प्रणालीमै समस्या सिर्जना गरिरहेका छन् । राजनीतिक विश्वास र सीमा दायरामा रहनै नसक्ने दलहरुले नैराश्यतामात्रै फैलाएका छैनन्, मुलुक बन्छ भन्ने विश्वास समेत दिलाउन चुकिरहेका छन् ।
काखापाखाको श्रृङ्खला
संसदको सार्वजनिक लेखा समिति अहिले चर्चामा छ । विभिन्न आरोपमा मुछिएका नेताहरुभन्दा पनि लेखा समितिका सभापति ऋषीकेश पोखरेल अहिले चर्चामा छन् ।
पोखरेल पत्नी अञ्जला कोइरालाले मोरङको ग्रामथानस्थित उमागौरी कृषी सहकारीमा ठगी गरेको आरोपमा चलेको मुद्धामा माओवादीले राजीनामा माग्ने र कांग्रेस एमालेले प्रतिवाद गर्ने विषयले नै राजनीतिक रुपमा यस्ता विषय सत्ताको लेपमा कसरी अघि बढ्छन भन्ने स्थिति निर्माण हुँदै गएको छ ।
उसोतः पोखरेलले पत्नीको बिदा मिलाइदिन भन्दै विद्यालयमा गरेका फोनदेखि फरार भनेर घरमै रहेकी पत्नीविरुद्ध राज्य शक्तिको दुरुपयोगमा किन सत्ताको मौनता ?
प्रश्नहरु जति उठेपनि राज्यले देखाएको व्यवहारका कारण पनि जनताले दलमा आएका विचलनलाई कसरी हेर्लान ? विश्वासको संकटलाई दलहरुले कसरी निवारण गर्ने बाटो खोज्लान ? चासो देखिन्छ ।
