
काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अनुसार आवश्यक संरचना निर्माणका कार्यले गति पाएका छन् । जसअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिएसँगै यस प्रतियोगिताका लागि आवश्यक तयारीका कामहरु धमाधम भइरहेका छन् ।
प्रतियोगिताको तयारी अन्र्तगतनै रहेर कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण सम्पन्न भएको छ ।
१० हजार दर्शक क्षमताको पाराफिटसहित फुटबल मैदान र एथलेटिकसका खेलहरु एक साथ सञ्चालन गर्न सकिने गरी संरचना निर्माण गरिएको हो ।
२०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले सिल्यान्यास गरेको यो आयोजना तीन वर्षको अवधिमा लगभग सतप्रतिशत काम सकिएको छ ।
रङरोगनका केही काम पनि माघ महिनामै सम्पन्न गरी निर्माण व्यवसायीले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
यो आयोजनाको लागि कर्णाली प्रदेश सरकारले कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार (भ्याटसहित) बजेटमा ठेक्का सम्झौता गरेको थियो । निर्माण जिम्मा पाएको एमएसी÷जिएसएल जेभीले २०८१ जेठ ११ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर कोरोना महामारीका कारण लामो समयसम्म लामो समयसम्म चिनियाँ नाका नखुलेका कारण सामान ढुवानीमा समस्या भएकाले ७ महिना ढिलो हुन पुगेको निर्माण पक्षले जनाएको छ । यद्दपी, आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संरचना निर्माणको सम्पूर्ण कार्य सम्पन्न गरिसकिएको निर्माण पक्षका प्राविधिक पुरुषोत्तम बरालले बताउछन् ।
रंगशालामा भिआईपी पाराफिटतर्फ माथिबाट आकर्षक टनेल लगाइएको छ । रंगशाला भित्रिन र बाहिरिन १२ वटा साना तथा ठूला गेटहरु निर्माण गरिएका छन् । भिआईपी पाराफिट मुनीको दुई तल्ला अफिसियल काम र खेलाडीहरुका लागि पर्याप्त हलहरु निर्माण गरिएका छन् ।
साथै २ सय भन्दा चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन राख्न मिल्ने अण्डरग्राउण्ड पार्किङ बनाइएको छ । मुख्य रंगशालाको बाहिरपट्टि भलिबल कोर्ट, बास्केटबल, स्वीमिङ कोर्टहरु तयार भइसकेका छन् । छेउ छेउमा दुई ठूला कभर्ड हलहरु निर्माण गरिएका छन् । यहाँ एक साथ १२ वटा खेल खेलाउन सकिने प्राविधिक बरालको भनाई छ ।
कर्णालीको परिचयकै रुपमा रहेको पञ्चदेवल आकृतिमा हरेक गेटमा निर्माण गरिएको छ । रंगशालाको विभिन्न स्थानमा प्रयोग भएका ढुंगाहरु कर्णालीकै हुन् । करिव ९ विघा जमिनमा बनाइएको रंगशाला देशकै लागि नमूनायोग्य खेल संरचना भएको कर्णाली खेलकुद विकास परिषद्को दाबी छ । आफूहरु दशौँ राष्ट्रिय खेलकुदका लागि संरचनाका हिसावले पूर्ण तयारी अवस्थामा रहेको परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल बताउँछन् ।