
काठमाडौं । २०२३ मा अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता गुम्ने संघारमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एक चमत्कारी स्पर्श चाहिएको थियो । त्यसैबेला मञ्चमा देखा परे मोन्टी देशाई । उनको नेतृत्वमा नेपालले मात्र क्रिकेट खेलेन, इतिहास बनायो ।
नेपालको अप्रत्याशित पुनरागमन, लगातार जीत, विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन । यी सबै मोन्टीको रणनीतिक चातुर्यताको उपहार थियो । नेपाली क्रिकेट प्रेमीहरूका लागि उनी ‘मोन्टी म्याजिक’ का पर्याय बने । तर, पछिल्ला प्रदर्शन लयमा थिएन र अपेक्षाहरू पूरा हुन सकेनन् । जसका कारण क्यानले मोन्टीलाई विदाई गरिदिएको छ ।
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई अन्ततः आफ्नो दुई वर्षे सम्झौता पूरा गरेर बिदा हुने भएका छन् । तर उनले एक संघर्षपूर्ण यात्रा, उतारचढावका अनेकौं कथाहरू, अनि नेपाली क्रिकेटलाई नयाँ आत्मविश्वास दिने इतिहास छोडेर जानेछन् ।
देशाईको भविष्यबारे अड्कलबाजी त गत असारमै सुरु भइसकेको थियो, जब नेपाल आइसिसी टी–ट्वान्टी वल्र्ड कप खेलेर स्वदेश फर्किएको थियो । विश्वकपमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेलेर नेपालले जम्मा एक अंक मात्र जोड्न सकेपछि उनलाई हटाउनेबारे क्यानभित्र बहस सुरु भएको थियो । तर, मोन्टीको आगमन हुँदासम्म नेपाली क्रिकेटको अवस्था डगमगाइरहेको थियो ।
एकदिवसीय मान्यता जोगाउने संघर्ष, विश्वकप ग्लोबल छनोटको चुनौती, अनि अन्तर्राष्ट्रिय स्तरमा टिकिरहने अन्योल । तर, उनले हिम्मत हारेनन् । नेपाली क्रिकेटलाई संकटको छेउबाट तानेर बीच मैदानमा ल्याए । उनको प्रशिक्षणमा नेपालले ऐतिहासिक खेलहरू जित्यो, नयाँ उचाइहरू छोयो अनि क्रिकेटप्रेमीहरूलाई एउटा ठूलो सपना देख्न बाध्य बनायो– टेस्ट राष्ट्र बन्ने सपना !
कसरी जोडिएका थिए मोन्टी ?
मोन्टी देसाई सन् २०१७ मा पनि नेपाली क्रिकेट जोडिएका थिए । त्यतिबेला देसाई नेपालको यू–१९ टोलीको ब्याटिङ सल्लाहकार थिए । जसका कारण उनी पाँच वर्षपछि नेपालको मुख्य प्रशिक्षक बन्न इच्छुक थिए । नेपालको मुख्य प्रशिक्षक बन्नुअघि देसाई वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए । वेस्ट इन्डिजसँगको तीन वर्षको सम्झौता सकिएपछि उनी नेपाल आएका हुन् । प्रशिक्षक देसाईको पहिलो वर्षको तलब १२ हजार अमेरिकी डलर थियो ।
त्यसपछि तलब बढाएर १५ हजार अमेरिकी डलर अर्थात् २० लाख ६० हजार रूपैयाँ पु¥याइयो । देसाइले वेस्ट इन्डिज, अफगानिस्तान, युएई, क्यानडाका साथै इण्डियन प्रिमियर लिग (आइपिएल)मा पनि गुजरात लायन्स, राजस्थान रोयल्स, पन्जाब किंग्सको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । सन् २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको सहायक प्रशिक्षकको रुपमा काम गरेका थिए ।
फर्केर हेर्दा
नेपाली क्रिकेटको पुनरुत्थानको कथा लेख्ने हो भने प्रशिक्षक मोन्टी देसाईको नाम स्वर्ण अक्षरले लेखिनु अपरिहार्य रहेको क्रिकेटका फ्यानहरू बताउँछन् । जब नेपाली क्रिकेटको ‘एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता’ गुम्ने खतरा टड्कारो थियो त्यही बेला मोन्टीको जादू चल्यो । कसलाई लाग्थ्यो नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्न सक्छ ? तर मोन्टी आए, देखे, अनि विजयको सूत्र थमाइदिए ।
उनले जादूगरझैं खेलाडीहरूको मानसिकता रूपान्तरण गरे । ‘ह्याप्पी ड्रेसिङ रुम’ को मन्त्र जप्दै, टुक्रिएका खेलाडीहरूलाई एकतामा बाँधिदिए । आत्मविश्वास बढाइदिए, व्यक्तिगत प्रतिभा खुलाउने वातावरण बनाए । नेपाललाई जित्न मात्रै होइन, खेल नै रमाउन सिकाए ।
‘एक खेल, एक जित’ अनि ‘एक बल एक रणनीति’ को अवधारणाले टोलीलाई नयाँ जीवन दियो । ओडिआई स्ट्याटस जागिएको मात्र होइन नेपाल विश्वकप ग्लोबल क्वालिफायरमा पनि प्रवेश गर्यो ।
नेपालले हालका वर्षहरूमा क्रिकेटमा शानदार यात्रा तय गरेको छ । लिग–टुमा प्रभावशाली प्रदर्शनपछि सन् २०२३ को एसिसी प्रिमियर कपमा नेपालले आफ्नो वर्चस्व कायमै राख्यो । घरेलु मैदानमा आयोजित यो प्रतियोगितामा नेपालले उपाधि जित्दै एसिया कपका लागि स्थान पक्का ग¥यो ।
एसिया कपमा नेपालले क्रिकेटका महाशक्ति भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने दुर्लभ अवसर पायो । तर, यो मात्र नेपालका लागि उपलब्धिको कथा थिएन । मोन्टी देशाइको कप्तानीमा नेपाली टिमले टी–२० विश्वकप २०२४ का लागि छनोटको ऐतिहासिक सफलता हात पा¥यो । घरेलु मैदानमा उत्कृष्ट खेल्दै नेपालले दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित ग¥यो ।
सन् २०२४ को जुनमा भएको विश्वकपमा नेपालले एकपछि अर्को रोमाञ्चक खेल प्रस्तुत ग¥यो । विशेषगरी दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल जितको नजिक पुगेर पनि जम्मा १ रनले चुक्यो ।
यो खेलमा नेपाली टिमको जुझारूपनले विश्वभर चर्चा बटुल्यो । बंगलादेश र दक्षिण अफ्रिकाजस्ता टिमलाई टक्कर दिन सक्ने नेपालले अनुभवको कमीका कारण जित्न त सकेन, तर क्रिकेट विश्वलाई आफ्नो क्षमताको झल्को भने अवश्य देखायो । त्यसअघि, २०२३ को सेप्टेम्बरमा चीनमा आयोजित १९औं एसियन गेम्समा पनि नेपालले शानदार प्रदर्शन ग¥यो । समूह चरणमा कीर्तिमान बनाएको नेपाल क्वाटरफाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चम्कियो ।
पछिल्लो खराब प्रर्दशन शृङ्खला
मोन्टीको नेतृत्वमा नेपालले पछिल्ला प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको छ । सन् २०२४ मा खेलिएका लिग–२ का १२ एकदिवसीय खेलमध्ये नेपालले मात्र २ खेलमा जित निकालेको छ । लिग–२ को यो संस्करणमा नेपाल पहिलो वर्षको अंक तालिकामा पुछारबाट दोस्रो स्थान अर्थात् सातौं स्थानमा रहेको छ । यसले नेपालको लागि चुनौती अझ बढाएको छ । टी–२० फम्र्याटमा पनि नेपालको प्रदर्शन निराशाजनक रह्यो ।
सन् २०२४ को एसिसी प्रिमियर कपमा नेपालले खराब प्रदर्शन ग¥यो । सेमिफाइनलमा यूएईसँग पराजित हुँदै एसिया कपमा स्थान बनाउन सकेन । त्यति मात्र होइन, तेस्रो स्थानको खेलमा हङकङसँग पराजित भएपछि नेपालले इमर्जिङ एसिया कपमा पनि मौका गुमायो । विश्वकप लिग–२ मा नेपालले हालसम्म तीन शृङ्खला खेलेको छ । कमजोर नतिजाले टोलीलाई थप दबाबमा पारेको छ ।
जम्मा नौ शृङ्खला खेल्नुपर्ने नेपालले अब सन् २०२७ सम्म छ शृङ्खला खेल्न बाँकी छ । प्रत्येक टोलीले घरेलु मैदानमा तीन शृङ्खला खेल्न पाउने नियमअनुसार नेपालले कीर्तिपुर मैदानमा दुई शृङ्खला खेल्नेछ भने बाँकी चार शृङ्खला विदेशमा खेल्नुपर्नेछ । विदेशका खेलहरूमा नेपालले विशेष गरी ब्याटिङमा संघर्ष गर्दै आएको देखिन्छ ।
के भन्छन् मोन्टी देसाइ ?
मोन्टी देशाईले आफ्नो कार्यकालको समापनलाई बिदाइ नभई आभार व्यक्त गर्ने अवसरका रूपमा लिएका छन् । ‘यो बिदाइ होइन, हार्दिक धन्यवाद हो ।’–आइतबार, सामाजिक सञ्जालमा उनले लेखेका छन् । पछिल्ला दुई वर्षको यात्रामा संजोएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै देशाईले नेपाली क्रिकेटको अपूर्व ऊर्जा र समर्पणको वर्णन गरेका छन् । टीयू मैदानमा एशिया कप छनोटका बेलासमर्थकहरू रुखमा चढेर, छातामुनि उभिएर टिमलाई हौसला प्रदान गरिरहेका थिए । मुलपानीमा विश्वकप छनोटको रोमाञ्चक माहोल जहाँ हरेक बल र रनमा लाखौं नेपालीहरूको धडकन मिसिएको क्षण पनि मोन्टीले सम्झिएका छन् ।
खेलाडीहरूलाई उनले नम्रता र धैर्यता कायम राख्न सुझाव दिएका छन् । लाखौं नेपालीहरूको सपना बोकेर मैदानमा उत्रने खेलाडीहरूलाई उनले ‘वान बल ब्याटल’ को मानसिकता अपनाउन आग्रह गरेका छन् । समर्थकहरूको उर्जालाई उनले नेपाली क्रिकेटको वास्तविक शक्ति भएको बताउँदै धन्यवाद व्यक्त गरेका छन् । नेपाली क्रिकेटको यात्रामा उनले देखेको उत्साह, समर्थन, र जुझारूपनलाई जीवनभर याद गर्ने संकेत दिएका छन् ।
मोन्टी फर्किँदै गर्दा जारी विश्वकप लिग–२ को साइकलमा नेपाल पुनः एकपटक संघर्षरत अवस्थामा देखिएको छ । यस्तो अवस्थामा क्यानको भूमिका झनै महत्वपूर्ण बन्नेछ । मोन्टीको जादूले उचाइमा पु¥याएको नेपाल अब अर्को कुशल नेतृत्वको खोजीमा छ । के नेपालले अर्को जादूगर भेट्टाउनेछ ? वा आफैंले जादू गर्न सिक्नेछ ? यो प्रश्नको उत्तर अबको यात्राले दिनेछ ।