News 24 Television
आदिलको निलम्बन फुकुवाबारे छुम्बी लामाले खोले रहस्य

काठमाडौ । खेलकुदलाई विश्वको सबैभन्दा तटस्थ विधाका रुपमा लिने गरिन्छ । जहाँ भावना, सामुहिकता र एकता हुन्छ । अर्थात् खेलकुद सर्वमान्य मानिदै आइएको छ । तर कहिलेकाँही खेलकुद क्षेत्रमा म्याच फिक्सिङ जस्ता घटना घट्ने गरेका छन् । 

जसले खेलाडी र खेल क्षेत्रलाई नै विवादमा ल्याइदिने गर्छ । नेपाली खेलकुदका फुटबल र क्रिकेटमा यस्ता घटनाले खेलाडीको करियर नै धरापमा परेको इतिहास ताजै छ । जानजान वा अञ्जानमा हुने म्याच फिक्सिङमा कति खेलाडी पलायन भए भने कतिले न्यायको ढोका ढकढकाइरहेका छन् त ?

नेपाली क्रिकेटका चर्चित अनुहार मध्यक एक मोहमद आदिल आलम माथिको प्रतिबन्ध फुकुवा भएसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा फर्किने ढोका खुलेको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार आलमको प्रतिवन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध फुकवा भएसंगै आलम र उनका समर्थक माझ खुसियाली छाएको छ ।

यस्तोमा आलमको प्रतिबन्ध कसरी फुकुवा भयो त ?

सानै उमेरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको महत्वपुर्ण हिस्सा बनेका युवा अलराउन्डर आदील तीन बर्ष पहिले स्पट म्याच फिक्सिङमा परेका थिए । खेलकौशलता मार्फत नेपाली क्रिकेट समर्थकको मन जितिसकेका आलम नेपाल टि–२० लिगमा स्पट फिक्सिङमा पक्राउ परेका थिए। त्यसपछि क्यानले उनलाई निलम्बन गरेको थियो भने सेन्ट्रल कन्ट्याक समेत कट्टा गरेको थियो । नेपाली क्रिकेटमा उँदाउँदो ताराको रुपमा हेरिएका आलम फिक्सिङमा परेपछि उनको भविष्यमा कालो बादल मडारिन पुगेको थियो । 

यसविचमा आदिलको भविष्य बारे समर्थकले निकै चासोका साथ हेरिरहेका थिए । बलिङ र ब्याटिङका माध्यमबाट खेल जिताउने क्षेमतामा दख्खलता राख्ने आलमले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ८ टि–२० र ६ एकदिवसीय खेल खेलिसकेका छन् । यस्तो अवस्थामा आदील पुनः राष्ट्रिय टोलीमा फर्किने बाटो के हो त ?

नेपाल क्रिकेट संघ क्यानले आलमको प्रतिवन्ध फुकुवा गरेसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने ढोका त खुलेको छ तर त्यसका लागि उनले आफैलाई प्रमाणित गर्नुपर्नेछ । राष्ट्रिय क्रिकेट टोलीका छनोटकर्ता र प्रशिक्षकको मन जित्नुपर्नेछ । त्यतिमात्रै होइन बलिङ, व्याटिङ र फिल्डिङमा धुँवादार प्रदर्शन गर्नुपर्नेछ किन भने यतिबेला राष्ट्रिय टोलीमा स्थान बनाउने प्रतिष्पर्धा निकै बढेको छ । 

म्याच फिक्सिङका कारण प्रतिवन्धमा परेका आदीलले क्रिकेटमा कमब्याक गर्ने बाटो खुलेको भएपनि फुटबलमा भने फरक कथा छ । म्याच फिक्सिङमा सफाई पाइसकेका फुटबलर पलायन हुनुपरेको छ । फुटबलको सर्वाैच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) कानमा तेल हालेर बसेको छ । न लिग छ न खेल्ने वातावरणमा छ । छ त केवलएन्फा पदाधिकारीको रबैया । 

सागर थापा सहितका खेलाडीको करियर धरापमा

म्याच फिक्सिङको आरोप लागेका तत्कालिन नेपाली फुटबल टोलीका कप्तान सागर थापा सहित ६ जनाले २०७५ जेठमा उच्च अदालतबाट सफाइ पाइसक्दा समेत पुनः राष्ट्रिय फुटबल टोलीमा फर्किने अवसर पाएनन् । फुटबलको सर्बाैच्च निकाय एन्फा मुकदर्शक बन्दा थापा सहित सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले फुटबलबाटै पलायन हुन पर्याे । 

उनीहरु माथि सन् २००८ देखि २०१२ सम्मका विभिन्न खेलमा नियम उल्लंघन गरेर म्याच फिक्सिङ गरेको आरोपमा एएफसीले २०७३ तीर प्रतिबन्ध लगाएको थियो । प्रतिवन्ध हटेपनि फुटबलमा फर्किने वातावरण बन्न नसक्दा थापा सहितका खेलाडीले रुँदै अन्य पेसा अंगाल्न बाध्य हुनु परेको थियो । 

फिफाकै कारबाही भोगेका गणेश थापाको सक्रियता 

नेपाली फुटबलको सर्वाैच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा सम्हालिसकेका गणेश थापा पुनः फुटबल गतिविधिमा फर्किएका छन् । उनी आर्थिक हिनामिनामाविश्व फुटवलकै सर्वोच्च निकाय फिफाको१० बर्षे लामो प्रतिबन्धमा थिए ।

हालै प्रतिबन्धको सो अवधि पूरा गरेपछि थापा एन्फाको भावि अध्यक्ष बन्नेगरी सक्रिय बन्न थालेका हुन् । थापा माथि सन् २०१५ अप्रिल १६ मा फिफाले प्रतिबन्ध लगाएको थियो भने वैशाख २ अर्थात् अप्रील १५ मा प्रतिवन्ध सकिएको हो । आफु माथिको प्रतिवन्ध सकिएसंगै थापाले नेपाली फुटबलको विकास र विस्तारमा लाग्ने दाबी गरेका छन् । त्यहि अनुरुप थापाले गतिविधि समेत सुरु गरिसकेका छन् । 

सोमबार थापा दलबल सहित एन्फा मुख्यालय सान्दोबाटोमा पुगेर विरोध प्रदर्शन पनि गरे । नेपाली फुटबल डुब्न लागेको उनको जिकिर थियो ।

यतिबेला पंकजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फा पुर्ण रुपमा असफल भइसकेको विश्लेषण भइरहेको छ । दुई बर्ष पुगिसक्दा समेत ए डिभिजन लिग गर्न नसक्नु त्यसको ज्वलन्त उदाहरण हो । फलस्वरुप खेलाडी विदेश पलायनले राष्ट्रिय फुटबल टोली नै कमजोर बनेको छ । नाम चलेका र राम्रो खेल कौशल भएका खेलाडीले जिविको पार्जनको समस्या देखाउँखदै विदेशको बाटो रोजेका छन् । ती मध्यका ठुला नाम हुन् विमल घर्तिमगर । 

चौतर्फी रुपमा एन्फा नेतृत्वको आलोचना भइरहेका बेला नेपाली फुटबल समर्थकले गतिलो नेतृत्वको खोजि गरिरहेका छन् । 

क्रिकेटमा पारस खड्का सहितका नेतृत्वको प्रवेशले अन्धकारमा पुगेको भविष्यमा आशाको दियो बलेको छ । यस्तो अवस्थामा फुटबलको नेतृत्वले पनि निन्द्रा खुलाउने हो की ?

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update