News 24 Television
काँग्रेसको निर्णय : आतंकवाद विरुद्ध हुने सैन्य कारबाही जायज

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका छन् ।

उनले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए । उनका अनुसार काँग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्ने निर्णय गरेकाे छ । उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको पनि बताए । काँग्रेस आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको महतको भनाइ छ ।

‘सँगै भारत र पाकिस्तानको बीचमा जुन द्वन्द्व चर्र्किएको छ । त्यसअघि भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो । लक्षित किसिमबाट निहत्था सिभिलिएनहरुमाथि आक्रमण भएर मारिए । त्यसको नेपाली काँग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ । पछिल्लो समयमा पनि यो जुन परिस्थिति छ, हामी जहिले पनि आतंकवादको खिलापमा छौँ । आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ । युद्धको स्थिति सिर्जना भएको  छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ । सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ । यो फुलस्केल युद्धको रुपमा परिणत नहोस् । शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौँ । हामी आतंकवादको खिलापमा छौँ । आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी छौँ ।’

उनले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update