News 24 Television
विप्लवले फलाएको आलु किन्ने विनोद चौधरीले मुगुको आलु किन्लान ?

मुगु । मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिकामा पछिल्लो समय स्थानीय युवाहरुले सामूहिक आलुखेती गर्दै अएका छन् । आलु खेतीका लागि यस ठाउँको माटो, हावापानी उपयुक्त भएकाले आलु खेतीबाट राम्रो लाभ उर्ठारहेका छन् । ७ हेक्टर क्षेत्रफलमा ३ जना  युवा मिलेर गरेको सामूहिक खेतीबाट ४ सय क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको छ ।  तर उत्पादित आलुले बजार नपाउँदा र भण्डारण समस्याका कारण किसान चिन्तित भएका छन् । 

मुगुको खत्याड गाउँपालिका क्षेत्रका कृषक आलु भित्र्याउने चटारोमा छन् । आलु खेतीका लागि खत्याड गाउँपालिका ७ को क्यातडी जिउला भन्ने स्थानमा स्थानीय युवाहरुले सामूहिक आलुखेती गर्दै अएका छन् । खत्याड गाँउपालिका – ५ का अनिरुद्र जैशी, भानुभक्त रावल र जुम्ला कनका सुन्दरी गाँउपालिका –३ का बम बहादुर बुढा मिलेर ७ हेक्टर बाँझो जमिनमा ३० क्वीन्टल आलुको विउ खरिद गरेर रोपेका थिए । 

खेत जोत्ने समयमा आवश्यकता अनुसार कामदार राखेर ३ लाखभन्दा बढी लगानीमा सामूहिक रुपमा आलु खेती गरेका हुन् । अहिले ४ सय क्वीन्टल भन्दा बढी आलु उत्पादन  भएको छ । दैनिक बारीबाटै २, ३ क्वीन्टल प्रति केजीको ४० रुपैँयाका दरले बिक्री भएको छ । तर, युवा कृषकहरु अन्य बाँकी आलु बजारीकरण र भण्डारणका समस्याका कारण बारीमै कुहिने चिन्तामा छन् ।  

तीन युवालेजस्तै अन्य मानिसहरुले पनि आलु खेति भने गरिरहेका छन् । उनीहरुले आलु उत्पादनका लागि गरेको मेहनतले फल त दिएको छ, तर, बजारीकरणको समस्याले आलु खेर जाने चिन्ता समेत बढेको छ।

बेरोजगार ३ जना युवाहरुले मुगु जिल्लाको खत्याड गाँउपालिकामा नमुना योग्य काम गरेको भन्दै गाउँपालिकाले सहयोग समेत गरिरहेको छ । यहाँका किसानलाई उन्नत जातका बीउ, आवश्यक तालिम, आधुनिक उपकरण र प्राविधिक सहयोग गरी उत्पादन बढाउन प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्ने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाही बताउछन् । 

मुगुमा युवाहरुले गरेको सामूहिक आलु खेतिबाट उत्पादीत आलु खेर जाने चिन्ता चलिरहेको बेला विप्लव नेृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने ठूलो मात्रामा कांग्रेस सांसद समेत रहेका उद्योगपति विनोद चौधरीलाई आलु बेचेको खवर सार्वजनिक भइरहेको छ । 

कृषि र किसानलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा आलु नै खेर जाने स्थितिले मुगुका युवाहरु चिन्तित बन्नु र एउटा पार्टीले गरेको खेततिबाट भएको उत्पादनले बजारीकरणमा समस्या नभोग्नुमा समेत चासोका साथ हेरिएको छ । 

मुगुका युवा किसानहरुले ४० हजार किलो आलु उत्पादन गरेपनि उनीहरुको आलु स्थानीय स्तरमै खपत हुन नसक्ने र ठूला उद्योग वा उद्योगपतिहरुले त्यता ध्यान दिन नसक्दा देशमै केहि गर्न कस्सिएका युवाहरु निराश बन्ने र पलायनको बाटो रोज्ने खतरा समेत रहन्छ । 

यसकारण स्थानीय, प्रदेश र केन्द्र सरकारले समेत यसतर्फ ध्यान दिन आवश्यक छ । भने, उद्योगपति तथा व्यापारीहरुले समेत मुगुमा उत्पादीत आलुको बजारीकरणमा जोड दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update