
काठमाडौं । गणतन्त्र १८ वर्षको हुँदा नहुँदै यसविरुद्ध प्रश्नहरु उठिरहेका छन् । तर, के गणतन्त्रमाथि प्रश्न गर्ने बेला भएको हो ? गणतन्त्रको विकल्प खोज्नुपर्ने बेला भएको हो ? यसबारेका विवेचना चलिरहेका छन् । यता, नेताहरुले गणतन्त्रमाथि प्रश्न उठाउने बेला नभएको जिकिर गरिरहेका छन्, उता केही व्यक्तिहरु अहिलेका शीर्ष नेताहरुले राजनीति छाडेकै दिनबाट सबै ठिक हुँदैजाने भन्न थालेका छन् ।
गणतन्त्र १८ वर्ष पुगेको केहिदनमात्रै भएको छ । नेपालले गणतन्त्र दिवस हरेक जेठ १५ मा मनाउदै आएको छ तर, गणतन्त्र नेपालीहरुको उत्सव बन्न अझै सकिरहेको छैन् । शासन प्रणाली फेरिएपनि सेवा प्रवाह र जनताको सर्वोच्चता कायम हुन नसक्दा उठेका प्रश्नले राजा फर्काउनेदेखि अनेक विरोध तथा प्रदर्शन चलिरहेका छन् । यस्तो बेला गणतन्त्रमाथि प्रश्न गर्ने बेला भएको हो ? यो विषयमा नेताहरु बोल्न थालेका छन् । नेताहरुले भनिरहेका छन, गणतन्त्रमाथि प्रश्न गर्ने बेला भएको छैन् ।
गणतन्त्रमाथिका प्रश्नहरुमा नेताहरु परिवर्तन र सोचको विकासलाई समेत जोडेर हेर्नुपर्नेमा बहस गरिरहेका छन् । गणतन्त्रभन्दा अघि सोच्न सकिने तर, राजतन्त्र अब स्वीकार्य नहुनेमा समेत उनीहरुले जोड दिइरहेका छन् ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र दरबार हत्या प्रकरणकै समय मरिसकेको र त्यसपछि कुशको बाहुन जस्तै नक्कली राजा मात्रै बनाइएकाले राजतन्त्रको वेमौसमी बाजा बजाउन आवश्यक नभएको टिप्पणी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि दिनहुँ भनिरहेका छन्, गणतन्त्रले १८ वर्ष नपुग्दै देश विकास र नागरिक स्वतन्त्रतामा कति फड्को मारिसक्यो भन्ने सबै नागरिकले सोच्न जरुरी छ । कुनै वंशलाई देश सुम्पिन नहुनेतर्फ नागरिक सचेत बन्नु पर्ने प्रचण्डको भनाई छ । यस परिस्थितिका बीच गणतन्त्र किन र कसलाई चाहिन्छ ? यी विषयको बहस पेचिलो बनिरहेको छ भने एकथरीले राजतन्त्रको माग गर्दै फेरि जन्मको श्रेष्ठता खोज्ने प्रयास गर्ने स्थिति बनिरहेको छ । तर, गणतन्त्रमै नेताहरुमा पञ्चायतीकरण र राजतन्त्रको झल्को देखिएका कारण पनि समस्या देखिएको तर्क समेत उत्तिकै छन् ।
घनश्याम पार्टीभित्रको निरंकुशता र शीर्ष नेताहरुमा देखिएको प्रवृत्तिमा छेडखानी र प्रश्न गरिरहेका छन् भने कांग्रेस महामन्त्री गगन थापा शीर्ष नेताहरुले राजनीति छाड्नुपर्नेमा जोड दिन्छन् । अहिले उठेका विरोधका स्वरसमेत शीर्ष नेताहरुले राजनीति छाडेपछि हल हुने विश्वास उनीमा देखिन्छ ।
गणतन्त्र प्रश्न, शंका र अपेक्षाको घेराबन्दीमा परेको छ । गणतन्त्रले आवधिक निर्वाचन, निर्वाचित जनप्रतिनिधिले शासन गर्ने, जनताका छोराछोरी नै राष्ट्र प्रमुख बन्ने व्यवस्था गरेको छ । तर, यी संस्थाहरु स्वच्छ र निष्पक्ष चल्न सकेनन् भन्ने प्रश्नहरु समेत उत्तिकै देखिन्छन् । तथ्याङ्कभन्दा मिथ्याङ्कमा रहेर उठिरहेका प्रश्नले सर्वसाधारणलाई समेत तनाव भइरहेको छ । यद्यपी गणतन्त्रमाथिका प्रश्न र यी विषयलाई हल गर्न जोड दिनुपर्नेमा समेत बहस भने छेड्न थालिएको छ ।