News 24 Television
धपक्कै बलेको अन्नपूर्ण हिमताल, पर्यटकको नजर अझै अपुग 

म्याग्दी । नेपालीमा एउटा उखान छ ‘माल पाएर पनि चाल नपाउनी’ । हो यही उखानलाई चरितार्थ पार्छ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको अन्नपूर्ण हिमताल अर्थात पञ्चकुण्ड ताल । धार्मीक र पर्यटकीय हिसाबले प्रकृतिको वरदान यो ताल प्रचारप्रसार र प्रवद्र्धनको पर्खाइमा छ । 

वरिपरि चाँदी झै टल्केका अन्नपूर्ण हिमश्रृखला र मनाङको तिलिचो हिमाल, बीचमा कञ्चन पानीले भरिएको विशाल हिमताल, यो दृष्य देख्ने जो कोहीको मनमा लाग्छ की यही हो कि शास्त्रहरुमा उल्लेख गरिएको स्वर्ग पनि । तर नभुक्किनुहोस् यो कुनै एआईबाट तयार गरिएको भिडियो भने होइन । यो तालको नाम हो अन्नपूर्ण हिमताल, जसलाई पञ्चकुण्ड पनि भनिन्छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको यो ताल समुद्री सतहबाट ४ हजार ५० मिटरमा अवस्थित छ । 

अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको यो हिमताल मनाङको तिलिचो तालभन्दा थोरै सानो छ । १ लाख ७ हजार वर्ग मिटरमा फैलिएको यो हिमतालको गहिराई भने अहिलेसम्म मापन गरिएको छैन । 

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबाट एक दिन र एक बिहानको यात्रा पछि सजिलै पुग्न सकिने यो हिमतालमा सोचेअनुरुप पर्यटक भने पुग्न सकेका छैनन् । उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येको एक यो ठाउँ प्रचारप्रसार कमीकै कारण ओझेलमा परेको तर पछिल्लो समय प्रचारप्रसारदेखि, भौतिक निर्माण, पदमार्ग व्यवस्थापन लगायतका कुरामा काम अगाडि बढिरहेको सरोकारवाला निकायको भनाइ छ ।

जलवायु परिवर्तनका कारण नेपालका थुप्रै हिमतालहरु फुट्ने समाचारहरु आइरहेका छन्  तर अन्नपूर्ण हिमतालमा भने त्यस्तो कुनै जोखिम छैन किनभने हिउँपहिरोका कारण यो हिमताल थुनिने अवस्थामा छैन । 

जसका कारण पनि यो हिमताल अवलोकनमा पर्यटकहरु सुरक्षित हुन्छन् । तर, हरेक हिसाबले उत्कृष्ट र सुरक्षित हुँदा हुँदै पनि यो हिमतालमा पर्यटकको अवागमन भने निकै न्यून छ । 

पोखराबाट दुई दिनकै यात्रामा यो हिमताल पुगिने भएपनि यसको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । सिंगो म्याग्दी जिल्ला कस्तुरीले जस्तै आफ्नै नाभिको वासना खोज्न भौतारिएको जस्तै लाग्छ । तर अहिले ढिलै भएपनि सरोकारवाला निकायहरूले चासो दिन थालेका छन् । प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर त छ नै धार्मीक हिसाबले पनि यसको महत्व निकै छ । त्यसमाथि हिमालको काखमा ताल हेर्न पाइने भएपछि यसको मोहकता बढेको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने बताउँछन् ।

अतिनै सुन्दर थुप्रै सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म भर्जिन गन्तव्यको अवस्थामा रहेको छ म्याग्दीको अन्नपूर्ण हिमताल । छोटो दुरीको पदमार्ग यात्रा गरि हिमालको काँखमा पुग्न सकिने र यति सुन्दर हिमतालको अवलोकन गर्न सकिने भएपनि उल्लेख्य पर्यटक भने आउन सकेका छैनन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update