
काठमाडौं । नेपाली राष्ट्रि««य क्रिकेट टोली लयमा देखिएको छ । नेपाली टोलीले स्कटल्याण्डमा लिग–२ सिरिज खेलिरहेको छ । पहिलो खेलमा घरेलु टोली माथि एक विकेटको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा नेदरल्याण्डस् माथि ५ विकेटको जित हासिल गर्यो ।
महिनौँपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको क्रिकेट टोलीको लयले लिग–२ मान्यता जोगिने र ग्लोवल क्वालिफायर खेल्ने सम्भावना बढेको छ । मुख्यप्रशिक्षक स्टुआर्ट ल को रणनीतिले सार्थकता पाउने देखिएको छ ।
बुधबार राति नेदरल्याण्डस्लाई ५ विकेटले पराजित गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोली आत्मविश्वासी देखियो । लिग–२ मा हार्ने छुट नपाएको नेपाली टोलीले सानदार जित दर्ता गर्दा क्रिकेट समर्थक खुसीले गदगद भएका छन् । नहुन् पनि किन व्याक टु ब्याट नेपाली टोलीले जितको स्वाद दिइरहेको छ ।
पहिलो खेलमा घरेलु टोली स्कटल्याण्ड माथि एक विकेटको रोमाञ्चक र ऐतिहासिक जित निकालेको नेपाली टोली सिरिज कब्जा गर्ने रणनीतिमा छ । सिरिज खेल्न अघि क्रिकेटको उर्वरभुमि इग्ल्याण्डमा दुई साता अभ्यास गरेको नेपाली टोलीको खेल्ने शैलीमा परिवर्तन देखिएको छ ।
नयाँ प्रशिक्षक र रणनीतिमा मैदानमा उत्रिएको नेपाललाई बलियो नेदरल्याण्डस्ले रोक्न सकेन । स्कटल्याण्डको भुमिमा नेपालले खेलेका दुई खेल हेर्न हो भने खेलाडी लयमा देखिएका छन् । पहिलो खेलमा लय विर्सिएका खेलाडीले दोस्रो खेलमा कमब्याक गरेका छन् ।
यसले नेपाली टोली थप मजबुद बन्नमा टेवा पुगेको छ । स्कटल्याण्डसंगको जितमा करण केसी नायक बन्दा नेदरल्याण्डस् विरुद्धको खेलमा आरिफ शेख नायक बने भने स्टार खेलाडी सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरी लयमा फर्किएका छन् ।
सन्दीप, दीपेन्द्र र आरिफ लयमा फर्किए
स्कटल्याण्ट सिरिजको पहिलो खेलमा लयमा नदेखिएका तीन स्टार खेलाडी हुन् । बलिङ स्टार सन्दीप लामिछाने, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र मध्यक्रमका भरपर्दा व्याटर आरिफ शेख । यी तीन जना खेलाडी चल्नु नेपाली टोलीका लागि जितको संकेत हो । पहिलो खेलमा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कमजोर खेल पस्किएर आलोचना खेपेका सन्दीप, आरिफ र दिपेन्द्रले नेदल्याण्डस् विरुद्धको खेलमा अनुभवी खेल पस्किए । यी तीन जना स्टारकै मद्दतमा नेपालले जित निकाल्न सफल भयो ।
आरिफले सम्हालिदै ७८ रनको पारी खेले । ७ चौका र दुई छक्का प्रहार गरेका उनले ९९ बल खेलेका थिए । खेलको प्लेयर अफ दी म्याच समेत बनेका आरिफ मध्यक्रमका भरपर्दा ब्याटर हुन । पहिलो खेलमा आरिफले १५ बलमा ७ रन मात्रै बनाउन सकेका थिए ।
ग्लोवल स्टार बलर सन्दीप चल्नु नेपाली टोलीका लागि अर्काे फाइदा बन्यो । पहिलो खेलमा मध्यम प्रदर्शन गरेका सन्दीपले नेदरल्याण्डस् विरुद्ध किफायती बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ४८ रन खर्चिएर २ विकेट लिए । नेपाली टोलीका भरपर्दा अलराउन्डर दिपेन्द्रले समेत लय समातेका छन् । उनले नेदरल्याण्डस् विरुद्ध अनुभवको भरपुर सदुपयो गरे । ५१ बल खेलेका उनले ३८ रनको महत्वपुर्ण इनिङ खेले ।
सिरिजको पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध २५ बलमा ९ रनको पारी खेलेर आलोचना खेपेका दिपेन्द्रले कमब्याक गर्नु नेपाली टोलीकै लागि राहत भएको छ ।
कप्तान रोहितको कमजोर प्रदर्शन
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले भने लय समात्न सकेका छैनन् । टोलीको प्रमुख ब्याटरका रुपमा रहेका कप्तान रोहित दुबै खेलमा मध्यम प्रदर्शन गरेका छन् । नेदरल्याण्डस् विरुद्ध ३९ बलमा २३ रन बनाएका रोहितले स्कटल्याण्ट विरुद्ध ५६ बलमा ३७ रन बनाएका थिए । रोहितबाट कम्तिमा अर्धशतकको अपेक्षा नेपाली क्रिकेट समर्थकको हुन्छ ।
कप्तान रोहितले लय समात्नु नेपाली टोलीका लागि अतिआवश्यक छ । किनकी लिग–२ का बाँकी खेल नेपाललाई जित्नुको विकल्प छैन । कप्तानी जिम्मेवारीमा रहेका रोहितको क्रिकेट समर्थकमाझा आलोचनाको तारोमा परेका छन् । उसो त रोहितको प्रदर्शन सम्मानजनक नै रहेको छ ।
सोमपाल र करणको अनुभवी खेल
एक दशकदेखि नेपाली टोलीको हिस्सा बन्दै आएका दुई तीब्र गतिका बलर सोमपाल कामी र करण केसीले अनुभवको भरपुर फाइदा उठाएका छन् ।
पावरप्ले र डेथ ओभरमा विकेट चट्काउन माहिर सोमपाल र करणले नेदरल्याण्डस् विरुद्धको खेलमा उत्कृष्ट खेल पस्किए ।
५० ओभरको खेलमा नेदरल्याण्डलाई २२५ मा रोक्न सोमपालले ३ विकेट लिँदा करणले २ विकेट लिए । यी दुई बलरको प्रभावकारी प्रदर्शन नेपालको जितको अर्काे ठुलो पक्ष बन्यो ।
ललितको दमदार प्रदर्शन
स्कटल्याण्ड सिरिजको पहिलो खेलमा पहिलो रोजाईमा नपरेका स्टार बायाँहाते स्पिनर ललित नारायण राजबंशी नेदरल्याण्डस् विरुद्धको खेलमा पहिलो रोजाईमा परे । मुख्यप्रशिक्षक स्टुआर्ट ल ले रणनीतिक रुपमा ललित प्रयोग गर्दा सफल समेत भए ।
रिजन ढकालको विश्राममा आएका ललितले किफायति बलिङ गरे । ७ ओभर बलिङ गरेका ललितले २ विकेट लिँदै ३० रन मात्रै खर्चिए । घरेलु क्रिकेटमा उत्कृष्ट लयमा रहेका ललितलाई पहिलो खेलमा विश्राम दिदा नेपाली समर्थक अच्चमित भएका थिए । तर प्रशिक्षक स्टुआर्टले विपक्षी टोली अनुसार खेलाडी प्रयोगमा विशेष ध्यान दिएको देखिएको छ । पछिल्लो समय ललितले नेपाली टोलीको भरपर्दा स्पिन बलरका रुपमा स्थापित भइसकेका छन् ।
भुर्तेल आक्रमक बन्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनार कुशल भुर्तेल चल्दा जित निक्लिने गरेको छ । ओपनिङ व्याटिङमा आउने भुर्तेल आक्रमक शैलीका खेलाडी हुन् । उनले आक्रमक शैलीले नेपालेले राम्रो सुरुवात पाउने गरेको छ ।
राम्रो सुरुवात हुँदा नेपाली टोलीका अन्य व्याट्सम्यानले विना दबाब खेलकौशलता देखाउन पाउँछन् । यसहिसावले भुर्तेल फममा आउनु नेपाली टोलीका लागि सुखद पक्ष हो । स्कटल्याण्ड सिरिजको पहिलो खेलमा अर्धशतकीय पारी खेलेका उनले नेदरल्याण्डसँगको खेलमा २५ रनको योगदान दिए ।
स्टुआर्टको रणनीति सफल
आईसीसी विश्वकप लिग–२ को कठिन यात्रामा नेपाली टोलीको मुख्यप्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका स्टुआर्ट ल को सुरुवाती रणनीति सफल देखिएको छ । स्कटल्याण्ड सिरिजबाटै नेपाली टोलीको नेतृत्व सम्हालेका स्टुआर्टको रणनीतिमा नेपालले लिग–२ र एकदिवसीय विश्वकप छनोटको ग्लोवल क्लालिफारमा स्थान बनाउने योजनामा बल पुगेको छ ।
नेपाली समर्थकले स्टुआर्टको प्रशिक्षणमा टोलीले विश्वकप खेल्नेको हेर्न चाहेका छन् ।
लगातार दुई जित संगै नेपाल लिग–२ का १४ खेलमा १० अंग जोडेर सातौँ स्थानमा छ । अव नेपालले लिग–२ का २२ खेल खेल्न बाँकी छ भने स्कटल्याण्ड सिरिजमा नेपालले अब दुई खेल खेल्न बाँकी छ ।
नेपालले जुन ८ मा स्कटल्याण्डसंग खेल्नेछ भने जुन १० मा नेदरल्याण्डस्संग खेल्नेछ । शिर्ष दुईमा रहे नेपालले सिधै एक दीवसीय विश्वकपको ग्लोवल क्वालिफायरमा स्थान बनाउने छ । नेपालको लक्ष्य भनेकै ग्लोवल क्वालिफायर खेल्ने रहेको छ । यस्तो अवस्थामा नेपाली टोलीले लय कायम राख्नु पर्ने र प्रत्येक खेलमा जितकै निम्ति खेल्नुपर्ने चुनौती रहेको छ ।