
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने लाङटाङको क्यान्जेन गुम्बाबाट स्याफ्रुबेसीसम्म ३२ किलोमिटरको ‘लाङटाङ ट्रेल रन-२०२५’ म्याराथन २०८२ वैशाख २४ गते सम्पन्न भएको छ।
रसुवा नुवाकोट पर्यटन समाज, काठमाडौँको आयोजना र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा भएको उक्त म्याराथनमा १०१ जना सहभागी थिए, जसमा १५ महिला र ८६ पुरुष खेलाडी सहभागी भए।
महिला तर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायाले २ घण्टा ५५ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरी प्रथम स्थान हासिल गरिन्। दोस्रो स्थानमा नेपाल प्रहरी क्लबकी लाक्पा निमा शेर्पाले ३ घण्टा ५ मिनेट ३७ सेकेन्ड र तेस्रो स्थानमा खोटाङकी निर्मला राईले ३ घण्टा १५ मिनेट ३२ सेकेन्डमा दौड पूरा गरिन्। चौंथो र पाँचौं स्थानमा क्रमशः सोलुखुम्बुकी आङपुर्पा शेर्पा (३ घण्टा ३८ मिनेट ४१ सेकेन्ड) र खोटाङकी प्रिया राई (३ घण्टा ४३ मिनेट ५८ सेकेन्ड) रहिन्।
पुरुष तर्फ सोलुखुम्बुका मिलन कुलुङले २ घण्टा २६ मिनेट ४६ सेकेन्डमा दौड पूरा गरी प्रथम भए । पाँचथरका विशाल राईले २ घण्टा २७ मिनेट १५ सेकेन्डमा दोस्रो, सोलुखुम्बुका अर्जुन राई कुलुङले २ घण्टा २८ मिनेट ४९ सेकेन्डमा तेस्रो, काठमाडौँका किरण सिंह बोगटीले २ घण्टा २९ मिनेट ३४ सेकेन्डमा चौंथो र काठमाडौँकै गोपाल तामाङले २ घण्टा ३१ मिनेट ५ सेकेन्डमा पाँचौं स्थान हासिल गरे।