
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानको प्यारापिट निर्माणको काम असारभित्रै सक्नेगरी काम भइरहेको बताएका छन् ।
आईतवार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री ओलीले प्यारापिट निर्माण गर्ने पहिलो चरणको कामलाई भरसक असारभित्रै सिध्याउने गरी काम भइरहेको बताए । उनले अहिले मैदानमा करिव डेढ सय जनशक्तिले काम गरिहरेको जानकारी दिए ।
फ्लड लाइटको काम पनि जारी रहेको बताउँदै उनले केही ढिला भए पनि नयाँ, ठूलो भव्य काम भइरहेको दाबी गरे । यसले नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउन, खेलाडीहरुको मनोबल बढाउन र देशको पनि इज्जत, प्रतिष्ठा बढाउने उनकाे भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘डेढ सय जति कामदारहरुले काम गरिरहनुभएको छ । फ्लड लाइटको लागि पनि उहाँहरुले काम गरिरहनुभएको छ । प्यारापिट निर्माण गर्ने पहिलो चरणको कामलाई भरसक असारभित्रै सिध्याउने गरी उहाँहरु लागिरहनुभएको छ । अलिकति ढिलो त भएको छ । तर खुशीको कुरा के हो भने नयाँ, ठूलो भव्य काम भइरहेको छ । यसले नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउन, खेलाडीहरुको मनोबल बढाउन र देशको पनि इज्जत, प्रतिष्ठा बढाउँछ । एउटै राम्रो क्रिकेट स्टेडियम छैन देशमा भन्ने ठाउँमा अब मैदान मात्रै होइन, स्टेडियमसहितको छ भन्ने ठाउँमा एउटा गौरव राख्न पाउने अवस्था बनेको छ ।’
प्रधानमन्त्री ओलीले नयाँ रंगशालाहरु पनि बनिरहेको बताए ।
प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठससिहत संलग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी गराएका थिए ।
ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाएर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।