
कैलाली । सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेश घोषणा गरेका हुन् ।
प्रदेशको ९ जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९५ प्रतिशत साक्षर भइसकेको तथ्यांकका आधारमा यो घोषणा गरिएको हो ।
सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशभरका १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९५ प्रतिशत साक्षर रहेको देखिएसँगै सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो । मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेश घोषणा गरेका हुन् ।
८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो । साक्षर घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ ।
१२ वटा मापदण्ड पूरा गरेका स्थानीय निकायका ९५ प्रतिशत जनसंख्याले साक्षरता कोर्स पूरा गरिसकेपछी पालिका साक्षर घोषण हुन्छ । अन्त्यमा जिल्ला साक्षर घोषण हुन्छ ।
सो बमोजिम प्रदेशका ९ वटै जिल्ला यसअघि नै साक्षर जिल्ला घोषणा भइसकेका थिए। प्रदेश सरकारले पनि अघिल्लो नीति तथा कार्यक्रममा साक्षर प्रदेश घोषणा गर्ने बताएको थियो। घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा लागू गर्नुपर्नेमा जोड दिए ।उनले सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्नका लागि प्रदेश सरकार लागि परेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा १५ देखि ६० वर्षसम्मको जनसंख्या १६ लाख ८८ हजार ३४ रहेको छ । त्यसको ९६.१९ प्रतिशत अर्थात् १६ लाख २३ हजार ७१९ नागरिक साक्षर रहेको शिक्षा निर्देशनालयको तथ्यांक छ । सबैभन्दा बढी साक्षर प्रतिशत (९७.३१) बाजुरामा रहेको छ भने सबैभन्दा कम अछाममा (९५.५५) रहेको छ ।
साक्षरता घोषणाको मापदण्ड पूरा भएपछि बिहीबार सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा भएको एक कार्यक्रमकाबीच प्रदेशलाई साक्षर घोषणा गरिएको हो ।
साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्र बमोजिम प्रदेश साक्षरता अभियान समितिको ११ असारको निर्णयानुसार साक्षर प्रदेश घोषणा गरिएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ ।
धनगढीमा आयोजित घोषणा कार्यक्रममा सामाजिक बिकास मन्त्री मेघराज खड्काले प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहहरुसंग समन्वय गरेर साक्षर उमेर समूहका व्यक्तिको निरन्तर सिकाइका कार्यक्रम र सिप विकासमा जोड दिनुपर्ने धारणा राखेका छन् ।
सुदुरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ । यसअघि बागमती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन् । वर्तमान समयमा साक्षरताको परिभाषा विद्यालयको शिक्षामा मात्र सीमित नहुने भएकाले सिप विकास र जीविकोपार्जनको लागि क्षमता विकासमा अबको साक्षरता अभियान केन्द्रीत हुनुपर्ने सरोकारवालाहरुको भनाई छ ।