News 24 Television
नेपाल इतिहास रच्ने अन्तिम क्षणमा ! गोल मेसिन साम्बाको के छ अवस्था ? 

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली यतिबेला उज्वेकिस्तानमा छ । एएफसी वुमन्स कप छनोट खेल्न त्यहाँ पुगेको महिला टोलीले घरेलु टोलीसंग शनिबार निर्णायक खेल खेल्दैछ । यस खेलमा नेपाललाई इतिहास रच्ने मौका छ । ऐतिहासिक सफलताका लागि तयार नेपाली महिला टोलीको के कस्तो छ त अवस्था ? कसरी हुँदैछ सफलताका लागि तयारी ? 

नेपाली महिला राष्ट्रिय फुटबल टोली एएफसी वुमन्स कप छनोट खेल्न उज्वेकिस्तानमा छ । महिला टोलीले घरेलु टोलीसंग शनिबार निर्णायक खेल खेल्दैछ । 

अर्थात् उज्वेकिस्तानलाई पराजित गर्दै सन् २०२६ को वुमन्स एसिया कप खेल्ने अवसर नेपाललाई छ । नयाँ कप्तान र प्रशिक्षक सहित उच्च मनोबलमा नेपाल छ । समुहचरणमा उत्कृष्ट नतिजा निकालेका दुबै टोली जित्नकै लागि मैदानमा उत्रिनेछन् । 

इतिहास रच्चे अवसर

सावित्रा भण्डारी साम्बाको कप्तानीमा सानदार प्रदर्शन गरिरहेको नेपाली महिला फुटबल टोलीको शनिबार असली परिक्षा हुनेछ । यस परिक्षामा नेपाल पास भयो भने इतिहास रच्नेछ । फेल भयो भने उहि पुरानै कथा दोहोरिने छ । यता, सिंगो खेलकुद जगतले नेपाली महिला फुटबल टोलीको सफलता पर्खिरहेको छ । नेपाली समय अनुसार शनिबार राति ९ बजेर १५ मिनेटमा सुरु हुने खेल बुन्योदकोर रंगशाला हुनेछ । 

नेपाल र उज्वेकिस्तानलाई विजेता बन्दै एसिया कप खेल्ने सुनांैलो अवसर छ । जित्ने टोली आगामी बर्ष अष्ट्रेलियामा हुने वुमेन्स एसिया कपमा स्थान सुरक्षीत गर्नेछ । यसले खेलको रोमाञ्चकता बढाएको छ । 

दुबै टोली जितको खोजिमा हुनेछन् । अन्तर्राष्ट्रिय फुटबलमा १३ पटक फाइनल हारेको नेपाली महिला टोलीले इतिहास रच्नुछ । तर त्यसका लागि घरेलु टोली उज्वेकिस्तानलाई पराजित गर्नुपर्ने चुनौती नेपालसामु छ । नेपाली टोलीकी कप्तान साम्बा उक्त खेललाई लिएर आशावादी छिन् । 

नयाँ कप्तान, नयाँ प्रशिक्षक र नयाँ जोस 

नेपाली महिला टोलीको मुख्यपशिक्षकको जिम्मेवारीमा छन्, बेल्जियमका प्याट्रिक डे विल्डे । अन्तर्राष्ट्रिय युइएफए प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक विल्डेसंग सोमालिया, रुवान्डा, अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ । त्यहि अनुभवको उनले यतिबेला भरपुर सदुपयोग गरिरहेका छन् र नेपाली महिला टोलीले उम्दा प्रदर्शन गरिरहेको छ । तर उनको समेत असली परिक्षा उज्वेकिस्तानसंगको खेलमा हनेछ । 

नेपालको ११ औँ कप्तान बनेकी सावित्रा भण्डारी साम्बाले टोली हाकिरहेकी छिन् । अघिल्ला दुई खेलको उत्कृष्ट नजिता दिलाउन सफल साम्बाका लागि उज्वेकिस्तान विरुद्धको खेल महत्वपुर्ण रहेको छ ।   

फाइनलमा गोपकिपर को ? 

नेपालको गोल पोस्ट सम्हाल्दै आएकी नि–वर्तमान कप्तान एन्जीला तुम्बाप्पो सुब्बाका लागि उज्वेकिस्तान भ्रमण त्यति सुखदायी बन्न सकेको छैन् । एकातर्फ कप्तानी जिम्मेवारी खोसिएको छ भने अर्काे तीर उनले प्लेइङ–११ मा मौका पाएकी छैनन् । लाओस् र श्रीलंका विरुद्धको खेलमा अञ्जना रानामगरले नेपाली गोलपोस्ट सम्हालेकी छन् । 

निर्णायक खेलमा नेपालको गोलपोस्ट कसले समात्ने भन्ने कौतुहलता फुटबल समर्थक माझ बढेको छ । अनुभवका हिसावले एन्जीलाले सम्हाल्ने सम्भाना उत्तिकै छ भने निरन्तरताका हिसावले अञ्जनाको सम्भावना समेत उत्तिकै छ । यस्तो बेला मुख्यप्रशिक्षक विल्डेको रणनीतिमै निर्भर रहनेछ । 

पहिला दुई खेलको नजिजा

नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकामाथि ८–० को सानदार जित दर्ता गरेको थियो । समग्रमा नेपालले दुई खेलमा १७ गोल विपक्षी पोस्टमा गर्दा शुन्य गोल खाएको छ । नेपालका लागि कप्तान तथा स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले सात गोल गरिसकेकी छन् । 

साम्बाले लाओसविरूद्ध चार गोल र श्रीलंकाविरूद्ध तीन गोल गरेकी हुन् । उता, आयोजक उज्वेकिस्तानले समेत दुवै खेलमा उत्कृष्ट नजिता निकालेको छ । 

पहिलो खेलमा श्रीलंकालाई १०–० गोल अन्तरले हराउँदा लाओस माथि ७–० को जित दर्ता गर्न सफल भएको छ । नेपाल र उज्वेकिस्तानले समान दुई खेलमा ६–६ अंक जोडेका छन् भने समान १७–१७ गोल विपक्षी पोस्टमा गरेका छन् । दुबै टोलीले गोल खाएका छैनन् । खेल बराबरीमा सकिएमा पेनाल्टीबाट नतिजा निकालिनेछ । अघिल्ला खेलको हेड टु हेड, गोल अन्तर र गोल संख्यामा दुबै टोली समान अवस्थामा छन् । 

हेड टु हेडमा को अघि ? 

फिफा महिला वरीयतामा नेपाल भन्दा घरेलु टोली उज्वेकिस्तान ४९ औँ स्थान माथि छ । नेपाल फिफा रेङिकङको १०० औँ स्थानमा हुँदा उज्वेकिस्तानको ५१ औं स्थानमा छ । यस्तो अवस्थामा नेपाल बलियो टोलीको सामना गर्दैछ । हेड टु हेडमा नेपाल भन्दा उज्वेकिस्तान अघि छ । 

यी दुई टोली अहिलेसम्म तीन पटक आमनेसामने भएका छन् । तीनै पटक उज्वेकिस्तानले बाजी मार्दा नेपालले ११ गोल खाएको छ भने ३ गोल फर्काएको छ । ५ पटक एसिया कप खेलिसकेको उज्वेकिस्तानलाई पराजित गर्न नेपाली महिला टोलीले सम्पुर्ण शक्ती लगाउनु पर्नेछ । खेलको प्रत्यक्ष प्रशारण युट्युव सहित विभिन्न सोसलमिडिया प्लेटफर्म मार्फत हेर्न सकिनेछ । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update