
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकोले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले उक्त तर्क गरे । उनले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको बताए ।
प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको जानकारी दिँदै मन्त्री चौधरीले भने, ‘गण्डकी प्रदेशको सुर्खेत र अन्य ठाउँमा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति र खेल सञ्चालन गर्न उपयुक्त मौसम नभयो भने सम्बन्धी सरोकारवालाहरुसँग दिएको सुझाव एवं जानकारी समेतलाई दृष्टिगत गरी हाल १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरेको छ । हामीले उक्त प्रतियोगिताको लागि अगामी आर्थिक वर्षको लागि बजेट समेत छुट्याएको हुनाले अगामी वर्षमा हुन्छ ।’
देशभरका विभिन्न क्रिकेट रंगशालाको विकास र स्तरोन्नतिका लागि समेत सरकार गम्भीर भएको पनि उनले बताए । उनले खेलको वृहत्तर विकासका लागि भौतिक पूर्वाधार निर्माण, खेलाडीलाई प्रशिक्षण लगायत शीर्षकमा अगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको दाबी गरे ।