
काठमाडौं । सिन्धुलीको छेत्पाबाट १६ सदस्यीय एकै परिवार रहस्यमय रूपमा बेपत्ता भएको कुुराले सोमबार दिनभरी नै सनसनी फैलियो । सुरक्षाकर्मीहरूदेखि स्थानीय प्रशासनसम्म सबै सक्रिय भए ।
सिन्धुलीबाट गायब भएको परिवार पोखरामा भेटिए । तर उनीहरु बेपत्ता नभई पुरानो थाततलोबाट पलायन भएका रहेछन् । घटनाको निष्कर्षले सबैलाई स्तब्ध बनायो । उनीहरू झाँक्रीको आदेशमा गाउँ छाडेको खुलासा भएको छ ।
२०८२ साउन १२ गतेको एक अचम्मको खबरले नेपाली समाज फेरि एकपटक अन्धविश्वासको कठोर यथार्थसँग जुध्न बाध्य बनेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाबाट एकैपटक १६ जनाको हायू परिवार सम्पर्कविहीन भयो ।
प्रारम्भिक अनुमानमा अपहरणदेखि आत्महत्या वा तान्त्रिक क्रियाकलापसम्मका अड्कलबाजीहरू भइरहँदा घटनाको जरा भने अन्धविश्वासमै गएर टुङ्गियो । घरका बच्चा–बच्ची पटकपटक बिरामी परे ।
धामीले ‘थाकथलो छाड्’ भनेपछि उनीहरू गाउँ छाडेर गएका रहेछन् । नेपालको विकेन्द्रीकृत राजनीतिक संरचनाले गाउँसम्म सरकारी संयन्त्र पु¥याउने दाबी गरे पनि सामाजिक संरचना अझै धार्मिक भ्रम र अमानवीय परम्पराको दलदलमा गाडिएको छ । हायू परिवारको कथा यस्ता सयौं दृष्टान्तमध्ये एउटा मात्रै हो जहाँ विज्ञानभन्दा पहिले झाँक्री र धामीको ‘आदेश’ पालना गर्न बाध्य पारिन्छ ।
कानुनी व्यवस्था र कार्यान्वयनको खाडल
नेपालमा अन्धविश्वासको रूपमा कायमै रहेका कुप्रथाहरूको अन्त्यका लागि कानुनले स्पष्ट व्यवस्था गरे पनि कुप्रथाका घेराहरु भने तोडिएका छैनन् । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६८ उपदफा (३) मा छाउपडी प्रथालाई भेद्भाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसुर मानेको छ ।
त्यस्तै, बोक्सी आरोप लगाई दुव्र्यवहार गर्नु पनि कानूनतः अपराध हो । तर, कानुनको उपस्थिति कागजमा मात्र सीमित भएको जस्तो देखिन्छ । दुई साताअघि कञ्चनपुरको निगाली गाउँमा ३० वर्षीया कमला आउजीको सर्पको डसाइबाट भएको मृत्यु त्यसैको प्रमाण हो । महिनावारीका कारण उनलाई छाउगोठमा राखिएको थियो ।
जब संविधानले महिला समानता र मानव अधिकारको ग्यारेन्टी गरेको छ तब किन उनीहरू अझै छाउगोठमा जीवन र मृत्युको बीचमा झुण्डिइरहेका छन् ? प्रश्न उठ्नु स्वभाविक बनेको छ ।
अन्धविश्वास र भेदभावको घेरो
अन्धविश्वास केवल धार्मिक विश्वासको समस्यामात्र होइन यसले लैङ्गिक र जातीय विभेदलाई पनि प्रश्रय दिएको छ । तल्लो जातकी महिलालाई ‘बोक्सी’ करार गरेर सामाजिक बहिष्कार गर्ने प्रथा अझै पनि जिउँदो छ ।
यो विशेष गरी आर्थिक रूपमा कमजोर, शिक्षा पहुँच नपुगेका महिलाहरूमा बढी देखिन्छ । आज पनि घर बनाउँदा धामीसँग सल्लाह लिनुपर्ने, बच्चा जन्मिँदा झाँक्री बोलाउने, बिरामी हुँदा अस्पताल होइन झाँक्रीकहाँ लैजाने चलनको अन्त्य हुन सकेको छैन । विज्ञान र प्रविधि विश्वव्यापी रूपमा जीवन सुधारको माध्यम बनिरहेको छ । तर, नेपालका धेरै भाग अझै देवता रिसाउने डरमा बाँधिएका छन् ।
राज्य संयन्त्रको कमजोरी
सम्बन्धित सरकारी निकायहरूको उदासिनताका कारण अन्धविश्वासको झाङ झनै फैलिन सहयोगी भएको छ । न महिला तथा बालबालिका मन्त्रालय, न गृह मन्त्रालयले यस्ता घटना रोक्न सक्ने प्रत्यक्ष कार्य योजना सार्वजनिक गरेका छन् । कानुन निर्माण गरेर मात्र समाजको सोच बदलिँदैन । छाउपडी वा बोक्सी आरोपको मुद्दामा कैद सजाय तोकिए पनि प्रहरी प्रशासन आफैं यस्ता घटनालाई गम्भीर रूपमा नलिने गरेको पाइन्छ । कतिपय अवस्थामा त प्रहरीकै अगाडि पीडितलाई ‘यो गाउँको चलन हो, बुझाइदिउँला’ भनेर सम्झाएर फर्काइन्छ ।
हायु परिवारले देखाएको समाजको चित्रण
अन्धविश्वासका शिकार शिक्षित वर्ग पनि हुन सक्ने प्रमाण प्रशस्तै छन् । मेडिकल उपचारभन्दा पहिले झाँक्रीका हातमा धागो बाँधेर शान्ति खोज्नेहरू राजधानीमै देखिन्छन् । राजनीतिक नेतादेखि व्यवसायी, कलाकारदेखि शिक्षकसम्म अन्धविश्वासको घेरोबाट मुक्त छैनन् ।
धामीझाँक्रीका सल्लाह अनुसार निर्वाचन मिति निर्धारण, मन्त्रिपरिषद्को सपथ, घर निर्माण वा विवाहसम्म हुने अवस्था अझै बाँचिरहेको छ । यसले समाजमा विज्ञानभन्दा विश्वासले बढी ठाउँ ओगटेको देखाउँछ ।
अन्धविश्वासको बहस केवल दण्ड–सजाय वा कानुनको कुरा होइन यो समाजको चेतनात्मक रूपान्तरणको प्रश्न पनि हो । केही प्रथाहरू धार्मिक र सांस्कृतिक पहिचानसँग गहिरो गरी गाँसिएका छन् । जसले गर्दा परम्परा र कुप्रथाको छुट्याउन सक्ने चेतनाको खाँचो छ ।
उदाहरणस्वरूप, कुमारी प्रथा एकातिर सांस्कृतिक गौरवको प्रतीक मानिन्छ । अर्कोतर्फ बालअधिकारको दृष्टिले हेर्दा बालिकालाई कैद गर्ने व्यवस्था पनि हो । त्यसैले अन्धविश्वासको अन्त्य केवल प्रतिबन्ध वा गिरफ्तारीबाट होइन व्यवहार र सोच परिवर्तनबाट सम्भव छ ।
राजनीतिक नेतृत्वको विफलता
राजनीतिक नेताहरूले भाषणमा ‘समाज बदल्ने’ कुरा गरे पनि व्यवहारमा त्यो लागू भएको देखिँदैन । स्वयं शीर्ष नेताहरूले जातीय र लैङ्गिक विभेद अन्त्यका लागि आवश्यक कानूनको प्रभावकारी कार्यान्वयनमा गम्भीरता नदेखाउनुले अन्धविश्वास विरुद्धको लडाइँलाई कमजोर बनाएको छ । राजनीतिक दलका शिर्ष नेताहरूले अन्तरजातीय विवाह गरेकै कारण समाजको संरचना र सोचमा परिवर्तन आएको छैन । क्रान्तिकारी नेताहरू गाउँ पुगेर परम्परालाई संरक्षण गर्ने अभिव्यक्ति दिन्छन् । यस्तो दोहोरो चरित्रले जनताको विश्वास पनि हराइरहेको छ ।
चेतना नै अन्धविश्वास अन्त्यको चाबी
नेपाली समाजको गहिरो तहमा जरा गाडेर बसेको अन्धविश्वास केवल धर्म, परम्परा वा गरीबीको परिणाम होइन यो चेतनाको अभाव हो । आधुनिक युगमा प्रवेश गरिसकेको नेपालले विकासका अनेक सपना देख्दा पनि जबसम्म समाजको सोचमा वैज्ञानिक दृष्टिकोण र मानव अधिकारको चेतना विकास हुँदैन तबसम्म छाउगोठमा सर्प डस्ने घटना, बोक्सी आरोपमा कुटपिट, धामीझाँक्रीको भरमा उपचार यी सबैले निरन्तरता पाइरहन्छन् । अन्धविश्वासको विरुद्ध लड्न अब व्यक्तिगत जागरुकता, संस्थागत प्रतिबद्धता र राजनीतिक इच्छाशक्तिको एकीकृत मोर्चा आवश्यक छ । चेतना फैलाउनुको विकल्प छैन । अन्धविश्वासबाट मुक्ति पाउने पहिलो शर्त नै होः बुझाइ ।
२१औँ शताब्दीको नेपाल जहाँ अस्पतालभन्दा झाँक्रीका सल्लाह बढी मानिन्छ, रजस्वलाको नाममा महिलालाई अझै गोठमा थुन्छन्, र बोक्सीको आरोपमा मान्छे कुटिन्छ । के हामी साँच्चै विज्ञानको युगमा बाँचिरहेका छौं कि अन्धविश्वासको कहालीलाग्दो निरन्तरतामा ? धर्म, संस्कृति र परम्पराको आडमा जोगाइएका अन्धविश्वासजन्य अभ्यासहरूले नेपाली समाजलाई आधुनिकताभन्दा विगततिर धकेलिरहेका छन् ।