काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट तेश्रो कार्यकालका लागि केपी ओलीको अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय समितिको पहिलो बैठक काठमाडौंमा बसेको छ । बैठलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वका विषयमा अनावश्यक टिप्पणी नगर्न निर्देशन दिंदै आर्मीको परेड झैंसबैको एकमत हुनु पर्ने बताएका छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी ओलीको पुनः तेश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि काठमाडौंमा पहिलो बैठक बसेको छ । बैठकमा ओलीले निर्देशन दिदै नेता कार्यकर्तालाऐ एकमत हुन मात्रै भनेका छैनन्, गुटको अन्त्य बिहीबारबाटै भएको घोषणा समेत गरेका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी घेराबन्दी भईरहेको भन्दै सबैले त्यसको प्रतिकार गर्नु पर्ने बताए ।
पहिलो बैठकले कार्यविभाजनको जिम्मेवारी सचिवालयले तोक्ने, २५ सदस्यिय सल्लाहाकार परिषद् गठन गर्ने, तीन सातापछि आर्थत् पुस २६ गते देखि २८ गतेसम्म केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।
सल्लाहाकार परिषद् गठन गर्दा महाधिवेशनमा पराजित भएका नेताहरुलाई समावेश गरिने एमाले उपाध्यक्ष बिष्णु पौडेल बताउँछन् ।
सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन अयोग, केन्द्रीय लेखा आयोगमा १० औं महाधिवेशनको कमिटिमा रहेका तर ११ औं महाधिवेशनमा कमिटिमा नपरेकाहरुलाई समेटेर अगाडी जाने अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको भनाई छ । केन्द्रीय समितिमा ३ सय १ को ५ प्रतिशत मात्रै मनोनयन गर्ने प्रवधान छ ।
यसले जम्मा १५ जना मात्रै मनोनित हुनेछन् । त्यसैले बाँकी नेताहरुलाई सल्लाहाकार परिषद्, लेखा आयोग र निर्वाचन आयोगमा ब्यवस्थापन गरिने गुरुङको भनाई छ ।
११ औं महाधिवेशनबाट पदाधिकारीमा दुई जना मात्रै इश्वर पोखरेल पक्षका निर्वाचित भएका छन् भने बाँकी सबै जसो पदमा केपी ओली पक्षका नै निर्वाचित भएका छन् ।
यसले एमालेभित्र ओली स्पष्ट बहुमतमा रहेको देखाएको छ । तर पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक संकटका कारण बहुमत भए पनि ओलीलाई विगतमा जस्तो पार्टीभित्र फरक धारणालाई पेलेर होइन मिलाएर लैजानु पर्ने बाध्यता छ । यस्तो अवस्थामा ओलीले केन्द्रीय सदस्य पदमा को कसलाई मनोनयन गर्छन भन्ने विषय समेत चासोमा छ ।
