News 24 Television
अर्जुननरसिंह केसी चुनावी राजनीतिबाट बिदा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता महसुस गर्दै आफूले चुनावी राजनीतिबाट बिदा लिने निर्णय गरेको उनले बताएका छन्।

सञ्चारकर्मीसँगको कुराकानीमा केसीले करिब ४५ वर्ष लामो सक्रिय राजनीतिक जीवनबाट विश्राम लिने घोषणा गर्दै आफ्नो निर्णय कुनै पनि जेन–जी आन्दोलन वा परिस्थितिजन्य दबाबका कारण नभएको स्पष्ट पारे। यो निर्णय विगतदेखि नै आफूले तयार गरेको व्यक्तिगत सोचको परिणाम भएको उनको भनाइ छ।

“यो मेरो व्यक्तिगत विचार र निर्णय हो। पार्टीले चुनाव लड्न वा नलड्न कुनै निर्देशन दिएको छैन। अघिल्लो निर्वाचनमै मैले यो मेरो अन्तिम चुनाव हो भनेर मत मागेको थिएँ। त्यसैअनुसार अब प्रतिनिधिसभाको निर्वाचन नलड्ने निर्णय गरेको हुँ,” केसीले भने। प्रतिनिधिसभाको चुनावमा सहभागी नहुने भए पनि पार्टी र राजनीतिक गतिविधिमा आफू सक्रिय रहने उनले स्पष्ट पारे।

२०३८ सालदेखि नुवाकोटबाट निरन्तर चुनावी राजनीतिमा सक्रिय रहेका केसीले ४५ वर्षपछि प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धाबाट अलग हुने तयारी गरेका हुन्। उनी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यका रूपमा निर्वाचित भएका थिए।

२०४३ सालको निर्वाचनमा पराजित भए पनि सोही अवधिमा जिल्ला पञ्चायत सभापतिको जिम्मेवारी सम्हालेका केसीले २०४८ सालदेखि भएका छ वटा निर्वाचनमा सहभागिता जनाउँदै लामो राजनीतिक यात्रा तय गरेका छन्।

केसीको यो निर्णयलाई नेपाली राजनीतिमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update