
काठमाडौं । नेपालको कम्युनिष्ट पार्टीहरुमा फुट्ने र जुट्ने विषय सामान्य बनेको छ । नेपालमा वि.स. २००६ सालमा औपचारिक रुपमा कम्युनिष्ट पार्टी स्थापना भएपनि त्यसयता कम्युनिष्ट पार्टीहरु दर्जनौँ पटक फुट र टुटको श्रृंङ्खलाले घेरिएका छन् ।
नेपालमा कम्युनिष्ट पार्टीको इतिहास झण्डै ८ दशक पुग्नै लाग्दा पनि पार्टी विभाजन र विग्रहको खतरा अझ रोकिएको छैन । चाहे पञ्चायतकालीन व्यवस्थाताका होस् वा गणतन्त्र प्राप्तिपछिका घटनाक्रममा नै किन नहोस्, सत्तामै रहँदा पनि आफैभित्रको कलहले कम्युनिष्टहरु विभाजित बन्दै आएको यथार्थता छ ।
पार्टीको सिद्धान्त, जनता र मुलुकको हितभन्दा पद र शक्तिको पछि लाग्नुले पनि कम्युनिष्टहरु आँफै टुट्फुट्को सिकार बन्दै आएका छन् ।
पछिल्लो राजनीतिक परिदृष्यले कम्युनिस्ट दलहरुमा सहमति र समझदारीको अभाव देखाउँदै विवादको श्रृंखला जन्माइरहेको छ । मुलतः २०६४ सालपछि नेकपा माओवादी शान्ति प्रकृयामा आयोे । तर यसपछि नै माओवादी आफ्नै कारण विभाजित भएर छिन्नभिन्न अवस्थामा छ ।
यस्तै, २०७४ सालको आम निर्वाचनअघि सबैभन्दा ठूला कम्युनिष्ट दलहरु नेकपा एमाले र माओवादीले एकता प्रयास गरे । एकताकै नारा लिएर निर्वाचनमा होमिदा उनीहरुले संसदमा झण्डै दुई तिहाईको जनमत प्राप्त गरे । यद्यपि यो एकता लामो समय टिकेन । जसका कारण कम्युनिष्टहरु आफ्नै सरकार ढालेर प्रतिपक्षीसँग गठबन्धन गर्न पुगे ।
यो परिघटनाले कम्युनिष्ट आन्दोलन र एकताको सपना चकनाचुर भयो । यसकै उपज एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीहरु आ–आफ्नै अस्तित्वमा छन् । तरपनि अझैसम्म कम्युनिष्ट पार्टीहरु आन्तरिक कलह र विवादबाट मुक्त हुन सकेका छैनन् ।
कुन दलमा कस्तो कलह ?
नेकपा (माओवादी केन्द्र)
नेकपा माओवादी केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको टकराव उत्कर्षमा छ । साउन ६ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसर पारेर जनार्दनले मनमोहन अधिकारीबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्री भ्रष्टाचारी भनेपछि प्रचण्ड र जनार्दनबीच दोहोरी नै चलिरहेको छ ।
जनार्दनको टिप्पणीपछि माओवादी नेताहरु नै पक्ष र विपक्षमा खण्डित भएका छन् । पार्टी नेतृत्वको आलोचना र फरक मत राख्दै आएका जनार्दनमाथि इंगित गर्दै प्रचण्डलेसमेत इतिहासमै आफूले पार्टीमा कुनै नेतालाई कारवाही नगरेको भन्दै विरोधी पात्रहरुलाई सिंगौरी खेल्न दिएको टिप्पणी गरेका थिए ।
माओवादी भित्रको यो विवाद अझै साम्य भएको छैन । अर्कोतर्फ पार्टीको भावि रणनीति र कदमबारे पनि प्रचण्ड र जनार्दनबीच मत बाझिएको छ । शुक्रबारदेखि जारी स्थायी समिति बैठकको एजेण्डा प्रस्तुत गर्दा प्रचण्डले केन्द्रीय समितिको बैठक कात्तिकमा मात्रै राख्ने प्रस्ताव गरेका थिए । तर जनार्दनले भने आगामी मंसिरमै विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । यो विषयले पनि प्रचण्ड र जनार्दनबीच स्थायी कमिटि बैठकमै बबण्डर मच्चिने खतरा छ । तर विगतको विभाजनले भोगेको क्षतिका कारण फुटमै जाने अवस्था नबन्ने विश्वास माओवादी नेताहरुको छ ।
नेकपा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादी सानो दल भएपनि पार्टीभित्रको विवादले झन्झन ठूलो आकार लिइरहेको छ । पार्टीमा रामकुमारी झाँक्रीले अर्ली महाधिवेशनको माग राख्दै नेतृत्व फेर्ने प्रस्ताव राख्दा अध्यक्ष माधव नेपाल र झलनाथ खनालबीचको विवाद अझ खतरनाक ढंगले उठेको छ ।
एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै पछुतो मान्दै आएका झलनाथलाई माधवले पार्टी नै छाड्न सुझाव दिएपछि यो विवाद उत्कर्षमा देखिन्छ ।
नेकपा एमाले
कम्युनिष्ट पार्टीमध्येकै सबैभन्दा ठूला दल नेकपा एमाले पनि कलहरहित छैन । सत्ताको नेतृत्व समेत गरिरहेको पार्टी एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिको पुनरागमन चर्चाले नेताहरु नै तितरवितर अवस्थामा छन् । पार्टीको नेतृत्व नै ताकेर सक्रिय राजनीतिमा फर्किने विद्याको प्रयासलाई कतिपय नेताहरुले स्वागत गर्दा अध्यक्ष ओली भने यसको विपक्षमा उभिए । जसले पनि पार्टीमा कलह सृजना भएको व्याख्या भइरहेका छन ।
यो विषयले पार्टीको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटिको बैठकमा समेत हलचल मच्चाएको थियो । यद्यपि पार्टीले नै विद्याको राजनीतिक आगमनलाई औपचारिक रुपमा रोक लागाएपछि यो विषय केही मत्थर भएको छ । तर स्वयम् विद्या आफ्नो चाहनाबाट व्याक नहुँदा र केही नेताहरुले उनको राजनीतिक पुनरागमन सही भएको टिप्पणी गरिरहँदा एमालेभित्रको कलह तत्काल अन्त्य हुने संभावना देखिँदैन ।
यसर्थ, कम्युनिष्ट पार्टीहरुको आन्तरिक कलह फेरीपनि विगतको जस्तै पार्टी विभाजन र फुटको कारण नबन्ला भन्न सकिने अवस्था छैन । पछिल्लो समय एमाले, मोओवादी केन्द्र र नेकपा एसभित्रै देखिएको विवादको परिदृष्यले पनि फेरि कम्युनिष्टहरु विभाजनको श्रृंखलातर्फ जाँदै त छैनन् ? भन्ने प्रश्नसँगै चिन्ता बढाएको छ ।