
काठमाडौँ । भ्रष्टाचार अन्त्य, सुशासन र उत्तरदायी सरकारको माग गर्दै जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले दुई दिनमै देशमा ठूलो राजनीतिक उथलपुथल ल्यायो । भदौ २३ र २४ गते भएको आन्दोलनमा ७२ भन्दा बढी नागरिकले ज्यान गुमाए । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति कार्यालय, विशेष अदालत, उच्च अदालत, जिल्ला अदालत, प्रहरी कार्यालय, सरकारी कार्यालय र सवारीसाधन केही बचेनन् ।
दुई दिनसम्म चलेको आन्दोलन हिंसा, आगजनी र बर्बरतामा परिणत भयो । मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता निशानामा परे । राप्रपा, रास्वपासहितका साना दलका नेता, उनीहरूका कार्यालय र निवास निशानामा पारिएन । तर, परम्परागत दलका कार्यालय, निवास, डेरा, सवारीसाधन एउटै बाँकी राखिएन । कांग्रेस सभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा देउवामाथि त उनको बूढानीलकण्ठस्थित निवासमै पुगेर हातपात नै गरियो । भीडबाट मुश्किलले बचाएर हेलिकोप्टरमार्फत उद्धार गरेर ज्यान जोगाइयो । ज्यान जोगाउन प्रमुख दलका शीर्ष, दोस्रो र तेस्रो तहका नेतासमेत लुकेर बस्न बाध्य भए ।
दशकौंदेखि आफू अनुकूल शक्ति संकेन्द्रण गर्दै आएका नेताहरूले फरक मतलाई बेवास्ता गर्दै आएका थिए । उनीहरू आफ्ना निकटस्थहरूलाई मात्रै अवसर दिँदै आलोचना र आत्मसमीक्षालाई चुलोेमा हाल्दै आए । फरक मत राख्ने नेताहरू लोभ, पद वा सुविधा प्राप्तिको आशामा मौन बस्दा देउवा, ओली र प्रचण्डकै वरिपरि सत्ताको चक्र दशकौंसम्म घुमिरह्यो । नेतृत्व हस्तान्तरणको स्वाभाविक प्रक्रिया बन्द रहँदा राजनीतिमा चासो कम भएका जेनजीहरूबाटै विद्रोह सुरु भयो ।
वर्षौं सत्ताको शिखरमा बसेका नेताहरू केही घण्टामै सत्ता र शक्ति छाड्न बाध्य भए । जेनजी आन्दोलनपछि भने परम्परागत दलभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । अहिले कांग्रेस, एमाले र माओवादीका पहिलो र दोस्रो तहका नेताहरूलाई सक्रिय राजनीतिबाट विदा लिन दबाब बढ्दो छ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विगतको राजनीतिमा आत्मालोचना गर्दै पुनः सुधारसहित उठ्ने घोषणा गरिरहेका छन्। खरानीमा परिणत पार्टी कार्यालय र सिंहदरबारको खण्डहर देखाउँदै सुधारको प्रतिज्ञा गरिरहेका छन् । सभापति देउवा आक्रमणपछि उपचाररत भएकाले नेताहरूले स्पष्ट रूपमा नेतृत्वविरुद्ध उभिन सकिरहेका छैनन्, तर अब पुरानो ढर्राले कांग्रेस नचल्ने भन्ने उनीहरूको भनाइ छ ।
एमालेमा पनि अध्यक्ष ओलीलाई विदाई गर्नुपर्ने पनि आवज तीव्ररुपमा उठिरहेको छ । उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतका नेताहरूले भदौ २४ गतै नै अध्यक्ष ओलीको राजीनामा मागेका थिए । केन्द्रीय सदस्य, नेता कार्यकर्तासम्मले खुलेरै अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने मत प्रकट गरिरहेका छन् ।
एमाले सचिव योगेश भट्टराई, गोकुल बाँस्कोटा र महेश बस्नेतले पनि वास्तविक जेनजीको मागमा हातेमालो गर्दै ध्वंश मच्याउनेमाथि मात्रै आक्रोश पोखिरहेका छन् । आफ्नै लागि ७० वर्षको उमेरहद र दुई कार्यकालको व्यवस्थालाई ओलीले विधान संशोधनमार्फत अनुकूल बनाएका थिए । तर, ओलीले यो आकांक्षा राखेको दुई दिनमै प्रधानमन्त्री पद छाड्नुप¥यो । साथै, पार्टी नेतृत्व पनि छाड्न दबाब प¥यो ।
सचिव भट्टराईले यत्ति ठूलो उथलपुथल भएपछि नेतृत्व र संगठन नबदली एमालेले पार नपाउने बताएका छन् । कुनै समय ओलीको विश्वासप्राप्त नेता गोकुल बाँस्कोटाले पनि नेतृत्व बदल्नुपर्ने मत राखेका छन् । बाँस्कोटाले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्– ‘‘अरू क्षति रोक्न जे भो–भो, हैन किन भो, कसरी भो र अब के, कसरी र कहिले गर्ने ? छिटो तर, सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं । अप्रिय लाग्ला, तर सत्य यै हो कि दलविना गणतन्त्र बाँच्दैन, गणतन्तत्रविना समाज, समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, सबै तयार हुनैपर्छ ।’’
अर्का युवा नेता महेश बस्नेतले जेनजीको परिवर्तनका मागप्रति ऐक्यबद्धता जनाएका छन् । तर, अनियन्त्रित भीडले राष्ट्र र पार्टीका सम्पत्ति जलाएकोप्रति आक्रामक बनिरहेका छन् । उनले पनि खुलेरै अब पार्टी नेतृत्व परिवर्तन अपरिहार्य भएको लेखेका छन् । उनले लेखेका छन् ‘‘पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो । अहिले डराएर घरभित्र लुकेर बस्ने सुतुरमुर्गहरूलाई क्रमशः नेतृत्वबाट हटाएर खादा लगाइदिएर बिदा गरौं, जटिलताबाट नयाँ नेतृत्व बन्छ, त्यसलाई स्थापित गरौं ।’’
एमालेमा केही नेताले आवाज उठाए पनि महासचिव शंकर पोखरेलले नेतृत्वको आलोचना नगर्न निर्देशन जारी गरेका छन् । यता, माओवादीका उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनको विषय उठाएको लामो समय भइसक्यो । जेनजीको विद्रोहपछि उनले प्रमुख तीन पार्टीका शीर्ष नेताका कारण आजको स्थिति आएको टिप्पणी गरेका छन् । संसद् विघटन हुनु र देशमा अहिलेको स्थिति आउनुको दोष पार्टीका प्रमुख नेताले लिनुपर्ने पनि उनले बताएका छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत कांग्रेस–एमालेका तेस्रो पुस्ताका नेताहरूलाई नेतृत्वको अन्धभक्तिमा नफस्न सुझाव दिएकी छन् ।
रास्वपा छाडेको घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्– ‘‘कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’’
यी प्रमुख तीन दलमा मात्रै नभई अन्य दलहरुमा नेतृत्व हस्तान्तरणको कुरा उठिरहेको छ ।
तेस्रो तहका नेताहरू पहिलो र दोस्रो पुस्ताका नेताहरूले राजनीतिबाट बिदा लिनुपर्ने बताइरहेका छन् । तर, दलका प्रमुख नेताहरूले भने अहिलेसम्म पुस्तान्तरणका बारेमा कुनै अभिव्यक्ति दिएका छैनन् । जेन–जीको दुई दिनको आन्दोलनले राजनीतिक दलहरूलाई ठूलो शिक्षा दिएको छ । यो शिक्षाबाट राजनीतिक दलहरूले ज्ञान लिएर आफूलाई पुनर्गठित गर्छन् कि पुरानै ढर्राले चल्छन्, त्यो भने हेर्न बाँकी छ ।