वीरगञ्ज । तराई र मिथिला क्षेत्रको लोकआस्थाको महापर्व छठपर्व शनिवारदेखि विधिवत रूपले सुरु भएको छ । सामाजिक सदभाव,परिवार तथा जनकल्याणका लागि गरिने छठपर्व पारम्परिक र वैज्ञानिक दृष्टिकोणले भने अभूतपूर्व छ । मनोकांक्षा पूर्ण गर्न र समाजलाई एकबद्ध राख्ने प्रतीकको रुपमा रहेको छठपर्व शनिबार नहाय खाय विधि गरि शुरू भएको हो ।
तराई मधेसको महत्वपूर्ण पर्व छठ शनिवारदेखि विधिवत रुपमा शुरु भएको छ । छठ पर्वको पहिलो दिन शनिबार ‘नहाय खाय’ विधि गरिएको छ । नहाय खाय विधि गरेसँगै छठ शुरु भएको मानिन्छ । यसदिन नुहाइधुवाइ चोखोनितो गरी शरीर र मनलाई चोखो पारेपछि लौकाको तरकारी र भात खाने प्रचलन छ ।
व्रतालु तथा तिनका परिवारका सदस्यले समेत छठ पर्व नसकुन्जेल मासुमाछा लगायतका भोजन गर्दैनन् । शनिवारदेखि विधिवत रुपमा शुरु भए पनि छठपर्वको मुख्यदिन सोमवार परेको छ । त्यसदिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।
छठको दोस्रो दिन खरना र तेस्रो दिन अस्ताउदो सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो अन्तिम दिन उदाउदो सूर्यलाई अघ्र्य दिएर छठ पर्वको समापन हुनेगर्छ । छठपर्व गर्दा निकै चोखो भएर व्रतका लागि सामाग्री तयार गरिने चलन छ । छठपर्व गर्ने व्रतालुले विधिपूर्वक पूजन सामाग्री बनाउने व्रत बस्ने नया वस्त्र धारण गरी पूजा गर्ने परम्परा रहदै आएको छ । पारम्परिक मैथिली लोक छठगीत, कथा आरती सँगैको विधि समावेश रही छठपर्व गर्ने गरिन्छ ।
यस्तै, प्रसिद्ध धार्मिकस्थलको रुपमा चर्चित वीरगञ्जको घडीअर्वा पोखरी पनि भब्य रुपमा सजाइएको छ । चिठ्ठा चन्दा संकलनको माध्यमबाट स्थानीयले रकम संकलन गरी प्रवेशद्वारदेखि छठघाटलाई भव्य रुपमा सजाउने गरिएको घडीअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष रोकश कुमार साहले बताए ।
वीरगञ्जको घडिअर्वाका साथै नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, मुरलीपोखरी र रानीघाट सहितका पोखरी व्यवस्थापन गर्ने कार्य पनि जारी छ । वीरगञ्जमा मात्रै करिब ३ दर्जन भन्दा बढी घठघाटहरु छन् । छठ पूजा ब्यवस्थापन कार्यका साथै सबै घाटहरुमा सुरक्षा प्रबन्ध मिलाइएको छ ।
तराई मधेसमा विशेष रुपमा मनाइने छठ पर्व पछिल्लो समय देशकै केन्द्रीय राजधानी काठमाडौंमा पनि मनाउने गरिएको छ । छठ पर्वका लागि खोला, नदी, ताल तलैया, पोखरीहरु रंगरोगन गरी सजावट गरिएका छन् । छठ पूजाका लागि नदी तथा पोखरीहरु यति झकिझकाउ भएका छन् ।
छठपर्वले सामाजिक,व्यापारिक,धार्मिक तथा पर्यटकीय क्षेत्रलाई सबल बनाउन पर्याप्त सहयोग पुरयाउने गरेको छ । छठपर्वका लागि प्रयोग गरिने प्रत्येक सामग्री कृषकसँग प्रत्यक्ष जोडिएको हुन्छ । खेतमा उब्जेको फलफूल,उखु,निम्बू,केरा लागयतका बाँसले बनाईएको विभिन्न नाङ्लो, डाला, माटोले बनेको मूर्ति, दीपहरुको प्रयोगले कृषि व्यापारसमेत प्रवद्र्धन हुने गर्छ । घरबाट टाढा रहेका तराईवासीहरु छठ पर्व मनाउन घर फर्किने गर्छन् ।
विगही नदीमा दुई किलोमिटर लामो छठघाट
महोत्तरीको मटिहानी नगरपालिका स्थित बिगही नदीको तटमा झण्डै २ किलोमिटर लामो छठघाट बनाइएको छ । बिगही नदीको तटले नेपालको महोत्तरी, धनुषा र भारत बिहारको मधवापुरलाई एकठाउँमा जोड्ने गरेको छ । त्यसैले यसलाई नेपाल र भारतको साझा छठघाटका लिने गरिन्छ । घाटमा छठ मनाउनका लागि स्थानीय सरकारले समेत साथ दिने गरेको छ ।
लोकआस्था र सामाजिक सद्भावको महापर्व छठ तराई मधेसका जिल्लामा मात्र सीमित नभई देशैभर फैलिँदै गएको छ । जसले गर्दा यो पर्व महत्वपूर्ण चाडको रुपमा स्थापित हुन थालेको छ ।

