News 24 Television
पोखरामा ‘मौरी तथा मह मेला’, कृषक उत्साहित, कृषि पर्यटन प्रवद्र्धनको सन्देश

कास्की । पोखरामा पहिलो पटक शुरु गरिएको ‘मौरी तथा मह मेला’ ले स्थानीय मह उत्पादनलाई स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै मौरीपालन व्यवसायलाई थप व्यवस्थित र व्यवसायिक बनाउने सन्देश दिएको छ । 

किसानबीच अनुभव आदान–प्रदानदेखि बजार विस्तारसम्म महत्वपूर्ण योगदान गर्ने उद्देश्यसहित शुरु भएको मेलाले कृषकलाई आत्मनिर्भरता र आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने संकेत दिएको हो । 

स्थानीय महको प्रयोगलाई स्वास्थ्य, पर्यटन तथा अर्थतन्त्रसँग जोड्ने उद्देश्यले पोखरामा पहिलो पटक ‘मौरी तथा मह मेला’ आयोजना गरिएको छ । पोखरा महानगरपालिका, कृषि विकास शाखा तथा विभिन्न कृषि समूहहरूको संयोजनमा आयोजित मेलाले मौरीपालन व्यवसायलाई व्यवस्थित गर्दै उत्पादन र बजार विस्तारमा सहयोग पु¥याउने आयोजकले जनाएका छन् ।

मेलामा कृषिसम्बन्धी छलफल, खुला हाजिरीजवाफ, बक्तृत्वकला, उत्कृष्ट मौरीपालक कृषक सम्मान तथा मह सम्बन्धित विभिन्न प्रतियोगिताहरू समावेश गरिएको थियो । विषेशगरी मेला मार्फत कृषकहरूबीच व्यवसायिक अनुभव आदान–प्रदान, प्रविधि हस्तान्तरण तथा बजार पहुँच विस्तारमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ । 

यसले मौरीपालनलाई परम्परागतबाट व्यवसायिकतातर्फ लग्दै कृषकको आर्थिक विकास उकास्ने आयोजकको अपेक्षा छ । हाल पोखरामा वार्षिक ९० टन मह उत्पादन हुने गरेको पोखरा महानगरपालिकाको दाबी छ । 

सानासाना कृषि उत्पादनलाई व्यवसायिकतातर्फ लानको लागि पोखरामा पकेट क्षेत्र घोषणा गरी कृषकलाई प्रोत्साहन र आर्थिक स्वावलम्बन तर्फ अगाडि बढाइएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् ।

महले मानव स्वास्थ्यलाई समेत राम्रो बनाउने भएकाले यसको उत्पादन र बजारको माग पनि बढी नै देखिन्छ । स्थानीय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली महले बजार पाइरहेको छ । मौरी पालनबाट आम्दानी राम्रै हुने भएकाले पछिल्लो समय कृषकहरू यसतर्फ निकै आकर्षित भएको देखिन्छन् । 

कृषिबाटै देशको आर्थिक उन्नति सम्भव भएकाले कृषि पेशाप्रति आकर्षण बढाउन तथा किसानलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने जीवनाथ लामिछाने बताउँछन् ।

पोखरा महानगरपालिका वडा नं. १६ मा आयोजित मेलाले मौरीपालन पेसामा लागेकाहरुलाई प्रेरणा दिने, स्थानीय उत्पादित महको पहिचान बढाउने र स्वस्थ्य तथा गुणस्तरीय महको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । 

साथै परम्परागत खेतीबाट व्यवसायिक खेतीतर्फ कृषकहरू जानुपर्ने सन्देश पनि मेलाले दिएको छ । व्यवसायिक खेतीले नै उत्पादनमा वृद्धि, आय विस्तार र रोजगारी सिर्जनासँगै कृषकको जीवनस्तर उकास्ने क्षमता राख्ने कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मी बताउँछन् । 

यसरी आयोजना गरिएको मेलाले स्थानीय उत्पादनको बजारीकरण, कृषकको आत्मनिर्भरता र पोखराको कृषि पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । यस किसिमका कृषि मेलाले स्थानीय उत्पादन, बजारीकरण, प्रविधिको जानकारी र कृषि उत्पादनलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update