News 24 Television
देशकै ठूलो महानगरपालिकामा स्थापना दिवसको रौनक, विशेष कार्यक्रमहरु हुँदै

कास्की । नेपालकै पर्यटन राजधानीका रूपमा परिचित पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस विभिन्न सम्मान, विकास निर्माण तथा सामाजिक कार्यक्रमसहित मनाएको छ । साता व्यापी कार्यक्रममार्फत महानगरले पोखराको विकासमा योगदान पु¥याउने व्यक्तित्व, कर्मचारी, शिक्षक, विद्यार्थी तथा करदातालाई सम्मान गर्दै समावेशी र उत्तरदायी स्थानीय सरकारको सन्देश दिएको छ । 

पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवस साताव्यापी कार्यक्रम आयोजना गरी मनाइरहेको छ । स्थापना दिवसको अवसरमा पोखराका विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गरेका व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ सम्मान, उत्कृष्ट कर्मचारी, एसइई तथा कक्षा ८ मा ४ जिपिए अंक प्राप्त गरेका विद्यार्थी, विषयगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गर्ने ६० जना शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि सम्मान गरिएको छ । 

त्यस्तै सरसफाइमा उत्कृष्ट तीन वडा र समयमै सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदातालाई समेत सम्मान गरेको छ । यसका अलावा स्थापना दिवसकै अवसरमा महानगरले कृषि स्विच कार्यक्रम, सारङ्गी पार्क निर्माणका लागि शिलान्यास, ज्येष्ठ नागरिक सम्मान तथा मानव सेवा आश्रममा न्यानो कपडा वितरण जस्ता सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरेको छ । बिहीबार अर्थात् पुस २ गते पोखरा सभागृहमा आयोजित मूल समारोहमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको समग्र विकासमा महानगरपालिका प्रतिबद्ध रहेको बताए ।

वि.सं. २०१६ मा स्थापना भएको पोखरा नगरपालिका क्रमिक विकासका चरण पार गर्दै २०७५ साउन २३ गते पोखरा महानगरपालिका बनेका हो । करिब ४६४ वर्ग किमी क्षेत्रफलमा फैलिएको पोखरा भौगोलिक हिसाबले मुलुककै सबैभन्दा ठूलो महानगरपालिका हो । 

४० भन्दा बढी जातजातिको बसोबास, मौलिक संस्कृति, ताल–तलैया, धार्मिक स्थल तथा हिमश्रृङ्खलाको नजिकबाट अवलोकन गर्न सकिने विशेषताले पोखरा पर्यटन राजधानीको रूपमा परिचित छ । 

पोखरा महानगरपालिकामा विकासका प्रशस्त अवसरहरू रहेका छन् भने केही चुनौतीहरू पनि विद्यमान छन् । ती चुनौतीहरूलाई सही नीति, योजनाबद्ध कार्यक्रम र जनसहभागितामार्फत अवसरमा रूपान्तरण गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको वक्ताहरुले जोड दिए । 

स्थापना दिवसका अवसरमा विकास, सेवा प्रवाह र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको पोखरा महानगरपालिकाले आगामी दिनमा सुशासन, दिगो विकास र पर्यटन प्रवद्र्धनलाई थप प्रभावकारी बनाउने जनाएको छ । 

ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले सम्पन्न पोखरालाई अझ व्यवस्थित, समृद्ध र नमूना महानगर बनाउने लक्ष्यसहित अघि बढिरहेको महानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update