News 24 Television
एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो हुन्छ :  सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन् । नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमन तथा वार्ताका लागि पुगेका उनले एमाले निर्वाचनमा भाग लिन तयार भएको बताएका हुन् ।

सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको बताउँदै उनले एमाले तथा राजनीतिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका बातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । स्वतन्त्र, भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनको भनाई छ । 

मन्त्री खरेलले भने, ‘आज अलिकति खुलेर कुराहरु हामी दुवै पक्षबीच भएको छ । त्यसमा के भएको छ, भन्दाखेरी नेकपा एमाले तर्फबाट उहाँहरुले स्पष्ट रुपमा भन्नुभएको छ, वातावरण बनाउनुस्, हामी निर्वाचनमा भाग लिन्छौँ, भन्ने कुरा नेकपा एमालेको महासचिवबाट स्पष्ट रुपमा आएको छ । सरकारको तर्फबाट हामीले उहाँहरुलाई निर्वाचनको लागि स्वतन्त्र भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउँछ, चुनाव प्रचारप्रचारको लागि चुनावी अभियानका अगाडी बढ्नको लागि कुनैपनि नेता कार्यकर्ता, अथवा जनतलाई कहीँ कतैपनि अवरोध नभईकन खुला रुपमा भोट माग्ने र भोट दिने वातावरण बनाउने कुरामा सरकार प्रतिवद्ध छ भन्ने कुरामा हामीले प्रतिवद्धता दोहो¥याएका छौँ । यो सबै हिसावले आज नेकपा एमालेसँगको भेटघाट चाहीँ चुनावउन्मुख भएको र चुनावको लागि नेकपा एमाले पनि तयार भएको र सरकारले पनि वातावरण बनाउने कुराहरुमा त्यही रुपमा तयारी अगाडी बढाएको हिसावले अब मुलुक चुनावमा होमियो र चुनावमा अगाडी बढ्यो ।’ 

उनले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्नसक्ने संकेत गरे । एमालले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएपछि  सरकारले पनि निर्वाचनको वातावरण बनाउनकै लागि सकेसम्मको लचकता अपनाउने बताए । भदौ २३ र २४ गतेको घटना छानबिन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनका लागि स्थानहद हटाउने लगायतका विषयका काम गर्ने उनकाे भनाइ छ ।

साे क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातवरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको जानकारी दिँदै सरकारले त्यसलाई सकरात्मक रुपमा लिएर काम अगाडि बढाउने बताए । उनले वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको पनि बताए । 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update