मकवानपुर । राजनीतिक दलहरूभित्र बेला–बेलामा केन्द्रमा देखिने गुटगत कारण र वैचारिक विचलनको प्रभाव जिल्ला तहसम्मै पुग्छ । नेपाली कांग्रेसभित्र त गुटगत भागबण्डा नै हुने गरेको छ । गुटगत भागबण्डा गर्ने कांग्रेस अहिले त झनै विभाजित अवस्थामै छ । तर विगतमा पार्टीभित्रैको अन्तघातको शिकार भएका मकवानपुरका कांग्रेस नेताहरु हातेमालो गरेर हिँडेको अनौठो दृष्य देखिएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने माहोलले गमाउँदै गर्दा मकवानपुर कांग्रेसको दृष्य भने चमत्कारिक देखिएको छ । यसअघि निर्वाचित भएर संसदीय यात्राको स्वाद चाखिसकेकादेखि पटक\पटक चुनावमा हारेका र पहिलो पटक चुनावी प्रक्रियामा सहभागी भएका नयाँ अनुहारका उम्मेदवारहरु पनि यस पटकको निर्वाचनमा मैदानमा छन् ।
मंगलबार जिल्लाका प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, रास्वपा, अन्य दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुले समेत मनोनयन सकिसक्दा पनि कांग्रेस उम्मेदवारको टुंगो लागेकै थिएन । अन्तिम समयमा मात्रै महालक्ष्मी उपाध्याय डीना र कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले टिकट प्राप्त गरे । डिनाले १ बाट र बुद्धले २ नम्बर क्षेत्रबाट टिकट पाए ।
डिना यसअघि पराजित उम्मेदवार हुन् भने लामा कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ निकट मानिन्छन् । त्यसैले अघिल्लो निर्वाचनमा बाँनियाले नै आफूलाई हराएको डिनाले आरोप लगाउँदै आएकी थिइन् । सोही आरोपका कारण डिनाले नै टिकट पाएपछि फेरि पनि उनीमाथि अन्तघात हुने डर कांग्रेस कार्यकर्तामा छ । तर मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरको दृश्य भने फरक देखियो । बानियाँले नै डिना र बुद्धको हात डोर्याउँदै लगेर मनोनयन दर्ता गराए । यो दृष्यले डिना पनि हौसिएकी छन् ।
कांग्रेस बागमती सभापति तथा बागमती प्रदेश मुख्यमन्त्री समेत रहेका बानियाँको राजनीतिक सल्लाहकार समेतको भूमिका निर्वाह गरेका लामा यसपटक कांग्रेस एक ढिक्का रहेको बताउँछन् । पार्टीभित्रको विवाद यसअघि भए पनि अहिले सबै एकजुट भएको उनको दाबी छ ।
२०७९ को आम निर्वाचनमा डीना मकवानपुर १ बाटै प्रतिनिधि सभाको उम्मेदवार बनेकी थिइन् । बानियाँ पनि प्रतिनिधि सभामै जान चाहन्थे । तर सत्ता गठबन्धनका कारण बानियाँ प्रदेशमै दाहोरिन पर्यो । सोही रिसका कारण चुनावमा आफ्नै दलले हराएको आरोप डीनाले लगाउँदै आएकी थिइन् । तर यो पटक कांग्रेस भित्र कुनै विवाद नरहेको बानियाँ बताउँछन् ।
गत निर्वाचनमा कांग्रेसभित्रकै आन्तरिक द्वन्द्वका कारण पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार डीना राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन् । यसपटक भने विगतका कमजोरी नदोहर्याउने प्रतिबद्धतासहित मकवानपुर कांग्रेस एकजुट भएको बताइरहेका छन् । तर देखावटी मिलन हो कि साँच्चै एकबद्ध भएको हो भन्ने चाहीँ मतपरिणामले पुष्टि गर्नेछ ।
