News 24 Television
पुरानो बाचा विर्सिए, नयाँ आश्वासन बाँड्दै उम्मेदवारहरु

भैरहवा । रुपन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने मर्चवार जिल्लाकै दुर्गम क्षेत्र भनेर चिनिन्छ । कृषि उत्पादनमा अब्बल रहे पनि यो क्षेत्र शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार विकासमा निकै पछाडि छ । निर्वाचनका बेला मात्रै आश्वासन बाँड्न आउने नेता चुनाव जितेपछि आफ्ना बाचा बिर्सन्छन् । यसपाली कस्तो आश्वासन बाँडन उम्मेदवारहरु आउँदै होलान् त ? 

हरेक निर्वाचनमा मर्चवारबासीले आफ्ना प्रतिनिधि चुन्छन् । २१ फागुनमा हुने निर्वाचनमा पनि प्रतिनिधि छान्न यहाँका बासिन्दा आतुर छन् । तर, मर्चवारबासीको अवस्था भने फेरिएको छैन । मर्चवारलाई समृद्ध बनाउने र जनजीविकाको क्षेत्रमा काम गर्ने बाचा गरेर निर्वाचित जनप्रतिनिधिले सम्झन लायक कुनै काम नगरेको उनीहरुको गुनासो छ ।

शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, यातायात र पूर्वाधार विकासबाट यो क्षेत्र निकै पछाडि छ । अन्न भण्डार मानिने मर्चवारमा सिंचाईको समेत राम्रो व्यवस्था छैन । यहाँ रहेको मर्चवार लिफ्ट सिंचाई आयोजना पनि जीर्ण बनेको छ । किसानको कृषि उत्पादन राख्ने शीतभण्डारण समेत छैन । रोजगारीका लागि यहाँका स्थानीय खाडी मुलुक वा भैरहवालगायतका सहरमा धाउनु पर्छ । उच्च शिक्षा र उपचारका लागि पनि ३५ किमीसम्म टाढा जानुपर्छ ।

दुई वर्षअघि गरिएको एक सर्वेक्षणमा मुलुकमै सबैभन्दा बढी मोतियाविन्दुको समस्या पनि मर्चवारमै देखाएको थियो । यसले पनि मर्चवारको ऐना झल्काउँछ । खानेपानीको समेत राम्रो प्रबन्ध नरहेको मर्चवारका बासिन्दाको लागि मात्र होइन, उम्मेदवारहरुकै लागि पनि गाडी हुइँकाउँदै भोट माग्न जाने सडक जीर्ण छ । हुलाकी सडकदेखि मर्चवारस्थित भारतीय सीमानाका सम्म निर्माणधीन सडक समेत बजेट अभावले पाँच किमी मात्रै कालोपत्रे भएर अलपत्र छ ।

हिउँदमा बुङबुङ्ती उड्ने धुलो र वर्षा याममा हिलाम्मे सडकले मर्चवार आउजाउ गर्नै कठिन छ । अधिकांश ठाउँमा मोबाइलको नेटवर्क समेत आउँदैन् । नहर छ, पानी आउँदैन । मल अभावले किसानलाई पिरोली रहन्छ । फोहोर व्यवस्थापन नहुँदा सडक होस् वा नाली जहाँतही दुर्गन्ध र फोहोराका थुप्रा छन् । फागुनमा हुने निर्वाचनको हारजितबारे यहाँका मतदाताले लख काट्न सुरु गरिसकेका छन् । तर, विगतमा जस्तै चुनाव जितेपछि आफूले चुनेका प्रतिनिधि फर्केर नआउने चिन्ता मतदाताहरुलाई छ । 

मर्चवार क्षेत्रमा दल र तिनका उम्मेदवार आ–आफ्नो प्रभाव देखाउने होडमा छन् । विकासका दृष्टिले पछि परेको मर्चवारमा दलहरुले आ–आफ्नो शक्ति आर्जन गर्ने होडबाजी गरिरहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरु ओझेलमा छन् । दल र उम्मेदवारले विगतमा गरेका बाचा समेत पूरा गर्न पहलकदमी नहुँदा मर्चवारबासीले विकास र परिवर्तनको महसुस गर्न पाएका छैनन् । यहाँका हरेक विकास निर्माणको काममा भ्रष्टाचारको उजुरी पर्ने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update