मकवानपुर । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सरगर्मी मकवानपुरमा पनि बढेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ठूला र पुराना दलहरुले जितकोे दाबी गरिरहँदा नयाँ दलका उम्मेदवारहरु टक्कर दिने रणनीति सहित चुनावी मैदान उत्रिएका छन् ।
प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरमा चुनावी रौनक बढेको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्यक्षतर्फको दुई सिटका लागि ४४ जना प्रतिस्पर्धामा छन् । २०७९ को निर्वाचनमा विजयी भएकाहरुदेखि नयाँ दलका नयाँ उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
गत निर्वाचनमा मकवानपुर १ बाट राप्रपाका दिपक बहादुर सिंह विजयी भएका थिए भने मकवानपुर २ बाट एमालेका महेश कुमार बर्तौला विजयी भएका थिए । आगामी निर्वाचनमा पनि आफ्नै जित सुनिश्चित रहेको दाबी गर्दै दुवैजना चुनावी मैदानमा छन् ।
पुराना दल र दोहोरिएका अनुहारहरुले जितको दाबी गरिरहँदा यो पटक मकवानपुरमा १५ जना स्वतन्त्र उम्मेदवार सहित आधा दर्जन नयाँ दलहरुबाट नयाँ अनुहार प्रतिष्पर्धामा छन् । पुराना दलका पुराना उम्मेदवारलाई टक्कर दिने रणनीति सहित मैदानमा उत्रिएको र जित सुनिश्चित रहेको दाबी नयाँ दलका उम्मेदवारहरु गर्छन् ।
लामो समयदेखि चुनावी राजनीतिमा स्थापित दल र नेताहरूको वर्चस्वलाई चुनौती दिँदै यसपटक स्वतन्त्र तथा नवगठित दलका उम्मेदवारहरू मैदानमा उत्रिएका हुन् । नयाँ उम्मेदवारहरूले राजनीतिक शुद्धता, सुशासन, विकासमा पारदर्शिता र जनउत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएका छन् ।
पुराना दलका उम्मेदवार भने आफ्नो राजनीतिक अनुभव, संगठनात्मक शक्ति र विगतका उपलब्धिलाई आधार बनाएर चुनावी अभियानमा सक्रिय छन् ।
उनीहरू नयाँ उम्मेदवारको उपस्थितिलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ भन्दै आफूहरू जनताबाट पुनः अनुमोदन हुनेमा ढुक्क देखिन्छन् । मकवानपुरमा श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, आम जनता पार्टी, नेशनल मंगोल अर्जनाइजेशन जस्ता आधा दर्जन बढी नयाँ दलहरुले उम्मेदवार अघि सारेको छ ।
