News 24 Television
प्रदेशसभाको आठौं वर्ष, कानून निर्माणमा भने कमजोर

मकवानपुर । नेपालको संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको बागमती प्रदेशसभा आफ्नो स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । 

२०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु गरेको बागमती प्रदेश सभाले आठौँ वार्षिकोत्सव आइतवार भव्यताको साथ मनायो । जेन–जी प्रदर्शनपछि भग्नावशेष बनेको प्रदेश सभाको भौतिक अवस्था मात्र नभई विधायकी भूमिकासमेत कमजोर देखिएको परिवेशमा स्थापना दिवस मनाइएको हो । 

बागमती प्रदेश सभाले ८ औँ वार्षिकोत्सव भव्यताको साथ मनाएको छ । जेन–जी आन्दोलनपछि सुस्ताएको प्रदेश सभा परिसरमा पहिलो पटक कार्यक्रमको आयोजना भयो ।  

जेनजी आन्दोलनको हस्तक्षेपले भौतिक रूपमा क्षतिग्रस्त भएको प्रदेश सभा विधायकी भूमिकामा पनि निरन्तर कमजोर देखिएको छ । स्थापनाको पहिलो कार्यकालमा तुलनात्मक रूपमा जिम्मेवार र जवाफदेही देखिएको प्रदेश सभा दोस्रो कार्यकालमा आइपुग्दा आफ्नो मुख्य भूमिकामा कमजोर देखिएको हो । 

सांसदहरूको ध्यान कानुन निर्माणभन्दा पनि विकासे योजना र बजेट वितरणमा बढी केन्द्रित हुन थालेको देखिन्छ । ऐन निर्माणमा केन्द्रित हुनुपर्ने सदन सुस्ताउँदा अघिल्लो कार्यकालमा जसरी ऐन निर्माणले तीव्रता पाउन सकेको छैन । 

पछिल्लो ६ महिनादेखि बागमती प्रदेश सभा बैठक नै बस्न सकेको छैन । प्रदेश सभा भवन भग्नावशेष अवस्थामा छ । कर्मचारीहरुले बचेका भवनहरुबाट जसोतसो कार्य सञ्चालन गर्दै आएका छन् भने प्रदेश सभा बैठक बस्नका लागि सभाहल तयार गरिएको छ । 

सरकारले सदन नडाकेपछि विपक्षी दलहरुले विधान अनुसार विशेष अधिवेशन बोलाउने चेतावनी नै दिएका थिए । तर सदन डाक्न र ऐन निर्माणमा  सरकारले नै तदारुकता नदेखाएको प्रमुख प्रतिपक्षी दलको आरोप छ । 

यता, पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकालमा कानुन निर्माणको संख्या मात्र होइन, बैठकमा हुने छलफलको गुणस्तरमा पनि कमी आएको प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईँ बताउँछिन् । यद्यपि, विधायकी भूमिकालाई प्रभावकारी बनाउनेतर्फ प्रदेश सभाले काम गरिरहेको बताउँदै आवश्यकताका आधारमा कानुन निर्माण भैरहेको उनको दाबी छ । 

हालसम्म बागमती प्रदेश सभाबाट ९० वटा विधेयक पारित भएका छन् भने ८९ वटा कानुन राजपत्रमा प्रकाशित भएका छन् । प्रदेशलाई पूर्णरुपमा अधिकार सम्पन्न बनाउन ९९ वटा कानुनको पहिचान गरेको थियो । प्रदेशसभाले स्थापनाको आठौँ वर्षमा प्रवेश गर्दा समेत आवश्यक कानुन निर्माण गर्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update