काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले पब्लिक क्याम्पस संघले उठाउँदै आएको सामुदायिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुको स्तर निर्धारण र क्याम्पसको नविकरणमा रहेको झन्झटिलो समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमवार पशुपति बहुमुखी क्याम्पसको ४६ औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा उपकूलपति अर्यालले सामुदायिक क्याम्पसको स्तर निर्धारण र सुधार गर्न विश्वविद्यालयले तयारी गरिरहेको बताए ।
त्यसैगरी उपकूलपति अर्यालले अनुसन्धान प्रवद्र्धनका लागि प्रत्येक क्याम्पसले आफ्नो आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुपर्ने उल्लेख गदै न्यूनतम साढे दुईदेखि पाँच प्रतिशतसम्म बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गरेका हुन् । उहाँले अनुसन्धानमा बजेट खर्च गर्ने प्रयोजनका लागि विश्वविद्यालयले क्याम्पसहरूलाई औपचारिक पत्र पठाउने तयारी समेत गरेको बताए ।
उपकूलपति अर्यालले सामुदायिक क्याम्पसको शिक्षक शिक्षिकाहरुको स्तर निर्धारण सम्बन्धी निर्णय भइसकेको हुदाँ छिर्टै सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक–शिक्षिकाको स्तर निर्धारण प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन् ।
उनले भने ‘म उपकुलपति भइसकेपछि शिक्षक–शिक्षिकाको स्तर निर्धारणका लागि आवश्यक प्रक्रिया सिनेटबाट पारित गरिसकेका छौं, अब छिट्टै समिति गठन गरेर हाउ टु वर्क कसरी काम गर्ने भन्ने निर्णय गरिनेछ । यसका लागि विश्वविद्यालय र क्याम्पसहरूको साथ आवश्यक रहनेछ ।’

उनले क्याम्पस सञ्चालनका क्रममा देखिएका जुनसुकै अप्ठ्याराहरू भए सिधै आफू वा विश्वविद्यालयका सम्बन्धित प्रशासनिक निकायसँग सम्पर्क गर्न आग्रह गरे । झन्झटमुक्त रूपमा क्याम्पस सञ्चालन गर्न विश्वविद्यालयले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए । क्याम्पस प्रमुखबाट केही नयाँ कार्यक्रम सुरु गर्ने विषयमा निवेदन प्राप्त भएको उल्लेख गर्दै उनले ती प्रक्रियाहरू छिट्टै अघि बढाइने जानकारी दिए ।
पशुपति क्याम्पस अनुसन्धानसम्बन्धी क्याम्पस र अनुसन्धान केन्द्रहरू विकास गर्न सके विश्वविद्यालयको -याङ्किङ सुधारमा सहयोग पुग्ने बताए । क्याम्पस, अध्ययन संस्थान र संकायको नाम स्पष्ट रूपमा प्रयोग गर्नुपर्ने विषयमा पनि उनले जोड दिए ।
उनका अनुसार विश्वविद्यालयका सम्पूर्ण अभिलेखहरू डिजिटल रूपमा सुरक्षित गर्ने उद्देश्यसहित डिजिटाइजेशन प्रक्रिया शुरु भइसकेको छ । यसका लागि आवश्यक सफ्टवेयर खरिद गर्न टेण्डर आह्वान गरिएको उहाँले जानकारी दिए ।
अर्यालले पशुपति बहुमुखी क्याम्पस हाल नेपालको सामुदायिक क्याम्पसको रुपमा एउटा उदाहरणीय क्याम्पसका रूपमा सञ्चालन भइरहेको हुदाँ सामुदायिक क्याम्पसहरुको गुणात्मक विकासमा विश्वविद्यालयले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सो अवसरमा क्याम्पस प्रमुख विनोदचन्द्र पन्तले युवा विद्यार्थीहरु कलेजको मुख्य सम्पति भएको हुदाँ विद्यार्थीहरुलाई लक्षित गरि शैक्षिक कार्यक्रमहरु संचालन भइरहेको बताए । विद्यार्थीहरुको पलायनलाई रोकेर विद्यार्थीको गुणस्तरिय र जीवन उपयोगी शिक्षा प्रदान गर्न कलेज प्रतिवद्ध रहेको बताउँदै क्याम्पस प्रमुख पन्तले कलेजलाई सबै पक्षको सहयोग लिएर शैक्षिक विकासमा अघि बढ्ने बताए ।
क्याम्पसका व्यवस्थापन समितिको अध्यक्ष प्रा.डा.रमेश कुमार जोशीले कलेजका विभिन्न पक्षहरुमा आवश्यक सुधार गदै विश्वविद्यालयको सहयोग तथा सद्भाव लिएर अघि बढ्ने विश्वास दिलाएका छन् । अध्यक्ष प्राध्यापक डा. जोशीले सामुदायिक क्याम्पसको विकास र अभिव्यद्धीमा सबैको सहयोग प्राप्त हुने विश्वास गरेका छन् ।
त्यसैगरी उपकूलपति अर्यालले कलेजले संस्थापक तथा पूर्व क्याम्पस प्रमुख प्रा. प्रयागराज भट्राई, पूर्व क्याम्पस प्रमुख प्रा. विष्णु प्रसाद पन्तलाई सम्मान प्रदान गरेको थियो । त्यसैगरी उत्कृष्ट प्राध्यापक पुरस्कारबाट प्रकाशविक्रम राउत, दिपक पोखरेल, माधव प्रसाद पोखरेल र रमा अधिकारीलाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट कर्मचारी पुरस्कारबाट रञ्जना घिमिरे र पशुपति पौडेललाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट विद्यार्थी, बिभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट तथा विभिन्न खेल विद्यामा बिजयी विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
विस २०३७ सालमा स्थापना भएको कलेजले सुरुवाती चरणमा विद्यार्थी संख्या धेरै नभए पनि हाल क्याम्पसको विकासक्रम अत्यन्त सकारात्मक ढ्ङगले अगाडि बढिरहेको पशुपति क्याम्पसले विहानी, दिवा र रात्रीकालिन कक्षाहरु संचालन गरिरहेको छ । हाल क्याक्पसमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र करिब १२५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको क्याम्पसले जनाएको छ । हाल क्याम्पसमा कक्षा ११, १२ देखि स्नातकोत्तर तहमा व्यवस्थापन, शिक्षा, अंग्रेजी, नेपाली, समाजशास्त्र लगायतका बिभिन्न ६ बिषयमा स्नातकोत्तर कक्षाहरु संचालन भइरहेको क्याम्पसले जनाएको छ ।






