News 24 Television
रुपन्देही १  : नयाँ भर्सेस् पुराना, मतदाता भन्छन् ‘बाचा पुरा गर्नुप¥यो’

रुपन्देही । फागुन २१ गते हुने निर्वाचनको माहोल तात्दै गएको छ । उम्मेदवार मतदाता भेटघाटमा व्यस्त हुँदा मतदाताले पनि उम्मेदवारका बाचा नियाल्न थालेका छन् । जिल्लामा उत्तर–दक्षिण फैलिएको रुपन्देही–१ मा परम्परागत दललाई नयाँ र युवा उम्मेदवारले चुनौती दिइरहेका छन् ।  

नेपाल–भारत सीमा क्षेत्रदेखि चुरे पहाडसम्म फैलिएको रुपन्देही क्षेत्र नम्बर १ मा यसपटक ठूला दलले नयाँ अनुहारलाई अगाडि सारेका छन् । नेकपाले एकपटक यही क्षेत्रबाट निर्वाचत उम्मेदवार अघि सार्दा काँग्रेस–एमाले, राप्रपा जस्ता प्रतिस्पर्धी दलहरुले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् । 

रास्वपाले महामन्त्री सुनिल लम्साललाई मैदानमा उतारेको छ । जसले गर्दा यहाँ बिगतमा भन्दा फरक माहोल बनेको छ । सबैजसो नयाँ अनुसार पहिलो जितको प्रतीक्षामा रहेकाले माहोल रोमाञ्चक हुने देखिन्छ । 

अधिकांश उम्मेदवार स्थानीय राजनीतिमा चिरपरिचित अनुहार भएपनि संसदीय चुनावमा अभ्यस्त भइसकेका छैनन् । 

अहिले यो क्षेत्रमा ठूला सभा, सम्मेलन नभएपनि उम्मेदवारहरु गाउँ–गाउँमा पुगेर मतदातासित भेटघाट गरिरहेका छन् । जसरी हुन्छ जनमत आफ्नो पक्षमा पार्ने ध्याउन्नमा छन् । रुपन्देही–१ मा यसपटक काँग्रेसले देवदह नगरपालिकाका पूर्वप्रमुख हिराबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ । 

राप्रपाले युवा नेता प्रज्वल बोहरालाई अघि सार्दा नेकपाले २०६४ मा तत्कालीन माओवादीबाट यही क्षेत्रबाट निर्वाचित घनश्याम यादवलाई अघि सारेको छ । एमालेले दधिराम न्यौपानेलाई मैदानमा उतारेको छ । 

फागुन २१ नजिकिँदै जाँदा अहिले उम्मेदवारहरु आफ्ना बाचा बोकेर मतदाता भेटिरहेका छन् । अधिकांश नयाँ उम्मेदवार रहेको यो क्षेत्रमा एकातिर मत परिणाम पक्षमा पार्नुपर्ने चुनौंती छ भने अर्कोतिर मतदातासित छिटो घुलमिल हुनुपर्ने छ । 

सबैजसो पार्टीका उम्मेदवारहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान गर्ने, रोजगारी सिर्जना गर्ने भन्दै मतदातालाई आश्वस्त पारिरहेका छन् । मतदाता भने उम्मेदवार र पार्टीहरुले पटकपटक एउटै बाचा गरेर घरदैलोमा आउने तर बाचा पूरा गर्न ध्यान नदिएको गुनासो गरिरहेका छन् ।
२० स्वतन्त्रसहित ३१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको क्षेत्रमा २०४८ देखि २०५६ सम्म लगातार कांग्रेसका दुर्योधनसिंह थारुले चुनाव जितेका थिए । 

२०६४ मा एमालेबाट तत्कालीन माओवादी प्रवेश गरेर उम्मेदवार बनेका घनश्याम यादव विजयी हुँदा २०७० मा कांग्रेसका अब्दुल रज्जाक निर्वाचित भएका थिए । 

२०७४ र २०७९ मा भने एमाले सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका थिए । यसपटक परिस्थिति बदलिएको छ । सदाबहार प्रतिस्पर्धी दललाई रास्वपा र राप्रपाले चुनौती खडा गरिरहेका छन् । 

काँग्रेस–एमाले आफ्नो जनमत जोगाउने कोसिसमा रहँदा युवा उम्मेदवार भएकाले पनि रास्वपा र राप्रपाले चुनौती दिइरहेका छन् । मिश्रित समुदायको बसोबास रहेको यो क्षेत्रमा सहरी र ग्रामीण भेग समेटिएको छ । यहाँका अधिकांश मतदाता कृषिमा निर्भर छन् भने हुलाकी खण्डमा औद्योगिक विकास तिव्र छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update