News 24 Television
धादिङको धुनीवेशीमा निःशुल्क आँखा शिविर सम्पन्न

धादिङ । यहाँको धुनीवेशी नगरपालिमा १३ सय २१ जनाको आखाँजाच गर्दा ९३ जनामा मोतियाबिन्दु पुष्टि भएको छ । रोटरी क्लबहरूको संयुक्त आयोजना र नेपाल आँखा अस्पताल र श्रीयसी इन्टरप्राइजेज प्रा. लि प्राविधिक सहयोगमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

रोटरी क्लब अफ गोङ्गबुको नेतृत्वमा विभिन्न रोटरी तथा रोट्र्याक्ट क्लबहरूको सहकार्यमा मिति २०८२ माघ २० र २१ गते प्रस्तावित नगर अस्पताल, धुनिवेशी–७ मा शल्यक्रिया सम्पन्न गरिएको हो। माघ २३ गते बिरामीहरूको आँखाको पट्टी खोलेसँगै शिविर औपचारिक रूपमा समापन गरिएको हो ।

8ca9a01b-c6d0-451b-adc8-5a653bf417b3-1770387414.jpg
नेपाल आँखा अस्पताल र श्रीयसी इन्टरप्राइजेज प्रा. लि प्राविधिक सहयोगमा रोटरी क्लब अफ गोङ्गबुले आयोजना गरेको बृहत् निःशुल्क आंखा परीक्षण शिविरमा  ९३ जना सर्वसाधरणमा मोतियाबिन्दुको समस्या देखिएको हो । ज्येष्ठ नागरिकलाई केन्द्रमा राखी सञ्चालन गरिएको यस मानवीय अभियान अन्तर्गत धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाका विभिन्न वडामा चरणबद्ध रूपमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको थियो।

छत्रदेउराली स्वास्थ्य चौकी, जीवनपुर स्वास्थ्य चौकी, नौविशेष स्वास्थ्य चौकी, केवलपुर स्वास्थ्य चौकी, कुलचन्द्र आधारभूत विद्यालय जीवनपुरलगायत स्थानहरूमा गरी कुल १३२१ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ९६ जनामा मोतिबिन्दु पुष्टि भएको थियो ।

पहिचान गरिएका बिरामीमध्ये ६८ जनाको सफल निःशुल्क शल्यक्रिया गरिएको छ। तत्काल शल्यक्रिया गर्न नसकिएका २४ जनामध्ये ५ जनालाई काठमाडौँस्थित नेपाल आँखा अस्पतालमा निःशुल्क उपचारका लागि रेफर गरिएको छ । शल्यक्रिया गरिएका बिरामीमध्ये ६ जना दुवै आँखामा मोतिबिन्दुबाट पीडित थिए, जसको दुवै आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । मोतीयाविन्दु समस्याबाट ग्रसित भएका वृद्धवृद्धाले दैनिक कार्यमा समस्या भएको बताउदै शल्यक्रिया पश्चात दुवै आँखा देख्न सक्ने हुँदा खुसी हुँदै आशीर्वाद र धन्यबाद दिएका छन् । यो अभियान केवल उपचारमा सीमित नभई समाजप्रतिको उत्तरदायित्वको उदाहरण भएको रोटरी क्लब अफ गोङ्गबुका अध्यक्ष राजाराम फुयालको भनाइ छ ।

5defa825-31a9-43e4-9fd0-35436bba0950-1770387480.jpg
क्लबले  आफ्ना सदस्यहरुले दैनिक खर्च कटौती गरेर र केही मनकारीहरुबाट सहयोग लिएर निःशुल्क यस्ता शिविरहरु संचालन गर्दै आएकोप्रति धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले रोटरी क्लवका सम्पुर्ण पदाधिकारीलाइ धन्यवाद दिएका छन् । यस अभियानको प्रमुख आयोजक रोटरी क्लब अफ गोङ्गबु हो भने सह–आयोजक क्लबहरूमा रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ हाइट, रोटरी क्लब अफ काठमाडौँ सर्कल, रोटरी क्लब अफ काठमाडौँ मेट्रो, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ हिमालयन गल्फर्स, रोटरी क्लब अफ काठमाडौँ डाउनटाउन तथा रोट्र्याक्ट क्लब अफ गोङ्गबु नर्थ रहेका छन्।

स्थानीय आयोजकका रूपमा धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका रहेका थिए । कार्यक्रममा सहभागी रोटरी क्लबका अध्यक्षहरूले यस्तो सहकार्यात्मक प्रयासले रोटरीको मूल मन्त्र “युनाइट फर गुड” र “सर्भिस एबोभ सेल्फ” लाई व्यवहारमा उतारेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता जनसेवामूलक परियोजना निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। दृष्टि फर्किएको खुशी, जीवनमा पलाएको आशा र सेवा गर्ने थप हौसलाले यो निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर रोटरीको सेवाभाव र मानवीयताको प्रेरणादायी उदाहरण बनेको छ । 

14d6c567-6e6d-456c-a20e-cfe3fe97b536-1770387493.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update