मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ ठूला दलहरूको प्रतिष्ठाको लडाइँमा होमिएको छ । कम्युनिस्ट गढ मानिँदै आएको यस क्षेत्रमा २०७९ मा राप्रपाले जित निकालेर समीकरण फेरिएको थियो । जिल्लाकै ठूलो दल नेकपा एमाले साख फर्काउने प्रयासमा छ भने राप्रपा विरासत जोगाउने रणनीतिमा देखिन्छ । यसअघि दोस्रो भएको कांग्रेस पहिलो हुने दाउमा अघि बढ्दा नयाँ शक्ति रास्वपा भने रवि–बालेनको नाम र प्रभावमा जित खोजिरहेको छ ।
प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । अघिल्लो निर्वाचनमा कम्युनिस्टको गढ भत्किएको मकवानपुर १ मा आफ्नो साख फर्काउने दाउमा एमालेले शालिन नेतालाई अघि सारेको छ । २०७९ को निर्वाचनमा यहाँ राप्रपाका दिपकबहादुर सिंह विजयी भएका थिए ।
कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई पराजित गरेर विजयी भएका सिंह पुनः उम्मेदवार बनेका छन् भने डीना पनि दोहोरिएकी छिन् । यता, एमालेले मतदाताको मन रिझाउने नेता छानेर उम्मेदवार बनाएको छ ।
जिल्लाका पुराना र बेदागी नेता रामेश्वर राना चुनावी मैदानमा होमिएर एमालेको गुमेको साख फर्काउने रणनीतिमा छन् । नेपाली कम्युनिस्ट पार्टीले पनि युवा उम्मेदवार विजय गौतम अघि सारेर प्रचार प्रसारलाई तीव्रता दिइरहेका छन् ।
जेन–जी आन्दोलनले सिर्जना गरेको यो मद्यावधि निर्वाचनमा पुराना दलहरु प्रतिष्ठाको लडाँइमा छन् । जसका लागि एमाले र कांग्रेसका उम्मेदवारहरुले जेन–जी र नवयुवाको मर्म समेट्ने चुनावी अस्त्र प्रहार गरिरहेका छन् ।
त्यसो त, अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार डीना र जिल्लाको ठुलो दल एमालेका उम्मेदवार कमल थापालाई पराजित गर्न सफल भएका दिपक बहादुर सिंह यो पटक आफ्नो विरासत कायम राख्ने दौडधुपमा छन् ।
२७ हजार ८५१ मत ल्याएर विजयी भएका सिंहलाई आउँदो निर्वाचनमा विरासत जोगाउने पर्ने चुनौति छ । जेन–जी आन्दोलनका क्रममा जिल्लाका नेताहरुको निवाससम्म क्षति हुँदा आफ्नो केही नबिगार्नु नै जनताले आफूमाथि गरेका विश्वास भएको दाबी गर्दै ती जनताले पुनः जिताउने उनको तर्क छ ।
यसरी पुराना दलहरुले आ–आफू जित्ने आधारहरु प्रस्तुत गरिरहँदा नयाँ शक्तिको रुपमा उदाएको रास्वपाका उम्मेदवार प्रकाश बर्तौला भने रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको प्रभावमा मत तान्ने रणनीतिमा देखिन्छन् । पछिल्लो समय रास्वपालाई जनताले रुचाउनु नै जितको आधार भएको उनी दाबी गर्छन् ।
पञ्चायतकालदेखि राजनीति गर्दै आएका पुराना नेतासँगै रास्वपा सहितका नयाँ दलका नयाँ अनुहारहरू चुनावी मैदानमा उत्रिदा पुराना दल प्रतिष्ठा जोगाउने दबाबमा छन् भने नयाँ शक्तिहरू यस क्षेत्रमा आफूलाई स्थापित गर्ने हुटहुटीमा देखिएका छन् ।
