पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा ३ दलको कडा प्रतिषपर्धा देखिएको छ । चुनावी प्रतिष्पर्धा पुरानाले आफ्नो विरासत जोगाउने र नयाँले भत्काउने रणनीतिसहित केन्द्रीत रहेको छ । ३० जना उम्मेदवार रहेको यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबिच टकराव देखिएको छ । उम्मेदवारहरुले जिल्लाको समग्र विकास, जन चहाना अनुसारका कार्य र सुशासनका विषयलाई जोड दिएको छन् ।
प्रतिनिधि सभाको निर्वाचन नजिकीदै जाँदा पर्सामा चुनावी माहोल ताँतीदै छ । ४ निर्वाचन क्षेत्र रहेको पर्सामा १ सय ६ जनाले उम्मेदवारी दिएका छन् । यी ४ मध्ये पर्सा क्षेत्र नम्बर १ राजनीतिक दलदेखी मतदातासम्मको चासोको केन्द्र बनेको छ । यस क्षेत्रमा १ महिला सहित ३० जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा लगायतका पुराना पार्टीहरु आफ्नो विरासत जोगाउन लागि परेका छन् भने जेन–जी विद्रोहलाई अवसरको रुपमा लिँदै नयाँ दलहरु मतदाता समक्ष पुगेका छन् ।
यस क्षेत्रमा उम्म्ेदवारको संख्या धेरै भएपनि मुख्य त नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिषपर्धा देखिएको छ । नेपाली कांग्रेसले संविधान सभा सदस्य अनिल रुंगटालाई उम्मेदवार बनाएको छ । रुंगटा राजनीतिमा सक्रिय हुनुका साथै सफल व्यवसायी समेत हुन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका उनी यसपटकको निर्वाचनमा जित निकाल्ने अभियानमा सक्रिय भएका छन् ।
आर्थिक राजधानी भनेर चिनिने वीरगञ्ज राजनीति र आन्दोलनको केन्द्रविन्दु बनेपनि प्राथमिकतामा नपरेको भन्दै आफ्नो उम्मेदवारी वीरगञ्जमा आर्थिक गतिविधि विस्तार, रोजगारी सृजना र ग्रामीण भेगका आधारभूत समस्या समाधानका लागि भएको उनी बताउँछन् ।
यस्तै दल परिवर्तन गर्दै नेकपा एमालेमा प्रवेश गरेका प्रदिप यादव यसपटक तेश्रो जितको खोजीमा छन् । मधेश आन्दोलन र विद्रोहबाट उदाएका यादव २ पटक प्रतिनिधि सभाका सांसदमा निर्वाचित भइसकेका छ्न ।
यसका साथै उनले वन तथा वातावरण, स्वास्थ्य र खानेपानी मन्त्रीको कार्यभार पनि सम्हाली सकेका छन् । अबको उम्म्देवारी गर्न बाँकी रहेका अन्य विकासका लागी र लोकतन्त्रको रक्षाको लागी भएको उनी बताउछन् ।
अर्काेतफृ राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति बुद्धि बहादुर पन्त उर्फ हरि पन्त नयाँ राजनीतिक विकल्पका रुपमा चुनावी मैदानमा छन् । होटल तथा पर्यटन व्यवसायमा आबद्ध उनी यसपटकको निर्वाचनमा जित सुनिश्चित हुनेमा विश्वस्त छन् ।
जेन–जी पुस्ताले खोजेको परिवर्तन आफ्नै पार्टीबाट सम्भव भएको भन्दै उनले सुशासन, पारदर्शितासहित यस क्षेत्रका समग्र विकासको एजेण्डा लिएर अघि बढेको दाबी गर्छन् ।
हुन त सिंगो पर्सा जिल्ला नेपाली कांग्रेसको गढको रुपमा चिनिन्छ । सांगठनिक हिसाबले कांग्रेस बलियो भएपनि नेकपा एमाले उम्मेदवार प्रदिप यादवको व्यक्तिगत प्रभाव तथा राजनीतिक अनुभव र जेन–जी विद्रोहका कारण रास्वपा प्रतिको आकर्षणले चुनावी समिकरण जटिल बनाएको छ ।
यी उम्मदेवारहरुले आ–आफ्नो मतको अंकगणित निकाल्दै जित्ने पक्का नै गरिसकेका छन् । यद्यपि उम्म्देवारहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेपनि कुन दल प्रति मतदाताहरुको रुझान रहेको छ भन्ने निर्णय फागुन २१ गतेको मत परिणामले नै गर्नेछ ।
