मकवानपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा केन्द्रीत रहेर हेटौँडामा इलेक्सन डिबेट कार्यक्रम गरिएको छ । कार्यक्रममा नयाँ भनिएका केही दलका उम्मेदवार तथा पुराना स्थापित दलका केही उम्मेदवारहरू भने अनुपस्थित रहे । जनताको आवाज सदनमा उठाउने दाबी गर्दै मत माग्न घरदैलोमा पुगिरहेका उम्मेदवार नै सार्वजनिक बहसमा सहभागी हुन नसक्दा मतदाताहरूले असन्तुष्टि व्यक्त गरेका थिए भने बहसमा सहभागी उम्मेदवारहरूले भने आ–आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरे ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै न्युज २४ टेलिभिजनको आयोजनामा विभिन्न क्षेत्रहरुमा चुनावी बहस कार्यक्रमको आयोजना हुँदै आएको छ । मंगलवार हेटौंडामा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवारहरुसँग भएको चुनावी बहसमा तीनजना उम्मेदवार मात्रै उपस्थित रहे ।
दलीय र स्वतन्त्र गरी कुल २३ जना उम्मेदवारहरु रहेको यस क्षेत्रमा मुख्य चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, रास्वपाका उम्मेदवार प्रकाश गौतम र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतम चुनावी बसहमा सहभागी नै भएनन् ।
सदनमा गएर बोल्ने विभिन्न एजेण्डाहरु लिएर जनतामाझ पुगेका उम्मेदवारहरु मतदाताको प्रश्नबाट भागेको भन्दै कार्यक्रममा उपस्थित मतदाताले उम्मेदवारका लागि राखिएको खाली कुर्सीलाई प्रश्न गरे ।
त्यसोत, मतदाताको प्रश्न सामना गर्न तयार रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बहादुर सिंह, नेकपा एमालेका उम्मेदवार रामेश्वर राना र प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) बहसमा सहभागी भएका थिए ।
नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका रानाले जनतासँग जोडिएका विषयहरुलाई एमालेले प्राथमितामा राखेको बताए । भूमि सम्बन्धि समस्या, कृषि क्षेत्र, रुग्ण उद्योग सञ्चालन जस्ता क्षेत्रलाई एजेण्डा बनाइएको रानाको दाबी छ ।
राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले नेपालमा राजसंस्था फालेर गणतन्त्र आएपछि विकास हुन छोडेको तर्क गरे । गणतन्त्र आएको दुई दशकमा पनि विकास हुन नसकेको बताउँदै उनले जेन–जी आन्दोलन पछि गणतान्त्रिक सरकार भागाभाग गरेको प्रसंग राखे ।
उनले साना एजेण्डाहरुसँगै देशको मेचीदेखि महाकालीसम्मका ठुला सिंँचाइ पूरा गर्ने बताए । उनले देशमै युवालाई रोजगारी दिने एजेण्डा रहेको उनको दाबी छ । अन्य दलले विकासको जस लिए पनि जेन–जी आन्दोलनको विध्वंशको जस नलिएको सिंले आरोप लगाए ।
प्रलोपाबाट मकवानपुर–१ मा उम्मेदवार बनेका उप्रेतीले संरचात्मक सुधार गर्न आवश्यक रहेको बताए । उनले देशलाई सुशासनको बाटोमा लान प्रत्यक्ष कार्यकारी राष्ट्रपति, प्रत्यक्ष कार्यकारी मुख्यमन्त्री हुनुपर्ने बताए ।
निर्वाचित भएर गएका सांसदहरुले सरकार बनाउने खेलमा रुमलिनु भन्दा कानुन बनाउन ध्यान दिनुपर्ने उनले बताए ।
लोकतान्त्रिक अभ्यासमा सार्वजनिक बहसलाई मतदातासँग प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण माध्यम मानिन्छ । उम्मेदवारहरूको उपस्थितिले मात्रै राजनीतिक संस्कार मजबुत हुने भन्दै मतदाताले आगामी दिनमा सबै उम्मेदवार खुला बहसमा उपस्थित हुनुपर्ने मागसमेत राखेका छन्।
