News 24 Television
रास्वपाले ३६ वर्षको कम्युनिष्ट गढ भत्कायो

मकवानपुर । प्रतिनिधि सभा निर्वाचनको मतपरिणामले देशका अधिकांश क्षेत्रमा अप्रत्याशित नतिजा आयो ।  दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको मतपरिणाम पनि सरप्राइज जस्तै गरी आयो । लामो समयदेखि स्थापित दलहरूबीच हुने प्रतिस्पर्धाको अपेक्षा गरिए पनि यसपटक दुवै क्षेत्रमा रास्वपा विजयी भएर कम्युनिस्टको गढ भत्काएको छ । 

दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरका प्रतिनिधि  सभा निर्वाचनको नतिजा रास्वपामय होला भन्ने आकंलन कमै थियो । रास्वपा आफैले पनि मकवानपुरलाई जित्ने क्षेत्रमा समावेश गरेको थिएन । 

सोही कारण पनि यसअघि ढुक्कले जीत निकाल्दै आएका दलहरु निर्वाचनमा होमिएका थिए । मतदानका दिनसम्म जिल्लाका ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपा बीच चुनावी प्रतिस्पर्धा हुने चर्चा थियो । 

यी दलका नेताहरुले रास्वपाले ठुला दलका मत काट्ने सम्मको अनुमान मात्रै गरेका थिए । तर जब, जनमतले भरिएको मतपेटिका खन्याएर मतणना सुरु भयो, तब ठुला दलहरुले हारको मनस्थिती बनाइसकेका थिए । दुवै क्षेत्रमा प्रारम्भिक मतगणनादेखि नै रास्वपा अघि लाग्यो । 

अन्ततः दुवै क्षेत्रमा रास्वपाकै क्लिन सिप भयो । मकवानपुर–१ मा प्रकाश गौतम विजयी भए । 

उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनालाई २१ हजार ९९५ मतान्तरले पराजित गर्दै विजयी भएका उनले ३६ हजार ३३ मत प्राप्त गरेका हुन्। नेकपा एमालेका रामेश्वर रानाले १२८३ मत प्राप्त गरेर तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विजय गौतमले  १० हजार ८८८ मत प्राप्त गरेका छन्। 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा विजयी भएका राप्रपाका दिपक बहादुर सिंहले ४ हजार ५७४ मत मात्रै प्राप्त गरे । यसरी ठुला भनिएका दललाई पराजित गरेर विजयी भएका उनले जनमतको कदर गर्दै ५ वर्षे कार्यकाल पूरा गर्ने बताउँछन् ।

त्यसो त, मकवानपुर–२ मा विजयी भएका प्रशान्त उप्रेतीले कम्युनिस्टको ३६ वर्षे गढ भत्काएका छन् । 

२०४६ पछिका निर्वाचनहरुमा कम्युनिस्टको गढको इतिहास बनेको यस क्षेत्रमा रास्वपाले जीत निकालेको हो। गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका एमालेका महेशकुमार बर्तौलाई ११ हजार २०४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दा बर्तौलाले १८ हजार ८४६ मत पाए । 

देशभर चलेको रास्वपाको लहरले मकवानपुरमा पनि स्थापीत दलहरुको हुर्मत लियो । जिल्लाभर खसेको कुल १ लाख ८६ हजार मतमा दुवैक्षेत्रमा गरी प्रत्यक्षतर्फ रास्वपाले मात्रै ६६ हजार ८३ मत प्राप्त गर्यो । प्रत्यक्षतर्फको मतगणना कार्य सम्पन्न भएपश्चात् हाल दुवै क्षेत्रको समानुपातिक मतगणना जारी छ । 

 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update