रुपन्देही । सधैं पुराना दलका पाका पुस्ताका नेताहरुले जित्दै आएका लुम्बिनी प्रदेशका ११ क्षेत्रमा यसपटक ४० वर्ष मुनिका युवा निर्वाचित भएका छन् । निर्वाचित युवाहरुले काँग्रेस–एमाले र मधेश केन्द्रित दलका हेबिवेट नेताहरुलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका हुन् ।
२६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशका ११ निर्वाचन क्षेत्रमा ४० वर्ष मुनिका युवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ११ मध्ये सबैभन्दा बढी ४० मुनिका युवा निर्वाचित हुने जिल्ला रुपन्देही बनेको छ । रुपन्देहीको क्षेत्र नम्बर १, २, ४ र ५ मा ४० बर्ष मुनिका युवा सांसद चुनिएका हुन् । प्रदेशमा ४० बर्ष मुनिका निर्वाचित युवा सांसदहरुमध्ये १० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हुन् भने एकजना नेपाली कांग्रेसका छन् ।
यसअघि यी सबै निर्वाचन क्षेत्रमा ५० वर्ष माथिका नेताहरु निर्वाचित हुँदै आएका थिए । निर्वाचित युवाहरु सबैजनाको पहिलो पटक संसदीय यात्रा हो ।
रुपन्देही–१ मा रास्वपाका ३५ वर्षीय इन्जिनियर सुनिल लम्साल निर्वाचित हुँदा क्षेत्र नम्बर २ मा २८ वर्षीय अधिवक्ता सुलभ खरेल, ४ मा ३६ वर्षीय कन्हैया बाँनिया र ५ मा पनि रास्वपाकै ३८ वर्षीय युवा अभियन्ता तौफिक अहमद खाँन निर्वाचित भएका छन् ।
यस्तै, बाँके–३ मा रास्वपाका ३५ वर्षीय खगेन्द्र सुनार विजयी हुँदा पाल्पा–१ मा नेपाली कांग्रेसका ३८ वर्षीय युवा सन्दीप रानाले संसदीय राजनीतिमा पाइला टेकेका छन् ।
यसैगरी गुल्मी–१ बाट रास्वपाका ३४ वर्षीय सागर ढकालले जित निकाल्दा अर्घाखाँचीबाट रास्वपाकै ३७ वर्षीय हरिप्रसाद भुसाल विजयी भएका छन् ।
प्यूठानबाट युवा अर्थशास्त्री समेत रहेका ३१ वर्षीय सुशान्त बैदिकले बाजी मारेका छन् । बैदिक पनि रास्वपाबाटै निर्वाचित भएर संसदीय यात्रा तय गर्ने युवा हुन् ।
यस्तै, दाङ–२ मा रास्वपाका सहमहामन्त्री ३९ वर्षीय विपिनकुमार आचार्य र दाङ–३ मा रास्वपाकै ३८ वर्षीय युवा कमल सुवेदी विजयी हुँदै संसदीय यात्रामा प्रवेश गरेका छन् ।
विगतमा ५० कटेका नेताहरुले जित्दै आएका लुम्बिनी प्रदेशका यी क्षेत्रहरुमा यसपटक मतदाताले सर्वाधिक मत दिएर युवा उम्मेदवारलाई अनुमोदन गरेर परिवर्तनको सुरुवात गरेका छन् ।
निर्वाचित युवा सांसदहरुले आ–आफ्नो क्षेत्रमा अधिकांश हेबीवेट नेताहरुलाई हराएर संसदीय यात्रा तय गरेका हुन् । संसदीय यात्रा सुरुसँगै युवा सांसदले संसदमा कस्तो प्रस्तुती दिन्छन् र जनभावना अनुसार कत्तिको काम गर्न सक्छन्, त्यो भने समयक्रमसँगै खुल्दै जानेछ ।
