News 24 Television
शसंकित प्रचण्ड, ओलीसँग भेट कांग्रेसमा तरंग ! (भिडियो)
prachanda 3

काठमाडौं । गठबन्धन गरेर चुनावी मोर्चामा होमिएपछि केही ठुला दलहरुलाई त्यसको फाइदासँगै बेफाइदा पनि उत्तिकै छ । पछिल्लो आम निर्वाचनलाई नै हेर्ने हो भनेपनि त्यसको मूल्यांकन गर्न सकिन्छ ।

गठबन्धन हुँदा आलोचना र घाटा व्यहोरेको दल नेपाली कांग्रेस पनि हो । जन्मजात कांग्रेसको परिचय बनाएका धेरै मतदातालाई रुख बाहेक अन्य चुनाव चिन्हमा मत हाल्न निकै सकस प¥यो ।

उनीहरुले आफ्नो यो पीडा नेताहरुलाई भेटेरै पनि सुनाए । नेता भेट्ने पहुँच नभएकाहरुले सामाजिक सञ्जालबाटै पनि आफ्नो असन्तुष्टि प्रकट गरे ।

सम्भवत यही कुरा बुझेर हुनुपर्छ फागुन ७ गतेदेखि जारी नेपाली कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगन थापाले आफ्नो सांगठानिक प्रतिवेदनमा अव हुने आवधिक निर्वाचनहरुमा नेपाली कांग्रेसले कहिल्यै आफ्ना मतदाताहरुलाई अन्य दलको चुनाव चिन्हमा मत हाल्ने स्थिति सिर्जना गर्ने छैन भनेर जोडतोडले उठाए । महामन्त्री थापाको यो प्रतिवेदनमा महासमिति बैठकमा ठूलो हलचल मच्चियो ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रतिवेदनको चुनावमा गठबन्धन नगर्ने भन्ने बाक्यांश हटाउन महामन्त्री थापासँग पटकपटक आग्रह पनि गरे । तर ग्राउण्डको भ्वाइस भन्दै महामन्त्री थापाले सभापति देउवाको आग्रह टेरेनन् । महामन्त्री थापालाई संस्थापन इतरपक्षका शेखर कोइरालाको पनि समर्थन छ ।

थापा आफ्नो अडानबाट टसमस नभएपछि सोमवार विहानैदेखि देउवा निवास बुढानिलकण्ठमा छलफल भयो । तर त्यो छलफल निष्कर्षविहिन बन्यो । फेरि महासमिति बैठकको उद्घाटन पछि साँझ देउवा निवासमै महामन्त्री थापा र सभापति देउवाबीच छलफल भयो ।

महामन्त्री थापाले आफ्नो अडान फेरेनन् । विगतमा गठबन्धन गर्नु बाध्यता रहेको उल्लेख गर्दै अब त्यो आवश्यक नरहेको थापाको तर्क छ ।

महामन्त्री थापाको अडानका कारण उक्त प्रस्ताव महासमिति बैठकमा लैजाने निर्णय देउवा निवासमा भयो । तत्काल गठबन्धनबारे मौन बस्ने र संगठन विस्तारमा ध्यान दिने पनि छलफलमा सहमति बनेको छ ।

महामन्त्री थापा लगायतले गठबन्धन नगरी चुनावमा जाने अडान लिएपछि गठबन्धनप्रति लोयल देखिएका सभापति देउवा धर्मसंकटमा परेका छन् । देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटिसकेका छन् । देउवाले पार्टीभित्रको आन्तरिक विवादले गठबन्धनमा कुनै असर नपर्ने भन्दै प्रचण्डलाई आश्वासन दिएका छन् । तर देउवाको आश्वासनले प्रचण्ड ढुक्क हुन सकिरहेका छैनन् ।

आगामी निर्वाचनमा गठबन्धन नहुने हो भने आफ्नो पार्टीले निर्वाचनमा अझै ठूलो निराशा व्यहोर्ने प्रचण्डको बुझाई छ । सरकारमा हुँदा आफुले खासै उल्लेखनीय केही गर्न नसकेको उनलाई राम्रोसँग थाहा छ । त्यसैले पनि प्रचण्ड बेलाबेला मन्त्रीहरुले केही गर्न सकेनन् भन्दै सार्वजनिक अभिव्यक्ति दिने गर्छन् ।

उनले मन्त्रीहरु हटाउने तयारी पनि गरे । तर सहयात्री दल कांग्रेसले आफ्नो दलबाट मन्त्री बनेकाहरुलाई च्याप्दा मन्त्री हटाउने उनको इच्छा पुरा हुन सकेन । कांग्रेसबाट मन्त्री बनेकाहरुले आफुलाई असहयोग गरिरहेको आशंका प्रचण्डले गरेका छन् ।

त्यसैले पनि कुनै पनि क्षण गठबन्धनका दलहरुमध्ये कांग्रेसबाट धोका हुन सक्छ भन्ने पूर्वसंकेतकै कारण प्रचण हिजोआज एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको दुरी घटाउँदै छन् । उनीहरुबीच संवाद हुन थालेको छ । केही गरी कांग्रेसले साथ छोडे एमालेको सहयोगमा सरकारलाई निरन्तरता दिने दाउमा प्रचण्ड छन् ।

माओवादी, जसपा, नेकपा लगायतका चार दलको समाजवादी मोर्चाको संयोजक विप्लवले पनि केही दिनअघि एमालेसँग पनि सहकार्य हुन सक्छ भन्दै वाम दलहरुबीच एकता हुन सक्ने इशारा गरेका थिए ।

यही सेरोफेरो र कांग्रेस महामन्त्री थापाको अडानका कारण प्रधानमन्त्री प्रचण्डले मंगलवार साँझ एमाले अध्यक्ष ओलीसँग पनि भेट गरे ।

दुवैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब सवा घण्टा वान टु वान वार्ता भएको छ । भेटपछि हर्षित मुद्रामा ओली बाहिर निस्किए ।

ओलीले प्रचण्डले एक वर्षको अवधिमा गरेका सम्बोधन र लेख रचनाको अध्ययन र समीक्षा गर्ने भनेर पुस्तक समेत लिएर निस्किएका छन् ।

ओली मुस्कुराउँदै निस्किएको देखेपछि पक्कै दुईबीच गतिलै सहमति भएको हुन सक्ने अनुमान गरिएको छ ।

https://youtu.be/m_gP495wdTQ?si=fYh6xoyDxVLJ0UEl

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update