News 24 Television
इन्जिनियर बन्ने सपना ? एसईईपछि नै तय हुन्छ शैक्षिक बाटो, विज्ञान पढ्न कति स्कोर चाहिन्छ ?

काठमाडौं । पछिल्ला समय इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । इन्जिनियर बन्ने सपना एसईईपछि गरिने सानो निर्णयबाट शुरु हुन्छ । धेरै विद्यार्थीले यही बेला सोच्न थाल्छन्, अब के पढ्ने ? कुन विषय रोज्ने ? तर, इन्जिनियर बन्नका लागि ११ र १२ कक्षामा पढ्नुपर्छ, विज्ञान विषय । 

नेपालमा पछिल्ला वर्षहरूमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । पुल, सडक, भवनदेखि कम्प्युटर सफ्टवेयरदेखी नयाँ प्रविधिसम्म इन्जिनियरहरूको भूमिका महत्वपूर्ण बन्दै गएको छ । त्यसैले धेरै विद्यार्थीको सपना हुन्छ भविष्यमा इन्जिनियर बन्ने ।

विशेषज्ञहरूका अनुसार इन्जिनियर बन्ने तयारी एसईईपछि नै सुरु हुन्छ । यदि भविष्यमा इन्जिनियरिङ पढ्ने लक्ष्य छ भने कक्षा ११ र १२ मा विज्ञान संकाय रोज्नुपर्दछ । विशेषगरी फिजिक्स, केमेस्ट्री र गणित विषयलाई धेरै महत्व दिइन्छ । 

कम्प्युटर वा सफ्टवेयर इन्जिनियर बन्न चाहने विद्यार्थीका लागि गणित र कम्प्युटर विषय अझ उपयोगी मानिन्छ । प्लस टु सकिएपछि मात्रै विद्यार्थीले इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा दिन पाउँछन् । नेपालमा सरकारी तथा निजी कलेजहरूमा इन्जिनियरिङ पढ्नका लागि इन्ट्रान्स प्रवेश परीक्षा अनिवार्य हुन्छ । प्रवेश परीक्षा पास गरेपछि मात्रै विद्यार्थीले सम्बन्धित कलेजमा अध्ययन गर्ने अवसर पाउँदछन् ।

कस्तो नतिजा आवश्यक ?

विज्ञान संकाय पढ्नका लागि अधिकांश कलेजले न्यूनतम जिपिए तोक्ने गरेका छन् । सामान्यतया एसईईमा २.८ देखि ३.२ जिपिए आवश्यक पर्न सक्छ । विज्ञान संकायको अध्यापन गराउने शैक्षिक संस्थाहरुले निर्माण गरेको मापदण्ड अनुसार भर्ना लिने गर्छन्। 

जसमा धेरै जीपीए प्राप्त गर्नु विद्यार्थीका लागि पनि सहज विषय बन्न जान्छ। गणित, विज्ञान र अंग्रेजी विषयमा राम्रो ग्रेड भएका विद्यार्थीलाई प्राथमिकता दिइन्छ । प्लस टु सकेपछि मात्रै इन्जिनियरिङ पढ्न प्रवेश परीक्षा इन्टान्स दिन पाइन्छ । परीक्षा पास गरेपछि सरकारी वा निजी कलेजमा अध्ययन गर्ने अवसर मिल्छ । त्यसैले केवल राम्रो जिपिए मात्र होइन, नियमित अभ्यास, मेहनत र अनुशासन पनि आवश्यक हुन्छ ।

इन्जिनियरिङ अध्ययनपछि कहाँ रोजगारी पाइन्छ ?

अहिले नेपालमा जलविद्युत्, निर्माण, सूचना प्रविधि र डिजिटल सेवाको विस्तारसँगै इन्जिनियरको माग पनि बढिरहेको छ । विशेषगरी कम्प्युटर र सफ्टवेयर इन्जिनियरहरूले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने अवसर समेत पाइरहेका छन् । केही इन्जिनियरहरूले आफ्नै स्टार्टअप तथा प्रविधि कम्पनी स्थापना गरेर उद्यमशीलता समेत गरिरहेका छन् । यद्यपि इन्जिनियरिङ अध्ययन चुनौतीपूर्ण मानिन्छ । 

लामो समय अध्ययन, प्रोजेक्ट, प्रयोगात्मक काम र निरन्तर अभ्यास आवश्यक पर्ने भएकाले विद्यार्थी मेहनती, धैर्यशील र अनुशासित हुनुपर्छ ।  प्रविधिप्रति रुचि भएका, नयाँ कुरा सिर्जना गर्न चाहने र समस्या समाधानमा चासो राख्ने विद्यार्थीका लागि इन्जिनियरिङ उत्कृष्ट करियर बन्न सक्छ । एसईईपछि सही विषय छनोट र स्पष्ट लक्ष्य बनाउन सके भविष्यमा सफल इन्जिनियर बन्ने बाटो सहज हुनसक्छ ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update