News 24 Television
बुद्धकै पालादेखि शुरु भएको वर्षावास, किन शुरु भयो यस्तो परम्परा ?

काठमाडौं । असार पूर्णिमासँगै बौद्ध धर्मावलम्बीहरूको तीन महिने वर्षावास सुरु भएको छ । गौतम बुद्धकै समयदेखि चल्दै आएको २५ सय वर्ष पुरानो यो परम्परा आत्मअनुशासन, ध्यान, साधना र आध्यात्मिक उन्नतिको प्रतीक मानिन्छ । 
बौद्ध धर्मावलम्बीहरूको अत्यन्तै महत्वपूर्ण धार्मिक परम्परा तीन महिने वर्षावास शुरु भएको छ । हरेक वर्ष असार पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म चल्ने यो परम्परा भिक्षुहरू एकै ठाउँमा बस्ने अभ्यास मात्रै होइन, यो अनुशासन, ध्यान, आध्यात्मिक साधना र बुद्धको जीवनसँग प्रत्यक्ष जोडिएको ऐतिहासिक अभ्यास पनि हो । बुद्धकै समयदेखि सुरु भएको यो परम्परा आखिर २५ सय वर्षपछि पनि किन उस्तै सान्दर्भिक छ ? 

वर्षावासको सुरुवात

बुद्धले आफ्ना भिक्षुहरूलाई एउटा महत्वपूर्ण निर्देशन दिनुभएको थियो, “चरथ भिक्खवे चारिकं बहुजन हिताय, बहुजन सुखाय ।’ अर्थात्, “हे भिक्षुहरू ! बहुजनको हित र सुखका लागि गाउँ–गाउँ, नगर–नगर जाऊ, धर्म प्रचार गर ।’ बुद्धत्व प्राप्त गरेपछि भिक्षुहरू वर्षभरि विभिन्न स्थानमा धर्म प्रचार गर्न जान्थे । तर वर्षायाम सुरु भएपछि यात्रा कठिन हुन्थ्यो । बाटो बिग्रिन्थ्यो ।

नदीहरू बढ्थे । जीवजन्तु र बोटबिरुवामा क्षति पुग्ने सम्भावना पनि हुन्थ्यो । यही कारणले बुद्धले वर्षाको तीन महिना एकै स्थानमा बसेर ध्यान, अध्ययन र साधना गर्न निर्देशन दिनुभयो ।

यही अभ्यास नै पछि वर्षावासका रूपमा स्थापित भयो । धेरैलाई थाहा नहुन सक्छ, बौद्ध ग्रन्थमा उल्लेख भए अनुसार भगवान बुद्धले आफ्नो जीवनकालमा ४५ पटक वर्षावास बिताउनुभएको उल्लेख पाइन्छ । प्रत्येक वर्ष वर्षायाममा उहाँ कुनै न कुनै विहार, वन वा उपासकले बनाइदिएको आरामस्थलमा बस्नुहुन्थ्यो । यसले देखाउँछ, बुद्धले केवल उपदेश मात्र दिनुभएन । आफूले सिकाएको अभ्यासलाई जीवनभर पालना पनि गर्नुभयो । 

वर्षातको समयमा प्राकृतिक विपतिहरुबाट जोगिन र जोगाउनका साथै एकै ठाउँमा बसी नियमपुर्वक धार्मिक किसिमले जिवनयापन गर्नु नै यसको मुख्य उद्देश्य हो । 

वर्षावास किन विशेष छ ?

वर्षावास भिक्षुहरूको बसाइ मात्रै होइन । यो आत्मअनुशासनको समय हो । यस अवधिमा भिक्षुहरूले गहिरो ध्यान, विनयको अध्ययन, धर्म छलफल र आध्यात्मिक अभ्यासलाई प्राथमिकता दिन्छन् । उता गृहस्थ उपासक–उपासिकाहरू पनि विहारमा पुगेर दान, शील, ध्यान र धर्मश्रवणमार्फत आफ्नो आध्यात्मिक जीवनलाई अझ सुदृढ बनाउने प्रयास गर्छन् । 

वर्षावासपछि आउने कथिना चिवरदान 

वर्षावास सकिएपछि बौद्ध समाजमा अर्को महत्वपूर्ण परम्परा सुरु हुन्छ कथिन चिवरदान ।  तीन महिना अनुशासित जीवन बिताएका भिक्षुहरूलाई श्रद्धालुहरूले सामूहिक रूपमा चिवर अर्पण गर्छन् । बौद्ध परम्परामा यसलाई सबैभन्दा ठूलो सामूहिक दानमध्ये एक मानिन्छ । यसले भिक्षु र गृहस्थबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ ।

बाइट–भिक्षु कौन्डण्य, विहार प्रमुख, बुद्ध विहार

विशेषगरी यो समयमा बौद्धमार्गीहरु विभिन्न विहारमा गई बुद्ध, धर्म, संघको गुणानुस्मरण गरी ध्यान भावना गरी आध्यात्मिक उन्नती तर्फ अग्रसर हुने गर्दछन् । विशेषगरी थेरवाद बुद्धधर्मको प्रभाव रहेको मुलुकमा वर्षावास परम्पराले धार्मिक आध्यात्मिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको कारणले यसलाई बुद्धकालिन समयदेखि अहिलेसम्म पनि निरन्तरता दिइरहेको छ । 

२५ सय वर्षदेखि नटुटेको परम्परा

विश्वका धेरै धार्मिक अभ्यास समयसँगै परिवर्तन भएका छन् । तर वर्षावास भने बुद्धकालदेखि आजसम्म मूल स्वरूपमै कायम छ ।  नेपाल, श्रीलंका, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायत थेरवाद बौद्ध धर्मावलम्बी देशहरूमा आज पनि लाखौं भिक्षुहरू वर्षायाममा एकै स्थानमा बसेर यही परम्परा निर्वाह गर्छन् । समय फेरियो । प्रविधि फेरियो, समाज फेरियो । तर ध्यान, अनुशासन र आत्मशुद्धिको मूल्य कहिल्यै फेरिएन । सायद यही कारणले वर्षावास आज पनि उत्तिकै जीवित र सान्दर्भिक बनेको छ । बुद्धले सुरु गर्नुभएको वर्षावास अहिले एउटा धार्मिक अनुष्ठानमा मात्रै सिमित छैन । 

यो आत्मसंयम, करुणा, अनुशासन र आध्यात्मिक विकासको तीन महिने यात्राको रुपमा समेत स्थापित भइसकेको छ । बुद्धकै पालादेखि सुरु भएको यो परम्पराले आज पनि संसारभरका लाखौं बौद्ध अनुयायीलाई ध्यान, धर्म र आत्मपरिवर्तनतर्फ प्रेरित गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update