News 24 Television
ओलीविरुद्ध विष्णु र शंकर हावी, प्रदेशमा ओलीको असफलता !

काठमाडौँ । नेकपा एमालेले नेकपासँगको सहमतिमा ३ प्रदेशको नेतृत्व गर्ने अवसर पाए पनि मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयको विवाद टुंगिन सकेको छैन । यसले पार्टीभित्रको आन्तरिक टकराव अझै नसुल्झिएको प्रष्ट पारेको छ । साउन १४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा ओलीसहित पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच बसेको बैठकमा कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नै निरन्तरता दिने सहमति भएको भनिएको थियो । तर, अहिले यो सहमतिविपरित फेरि हिक्मतलाई हटाउन ओली आफैँ सक्रिय भएका छन् । जुन कारण पनि बाग्मती र लुम्बिनीमा भएको सहमित पनि उल्टिेनेत होइन ? भन्ने प्रश्न उठ्न थालेका छन् । 

कोशीमा शेरधन खटिए !

ओलीले कोशी प्रदेश इन्चार्ज शेरधन राईमार्फत हिक्मतलाई हटाएर ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन लागी परेका छन् । ओलीको निर्देशनअनुसार नै शेरधन केही दिनदेखि विराटनगरमै बसेर पार्टीका सांसदहरूसँग तीव्र छलफल गरिरहेको बुझिएको छ । गुण्डुको निष्कर्षपछि पनि शेरधनले हिक्मतलाई भेटेर ओलीको सन्देश भन्दै मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब दिएको बताइएको छ । तर, हिक्मतले भने यसअघि देखि नै आफू संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री भएकाले राजीनामा दिँदा राजनीतिक संकट आउने जवाफ दिँदै आएका छन् ।

यसअघि ओलीले नै राजीनामा दिन निर्देशन दिँदा हिक्मतले आफूलाई पार्टीको सचिवालय बैठकबाट निर्णय गराएर हटाउन चुनौती दिएका थिए । पार्टी पुनर्गठनको अभियानमा लागेपछि ओलीले हिक्मतलाई पदबाट हटाउन खोजेका हुन् । फागुन २१ को निर्वाचनमा ओलीलाई असहयोग गरेकामा पनि हिक्मतप्रति ओली सकारात्मक छैनन्। यस्तैमा केन्द्रीय तहमा ओलीको विपक्षमा मत बलियो रहँदा हिक्मतले सचिवालय बैठकमार्फत आफूलाई हटाउन चुनौती दिँदै आएका छन्। तर, ओली भने अहिले प्रदेशका सांसद तथा नेताहरूमार्फत हिक्मतलाई हटाउने योजनामा लागिपरेका छन् । तर हिक्मतलाई विष्णु पौडेल र शंकर पोखरेलको दरिलो साथ रहँदा ओलीको योजना सफल हुनेमा शंका नै छ । 

बागमती र लुम्बिनीमा पनि ओली निरिह

कोशीमा मात्रै होइन, अध्यक्ष ओली एमालेको भागमा परेको बागमती र लुम्बिनीमा पनि आफ्नो चाहनाअनुसार नै मुख्यमन्त्री फेर्न चाहन्थे । तर, यसमा पनि विष्णु र शंकरकै अडानका कारण ओली असफल भएका छन् । जसअनुसार अब लुम्बिनीको नेतृत्व हालका मुख्यमन्त्री चेतनारायण आचार्यले नै गर्नेछन् । लुम्बिनीमा ओलीले चेतनारायणलाई हटाएर संसदीय दलको नेता परिवर्तन गर्न खोजेका थिए। यसका लागि ओलीले पूर्वमुख्यमन्त्री लीला गिरी तथा पूर्वमन्त्री भूमिश्वर ढकाललाई गुण्डुमा बोलाएका थिए । गत बिहीवारको बैठकले चेतनारायणलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेको छ ।

यस्तै, बागमतीमा पनि ओलीले हालका संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाएर भक्तपुरका किरण थापामगरलाई दलको नेता बनाउन चाहेका थिए। थपलियालाई विद्यार्थी राजनीति र संसदीय राजनीतिको लामो अनुभव भएको नेताका रूपमा लिइन्छ भने, किरण थापामगर पछिल्लो समय मात्रै एमालेमा आएकाले उनलाई दलको नेता बनाउन विष्णु–शंकर पक्षले अस्वीकार गरेको छ । थापालाई दलको नेता बनाउने विषयमा साउन १४ गते ओलीले गुण्डुमा विष्णु पौडेल र शंकर पोखरेलसँग ४ घण्टा लामो छलफल गर्दा पनि निष्कर्ष निस्किएको थिएन । तर, शुक्रवारको बैठकले जगन्नाथ थपलियालाई नै दलको नेता कायम गरेको छ । ओलीले मुख्यमन्त्री बनाउन चाहेका थापा पार्टी सचिव महेश बस्नेत निकट मानिन्छन्। उनै थापाले जेनजी आन्दोलनपछि गुण्डुमा ओलीलाई स्थानान्तरण गर्नमा ठूलो भूमिका खेलेका थिए । बाग्मती र लुम्बिनीमा विष्णु र शंकर पक्षकै नेताहरु मुख्यमन्त्री बन्ने पक्काजस्तै भएपनि ओलीले फेरि कोशीमाजस्तै अन्य नेता परिचालन गरेर दलको नेता फेर्ने प्रयास गर्ने संभावना भने कायमै देखिन्छ । 

ओली कमजोर हुँदै गएको निष्कर्ष

कुनै बेला एमालेको हरेक निर्णय ओलीको एकै निर्देशनमा कार्यान्वयन हुन्थ्यो । तर अब भने पार्टीमा ओलीको एकछत्र राजनीति कमजोर हुँदै गएको देखिन्छ। कोशी, बागमती र लुम्बिनीमा ओलीले आफ्ना निकटस्थ नेताहरूलाई मुख्यमन्त्री नियुक्त गर्न भरपुर प्रयास गरेतापनि त्यो विफल भएको अवस्थाले नै अब ओली पार्टीमा कमजोर हुँदै गएको प्रष्ट देखाउँछ । ओली पार्टीको केन्द्रीय कमिटीमासमेत अल्पमतमा परेका छन् । जेनजी आन्दोलनपछि नेतृत्व छाड्नुपर्ने दबाब ओलीलाई थियो । यो विषय केन्द्रीय कमिटिमासमेत प्रवेश भयो । तर ओलीले नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न चाहेनन् । यद्यपि ओलीले त्यसको नतिजा हाल प्रदेशबाट सामना गरिरहेका छन् । यो संकटलाई अब ओलीले कसरी चिर्छन्, त्यो भने हेर्न बाँकी छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update