News 24 Television
पार्टीलाई पूर्णता दिन रविलाई सकस, बाधक बालेन नै हुन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिन सकेको छैन । राष्ट्रिय महाधिवेशनपछि साउन १३ र १४ गते केन्द्रीय समितिको बैठक बसेपनि प्रधानमन्त्रीसमेत रहेका बालेन शाहलाई वरिष्ठ नेता बनाउने निर्णयबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पूर्णता दिन असफल भएको छ । पार्टी सभापति रवि लामिछानेले पहिलो केन्द्रीय समिति बैठकमा केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव राखे पनि ठोस निर्णय नआएपछि पार्टीभित्र आन्तरिक असन्तुष्टि र विमति रहेको आशङ्का बढेका छन् । 

कुन–कुन पदमा मनोनयन बाँकी ?

पदाधिकारीतर्फ : एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन सहप्रवक्ता गरेर ११ जना मनोनयन हुन बाँकी छन् ।  रास्वपाको विधान अनुसार १९ सदस्यीय पदाधिकारीमध्ये ११ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ । यसअघि ७ पदाधिकारीसहित निर्वाचित भइसकेका छन् । दुईमध्ये एक वरिष्ठ नेतामा बालेनलाई नियुक्त गरियो । 

केन्द्रीय समितितर्फ : ९९ सदस्यीय केन्द्रीय समितिमा सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य अझै मनोनयन गर्न बाँकी छ । यी पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गर्न नसक्नुको मुख्य कारण रवि र बालेनबीचको शक्ति संघर्ष रहेको चर्चा राजनीतिक वृत्तमा चलेको छ । यद्यपि, सभापति लामिछानेले भने पार्टीमा कुनै विवाद नरहेको दाबी गर्दै आएका छन् ।

पार्टीमा देखिएको विवाद र प्रश्न 

  सभापति लामिछानेको स्पष्टीकरणका बाबजुद पार्टी संरचनाहरू अझै पदाधिकारीविहीन छन् । र, सरकारको कामकारबाही तथा पार्टीबीचको तालमेल नमिल्नुले गम्भीर प्रश्नहरू उब्जाएको छ । त्यस्तै, केन्द्रीय समिति बैठकमा सभापतिले संसदीय दलको नेता हटाउन सक्नेगरी प्रस्ताव गरिएको विधान संशोधनको विरोध पनि भएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमै रवि तथा बालेन पक्षधर नेताहरूबीच नोकझोक हुनुले पनि दुई नेताबीच शक्ति संघर्ष रहेको तथ्यलाई थप बल पुर्‍याएको छ । 

रवि बालेनबीच तिक्तता झल्काउने अन्य केही तथ्य हेरौँ 

सर्वदलीय बैठकमा बालेन र सुधनको अनुपस्थिति :  सुनसरी र सिरहा लगायतका क्षेत्रमा धार्मिक हिंसा बढेपछि साउन १२ गते बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिबिनै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको प्रतिनिधित्व गर्नुलाई स्वाभाविक मानिएको छैन ।

राष्ट्रपतिसँग अलग–अलग भेट :  साउन १३ गते रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सुनसरी घटनाबारे जानकारी गराएका थिए । जब कि यो जिम्मेवारी प्रधानमन्त्री बालेन शाहको थियो । त्यसको २४ घण्टा नबित्दै साउन १४ गते प्रधानमन्त्री बालेनले पनि राष्ट्रपतिलाई भेटेर सोही विषयमा जानकारी गराए । यसका साथै रवि र बालेनले मधेशवादी दलहरुसँग पनि अलग अलग भेटवार्ता गरेका थिए ।

समानान्तर भेटघाट र सहमति :  काठमाडौंमा रविले हिन्दू र मुस्लिम धर्मका अगुवासँग छलफल गरे भने बालेन निकट मानिएका गृहमन्त्री सुधनले जनकपुरमा धार्मिक अगुवासँग १३ बुँदे सहमति गरे । उक्त पछिल्लो छलफलमा रास्वपाका अन्य नेताहरूलाई समेत सामेल गराइएको थिएन । 

धार्मिक द्वन्द्व र आन्तरिक षड्यन्त्रको कोण

सुनसरी र सिरहामा भएका धार्मिक द्वन्द्व र हिंसाका घटनाहरू रास्वपकै एक पक्षका नेता तथा कार्यकर्ताको उक्साहटमा भएको दाबी विपक्षी दलहरूले जोडतोडका साथ गर्न थालेका छन् । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नै कार्यकर्तालाई आन्दोलनकारी खडा गर्ने, वार्ता पनि आफैँ गर्ने र हिंसाको दोष अरूलाई लगाउने भन्दै सरकारमाथि कडा प्रश्न गरेका छन् । 

आइतबार जनकपुरमा गृहमन्त्रीसँग सम्झौता गर्ने पक्षधरहरू नै रास्वपाका कार्यकर्ता रहेको खुल्न आएका छन् । यसपछि  पार्टीकै एक पक्षले बालेन नेतृत्वको सरकारलाई विफल पार्न षड्यन्त्र गरेको हुनसक्ने दावी हुन थालेको छ । यी केही तथ्य र आशंकालाई पनि पार्टीको आन्तरिक संघर्षसँग जोडेर हेर्न थालिएको छ । यद्यपि रवि र बालेनबीच तिक्तता रहेको विषयको थप ठोष तथ्य भने खुल्न बाँकी छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update