काठमाडौं । नेपाल न्यूज पब्लिकेशन्स प्रालिद्वारा प्रकाशित ‘न्यूज२४ दैनिक’को दोस्रो वर्ष प्रवेश तथा प्रथम वार्षिकोत्सव एक विशेष कार्यक्रम आयोजन गरी मनाएको छ ।
सो अवसरमा पब्लिकेशन्सका प्रबन्ध निर्देशक अदिश जोशीले छोटो समयमा नै दैनिक पत्रिकाले हासिल गरेको लोकप्रियताप्रति सम्पूर्ण टोलीप्रति आभार प्रकट गरे । उनले यो एक वर्षमा हासिल गरेको उपलब्धिका लागि सम्पादकीय, व्यवस्थापन र विज्ञापनका जुझारु टोलीलाई सफलताको श्रेयसमेत दिएका छन् ।
उनले भने, ‘यो टिमको मिहिनेत, विश्वास तथा एकताले नै हामीले नसोचेको सफलता हात पार्न सफल भएका हौँ । यो एक वर्षको सफलताले आउँदा दशौं वर्षका लागि अवसरको ढोका खोलेको छ ।’
उनले अहिलेको डिजिटल युगमा छापा अखबार प्रकाशन गर्ने सम्भावनाबारे छलफल चलाउँदै गर्दा केहीले आलोचना गरेको स्मरण गर्दै भने, ‘हामीले छापाको भविष्य छ र यसमा केही गर्नुपर्छ भन्ने लागेपछि केही साथीहरुसँग छलफलका क्रममा उहाँहरुले उल्टो बाटो हिँडेको भन्दै हाँसोमा उडाउनु भयो तर यो एक वर्षमै प्राप्त सफलताले हामीले सही समयमा सही निर्णय गरेछौँ भन्नेमा म विश्वस्त भएको छु ।’
उनले भविष्यमा सर्वसाधारण जनताको आवाज बन्न अझ बढी मिहिनेत गर्नुपर्ने आवश्यकता रहेको बताउँदै न्यूज २४ टेलिभिजनले जसरी कुनै सम्झौता नगरी अघि बढेजस्तै यो दैनिक पत्रिकाले पनि आगामी दिनमा अझ बढी आफूलाई माझेर अघि बढ्नुपर्ने बताए ।
‘जसरी अन्य उद्यम चलाउँछौँ, त्यसरी नै मिडिया पनि एउटा विशुद्ध उद्यम बनाउँदा जनताको विश्वास जित्न सकिन्छ भन्ने टेलिभिजनको अनुभव अखबारले पनि पुष्टि गरेको छ,’ उनले भने, ‘हाम्रो मुख्य पुँजी भन्नु नै सम्पादकीय स्वतन्त्रता हो र यसलाई अझ सशक्त बनाउँदै लैजानु भनेको सर्वसाधारणको विश्वास जित्नु हो ।’
सो अवसरमा न्यूज२४ दैनिकका प्रधानसम्पादक नवराज चालिसेले आफूले अहिलेसम्म कुनै पनि समाचारमा कुनै पनि दल विशेष र कुनै पनि समूहका पक्षधरताका लागि ठाउँ नदिई सत्य, तथ्य र निष्पक्षका साथै निर्भीक भएर पत्रकारिता गरिरहेको र यस्तो स्वतन्त्रता दिने व्यवस्थापन पाउनु ज्यादै गर्विलो पक्ष रहेको बताए । न्यूज२४ ले नागरिक र आवाजविहिन जनताको आवाजको रुपमा काम गर्ने सस्कृति रहेको हुदाँ जनविश्वास र भरोसाको माध्यमको रुपमा न्यूज २४ अघि बढेको प्रधान सम्पादक चालिसेले बताए । चालिसेले भने, ‘मैले जसरी न्यूज२४ टेलिभिजनमा रहँदा बिना कुनै दबाब काम गर्ने अवसर पाएँ, त्यही संस्कृति र काम गर्ने वातावरण दैनिक पत्रिकामा पाएको र यसलाई भरपूर उपयोग गरेको छु । यहाँ काम गर्ने हरेक प्रतिभासम्पन्न पत्रकारले क्षमता अभिवृद्धिको अवसर उपभोग गरिरहेको पनि बताए ।
पब्लिकेशन्सका प्रबन्ध निर्देशक जोशीले दैनिकको दोस्रो वर्ष प्रवेश तथा प्रथम वार्षिकोत्सवको अवसर पारी केक काटेर कार्यक्रमा पत्रिकाको सफलताको कामना पनि गदै आगामी दिन अझै चुनौती रहेको समेत स्मरण गराएका थिए ।
