News 24 Television
गगनको अटेर, काँग्रेस एकता अझै बेटुङ्गोे !

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद थप गम्भीर मोडमा पुगेको छ । विशेष महाधिवेशनले रोपेको विवादको अझै हल नहुँदा पार्टी एकताको विषय थप गम्भीर मोडमा पुगेको हो । गत पुषको विशेष महाधिवेशनपछि पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पाएको पाएको थियो । तर यो फैसला भएको लामो समय बितिसकदा पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले कानूनी पाटोबाटै यसलाई उल्ट्याउने प्रयास जारी राखेको छ । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको निवेदनउपर सर्वोच्च अदालतले निस्सा आदेश दिएपछि संस्थापन इतर पक्ष उत्साहित बनेको छ भने गगन पक्ष संकटमा परेको छ । यद्यपि, यो अवस्थामा पनि पार्टी एकताका लागि कतिपय नेताहरू सक्रिय रूपमा लागिपरेका छन् । तर गगन पक्ष भने एकताभन्दा पनि आफ्नो आधिकारिकता जोगाउने ध्याउन्नमा देखिन्छ । 

देउवा पक्षको दाउ र एकताको पहल

लामो समयको विदेश बसाइपछि पूर्वसभापति शेरबहादुर देउवा मंगलबार स्वदेश फर्किँदैछन् । अदालतको निस्सा आदेशपछि उत्साहित बनेको यो समूहले अब आफ्नै पक्षमा अन्तिम फैसला आउने अपेक्षा गरेको छ । साथै देउवा पक्ष भने अदालतको आदेशसँगै आशंकित बनेको गगन पक्षलाई यो बेला गलाएर एकताको माहोल सिर्जना गर्ने रणनीतिमा देखिन्छ । यतिबेला पार्टी एकताका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सक्रिय रूपमा खटिएका छन्। उनी आइतबार मात्रै पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न भन्दै कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँ पुगेका थिए। करिब आधा दर्जनभन्दा बढी नेताहरूलाई लिएर त्यहाँ पुगेका उनले एकताको विकल्प नरहेको बताए । यसपछि आईतबार नै उनले फेसबुकमा  स्टाटस लेखेर गगनले एकताका लागि अन्तिम प्रयास गर्नुपर्ने उल्लेख गरेका छन् । 

खड्काले एकतामा जोड दिँदै औँल्याएका विषय ५ बुँदामा हेरौँ –

– वर्तमान राष्ट्रिय संकट, संविधानमाथिको खतरा र नेपाली कांग्रेसको कमजोर स्थितिलाई मध्यनजर गर्दै पार्टीको सम्पूर्ण एकता आजको पहिलो र अपरिहार्य आवश्यकता ।
– पार्टीका जिम्मेवार प्रत्येक व्यक्तिले व्यक्तिगत अहंकार, घमण्ड, कुण्ठा र प्रतिशोध त्यागी सामूहिक भावनाका साथ एकताका लागि अग्रसर हुनुपर्ने ।
– सर्वोच्च अदालतको निस्सालाई अवसरको रूपमा लिनुपर्नेः सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई पार्टीलाई एकताबद्ध बनाउने अन्तिम अवसरको रूपमा बुझ्नुपर्ने ।
– वर्तमान चुनौतीको सामना गर्न पार्टी सभापति गगन थापाले हिम्मत र साहसका साथ अग्रमोर्चामा रहेर निर्णायक रूपमा एकताको पहल लिनुर्ने, जसमा सबैको सहयोग रहने ।
– राष्ट्र र बहुदलीय लोकतन्त्र जोगाउनका लागि सामाजिक सञ्जालमा हुने गालीगलोज र दोहोरी बन्द गरी सहिष्णुता, संवाद र सहमतिको वातावरण बनाउनुपर्ने ।

गगनको अडान कायमै 

उता, पार्टी सभापति गगन थापाले भने अदालतको निस्सा आदेश र देउवा पक्षको आग्रहबीच आफ्नो अडान कायमै राखेका छन् । उनले आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ राष्ट्रिय महाधिवेशन कुनै हालतमा नरोकिने प्रस्ट पार्दै आएका छन्।

देउवा पक्षले आगामी महाधिवेशनका लागि पूर्वकेन्द्रीय सदस्यहरूलाई नयाँ कमिटीमा समाहित गर्नुपर्ने तथा अघिल्लो महाधिवेशन प्रतिनिधिहरूलाई नै निरन्तरता दिँदै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ । यही अडान नमान्दा देउवा पक्ष राष्ट्रिय सम्मेलन गरेर नयाँ पार्टी दर्ताको अन्तिम चरणमा पुगेको थियो । तर यता गगन भने अदालतले मुद्दा पुनरावलोकन गर्ने तयारी गरेपछि पनि महाधिवेशनको मितिबारे पुनर्विचार नगर्ने पक्षमा देखिएका हुन् । सभापति थापाले यसअघि नै एमालेसँग प्रदेशमा भएको भागबण्डालाई तोडेर देउवा पक्षको निर्णयलाई काउन्टर दिएको विष्या दोहोर्‍याइरहेका छन् । यो विषयले पनि दुई पक्षबीचको तिक्ततालाई थप बढाएको छ । 

 कांग्रेसले सोमबार पनि केन्द्रीय कार्यसमितिको बैठक राखेर महाधिवेशनको तयारीलाई थप तीव्रता दिँदैछ । यस्तो अवस्थामा सभापति गगन थापाले देउवा पक्षको एकताको आग्रहलाई अस्वीकार गरेको देखिन्छ भने देउवा पक्ष पनि अदालतको फैसला कुरेर थप निर्णय लिने तयारीमा छ । 

अदालतको पछिल्लो निर्णयकै कारण नयाँ पार्टी गठनको प्रक्रिया केही समय रोकिए पनि, दुवै पक्ष आ–आफ्नै अडानमा रहेका कारण जुनसुकै पक्षमा फैसला आए पनि पार्टी एकीकरण हुने सम्भावना कमै देखिन्छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update