News 24 Television
महिनौँसम्म संसदमा गयल, सभामुख आफैँ भेट्न पुग्दा पनि दिएनन् ठोस जवाफ !

काठमाडौँ । आफ्नै दल र विपक्षीहरूको निरन्तर दबाबपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कार्यशैली सुधार्ने प्रयास त थालेका छन्, तर संसदीय लोकतन्त्रको मुटु मानिने ‘संसद्’ लाई भने उनी अझै बाइपास गरिरहेका छन् । प्रधानमन्त्री भएदेखि एकपटक मात्र संसदमा सम्बोधन गरेका बालेनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि थप आलोचित भए । त्यसपछि उनको उक्त अभिव्यक्ति सच्याउन, संसदमा माफी माग्न र समसामयिक विषयमा उठेका प्रश्नहरुको जवाफ दिन सांसदहरुले निरन्तर माग गरिरहेका छन् । तर प्रधानमन्त्री बालेन भने संसदमा जानै चाहँदैनन् । मंगलबार सभामुख डीपी अर्यालले प्रधानमन्त्रीको कार्यालयमै पुगेर बालेनसँग भेटवार्ता गरे । उनले संसद्मा उपस्थित भई सांसदहरूले महिनौँदेखि उठाएका प्रश्नको स्पष्ट जवाफ दिन आग्रह गर्दा पनि बालेनले कुनै ठोस प्रतिबद्धता जनाएनन् । संसद्बाटै निर्वाचित प्रधानमन्त्री आखिर किन संसद्को सामना गर्न डराइरहेका छन् त ? 

हर्कको आग्रह : जनताको पीडा बुझ

मंगलबारको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक बनेको भन्दै सरकारको तीव्र आलोचना गरे । विगत साढे दुई महिनादेखि प्रधानमन्त्री संसद् छाडेर भागिरहेको आरोप लगाउँदै राईले देशमा नागरिक मात्र होइन, जनप्रतिनिधिसमेत असुरक्षित रहेको टिप्पणी गरे । धार्मिक–साम्प्रदायिक तोडफोड, ग्यासको लाइनमा बस्नुपर्ने नागरिकको बाध्यता, वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र सुकुम्बासीका समस्यामा सरकार मूकदर्शक बनेको उनको आरोप छ । चीनमा घाइते भएका अन्तर्राष्ट्रिय खेलाडी आशिष राईको उपचारमा राज्यले बेवास्ता गरेको भन्दै उनले मन्त्रीहरू ‘एसी कोठा’मा मात्र सीमित भएको आरोप लगाए ।

‘गुप्तवास’ छाड्न आग्रह 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेनलाई ‘गुप्तवास’ शैली छोडेर तत्काल संसद्मा उपस्थित हुन आग्रह गरे । प्रधानमन्त्री आफ्नै समर्थन गर्ने दलहरू र संसद्बाट टाढा भागेकै कारण सामाजिक सञ्जालमा एक्लोपन झल्किने स्टाटस लेख्ने अवस्थामा पुगेको शर्माको टिप्पणी छ । उनले प्रधानमन्त्रीका पछिल्ला कतिपय अभिव्यक्तिहरू असंसदीय र विवादास्पद रहेको भन्दै ती अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन सभामुखसँग रुलिङको मागसमेत गरे । 

नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्रका विवादित अभिव्यक्तिहरू उनी आफैले फिर्ता लिने सम्भावना सकिएको भन्दै संसदको अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग माग गरे । सभामुख संसदको अभिभावक भएकाले प्रधानमन्त्रीसँग संवाद गरी आफ्ना भनाइहरू फिर्ता लिन लगाउनुपर्ने बताए । प्रधानमन्त्रीको जिद्दी स्वभावका कारण उनी आफैँ रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना न्युन रहेकोले यस विषयमा सभामुखले नै निर्णय गर्नुपर्ने उनको भनाइ छ । 

बालेन किन छल्दैछन् संसद् ?

संसद्मा निरन्तर प्रश्न उठ्दा र सभामुख आफैँ कार्यालयमै पुगेर बोलाउँदा पनि प्रधानमन्त्री बालेन शाह संसद्मा जान हिचकिचाउनुमा केही प्रमुख राजनीतिक र प्राविधिक कारणहरू देखिन्छन्,

– मन्त्रीहरूबिना बैठक बस्ने, संवैधानिक निकायका प्रमुखहरूलाई हतोत्साहित गर्ने र नीतिगत स्पष्टता नदिने भन्दै प्रतिपक्ष र सत्ता साझेदार दलहरूबाटै उनीमाथि तीव्र प्रहार भइरहेको छ । संसद्मा जाँदा यी सबै प्रश्नको प्रत्यक्ष सामना गर्नुपर्ने डर बालेनमा हुनसक्छ ।

– काठमाडौँको मेयर छँदा ‘प्रशासकीय आदेश’ र सोसल मिडिया स्टाटसका भरमा निर्णय गर्न पल्किएका बालेनका लागि संसद्को लोकतान्त्रिक सवाल–जवाफ र संसदीय मर्यादा जटिल बनिरहेको बुझिन्छ ।

– सार्वजनिक रूपमा दिएका अप परिपक्व र उत्तेजक अभिव्यक्तिहरूलाई लिएर संसद्मा हुने रुलिङ र आलोचनाबाट बच्ने प्रयास ।

– संसद्लाई जनताको सर्वोच्च प्रतिनिधि संस्था मान्नुको साटो काममा ढिलाइ गराउने केवल ‘गफ गर्ने थलो’का रूपमा हेर्ने बालेनको बुझाइ ।

लोकतान्त्रिक प्रणालीमा संसद्बाट भागेर कुनै पनि प्रधानमन्त्री सफल हुन सक्दैनन् भन्ने तथ्य बालेनले बुझ्न ढिला गर्नु हुँदैन । सामाजिक सञ्जालको पपुलिज्म र प्रशासनिक आदेशले क्षणिक प्रचार दिए पनि दीर्घकालीन शासन सञ्चालनका लागि संसद् र जनप्रतिनिधिको विश्वास जित्नु अनिवार्य हुन्छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update