News 24 Television
गगन र प्रचण्डको एकैस्वर– बालेन सरकार दिशाहीन भयो !

काठमाडौँ । चितवनमा आयोजित रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारलाई ‘एक्सप्रेस वे’मा दगुडिरहेको गाडीसँग तुलना गरेका थिए । स्थानीय सडकमा पो ब्रेक लगाउनुपर्छ, एक्सप्रेस वेमा त गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ,’ भन्दै उनले सरकार आफ्नै गतिमा रहेको र गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने दाबी गरेका थिए । तर, प्रधानमन्त्रीको यो ‘एक्सप्रेस’ भनाइपछि राजनीतिक वृत्तमा व्यंग्य र चिन्ताको बाढी नै आएको छ । विपक्षी दलका नेताहरूले सरकार बिनाब्रेकको गाडीजस्तै अनियन्त्रित दिशातिर कुदिरहेको र जुनसुकै बेला ठूलो दुर्घटना हुनसक्ने भन्दै कडा टिप्पणी गरिरहेका छन् ।
रास्वपा महाधिवेशनमा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले सरकार भनेको गति मात्र नभएर ब्रेक पनि हो भन्ने अभिव्यक्तिलाई जवाफ फर्काउँदै बालेनले सरकार एक्सप्रेस वेमा हिँडेको गाडी भएको र गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताएका थिए । उनले सरकारको सुशासन र विकासप्रतिको यात्रा नरोकिने स्पष्ट पारेका थिए । 

बालेनको सोही कुरालाई लिएर नेकपा सांसद सुरेशकुमार आलेमगरले सवारी साधन तीव्र हुनु राम्रो भए पनि चालकको अवस्था र मानसिक सन्तुलन प्रमुख हुने टिप्पणी गरेका छन् । बुधबार राष्ट्रिय सभा बैठकमा उनले चालकले मादक वा लागुपदार्थ (नशा) सेवन गरेर ‘एक्सप्रेस वे’मा गाडी कुदाए ठूलो दुर्घटना हुने भन्दै सांकेतिक कटाक्ष गरेका हुन् । 

‘सरकार र प्रतिपक्ष दुवै बिनाब्रेकका गाडी’

केही दिनअघि वीपी स्मृति दिवसका अवसरमा आयोजित जलवायु दौडपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा ‘ब्रेक नभएको’ टिप्पणी गरे । उनले सरकारका गलत कामविरुद्ध खबरदारी गर्न प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ विनाको दौडसँग तुलना गरेका थिए ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन सरकार कम्पास हराएको जहाजजस्तो रहेको टिप्पणी गरेका छन् । कम्पास हराएको जहाजजस्तै सरकारको दिशाहीनताले दुर्घटना निम्त्याउने उनको दाबी छ । सोमबार उनले सरकार र सत्तारुढ रास्वपा नेतृत्वबीच खटपट चलिरहेकोतर्फ इशारा गर्दै यसले पनि सरकारको आगामी यात्रा अनिश्चित र दिशाहीन रहेको बताएका थिए । केही दिनअघि प्रचण्डले संसदमा सम्बोधन गर्दै दाहालले मुलुकमा विभिन्न कालखण्डका उतारचढाव झेलेका, लोकतन्त्रका लागि झन्डै सात दशकदेखि जेलनेल र यातना भोगेका एवं अप्ठ्यारा परिस्थितिमा निकास दिन सक्ने क्षमतावान् नेताहरूको ठूलो पंक्ति रहेको तर बालेनलाई सबलाई बेवास्ता गरेको गुनासो पोखे । उनले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि ती अनुभवहरू महत्वपूर्ण हुने बताउँदै ‘आफू मात्रै पर्याप्त छु’ भन्ने सोच र अहंकारले चाहिँ मुलुकलाई दुर्घटनामा लैजाने बताएका थिए । 

बालेन सरकारले जनजीविकाका आधारभूत प्रश्न- मल, ग्यास, अस्पतालको सास्ती जस्ता विषय सुल्झाउनुको साटो अवाज दबाउनेतिर लागेको र ‘लाइक’को पछि दौडिने जस्ता पपुलिस्ट काम गरेको आरोप लाग्ने गरेको छ । साथै उनले संसदलाई महत्व नदिएको विषय पनि आलोचनाको घेरामा छ । आफ्नै दलका सांसदहरूले संसद्मा मुख लुकाउनुपर्ने अवस्था आएको भन्दै आक्रोश पोखिरहेका बेला पार्टी सभापति रवि लामिछानेले सबैतर्फ बालेनको बचाउ गर्नु परेको छ । यद्यपि आन्तरिक रूपमा बालेनको असफलताले २०६४ को माओवादीजस्तै रास्वपा पनि पतन हुने खतरा देखेपछि रविले विकल्प र नेतृत्व परिवर्तनको भित्री तयारी गरिरहेको विश्लेषण हुन थालेको छ ।

‘एक्सप्रेस वे’मा कुदेको गाडीले यात्रुलाई छिटो गन्तव्यमा पुर्‍याउँछ, तर त्यसका लागि चालक संयमित, सचेत र गाडीका ब्रेकहरू दुरुस्त हुन आवश्यक छ । स्टन्ट, पपुलिज्म र एकांकी कार्यशैलीका भरमा अनियन्त्रित कुदिरहेको बालेन सरकारले समयमै आफ्नो गति र दिशा नसुधारे दुर्घटना निम्त्याउन बेर लाग्दैन । 

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update