भक्तपुर । वर्षौंदेखिको प्रतीक्षा र अनिश्चिततापछि मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ का बासिन्दाहरूले अन्ततः आफ्नो जग्गाको आधिकारिक स्वामित्व प्राप्त गरेका छन्।
आज एक विशेष समारोहकाबीच त्यहाँका ४ सय २१ जना स्ववासीहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। दशकौंदेखि आफ्नो जग्गा भएर पनि कानूनी पुर्जा पाउन नसकेका स्थानीयहरू लालपुर्जा हातमा परेपछि हर्षित देखिए ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलको तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजीव खत्रीको प्रमुख आतिथ्यतामा यो कार्यक्रम सम्पन्न भएको हो।
जसमा भक्तपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रुकेश रन्जित, समानुपातिक सांसदहरू कुषुम महर्जन र प्रमिला कुलुजु तथा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठको आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तथा सांसद राजीव खत्रीले टिप्पणी गर्दै सुकुम्बासीको नाममा राजनीति गर्नेहरूको कडा आलोचना गरे । उनले भने, ‘सुकुम्बासी समस्या होइन, सुकुम्बासीका नाममा राजनीति गर्नेहरू हुन्। वर्षौंको प्रतीक्षापछि मध्यपुर थिमी–८ का स्ववासीले लालपुर्जा पाउनु खुसीको कुरा हो। स्ववासी र सुकुम्बासीको नाममा राजनीति गर्नेले दिन नसकेको लालपुर्जा अहिले वितरण भयो। यत्रो वर्ष यो हक अधिकार खोस्नेहरू को थिए ? सुकुम्बासीका असली दुश्मन को थिए ? फेरि पनि क्लियर भयो।’


