News 24 Television
देउवामाथि क–कसले गर्दैछन् अनुसन्धान ? पक्राउ पर्ने खतरा कति ?

काठमाडौं। करिब पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । हङकङ हुँदै काठमाडौं आएका देउवाको स्वागतमा कांग्रेस नेताहरू विमानस्थल पुगे । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान, विदेश बसाइ, उपचार खर्च र सम्भावित पक्राउको विषयले उनको स्वदेश फिर्तीलाई थप चासोपूर्ण बनाएको छ । 
 
करिब पाँच महिनापछि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल फर्किएका छन् । बिहीबार हङकङबाट बैंकक हुँदै काठमाडौं आइपुगेका देउवालाई स्वागत गर्न कांग्रेसका उनी पक्षीय नेता–कार्यकर्ताको ठूलो समूह विमानस्थल पुगेको थियो । तर, देउवाको यो स्वदेश फिर्ती राजनीतिक स्वागतको विषयमा मात्रै सीमित देखिन्न । 

उनको पाँच महिनाको विदेश बसाइ, उपचार, खर्चको स्रोत र उनीमाथि चलिरहेको अनुसन्धानका कारण अब सबैको नजर देउवामाथि छ । देउवा फागुन १२ गते स्वास्थ्य परीक्षणका लागि भन्दै सिंगापुर गएका थिए । उनी काठमाडौं हुँदै सिंगापुर पुगे पनि पत्नी आरजु राणा देउवा भने दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन् । पछि देउवा दम्पती र छोरा जयवीर कहिले हङकङ पुगे भन्ने औपचारिक विवरण सार्वजनिक भएन । 

उनीहरूले उपचारका लागि विदेशमा रहेको बताउँदै आए । तर, कुन अस्पतालमा, कुन स्वास्थ्य समस्याको उपचार भयो र पाँच महिनाको उपचार तथा बसाइ खर्च कसले व्यहो¥यो? यी प्रश्न अझै अनुत्तरित छन् । 

सम्पत्ति शुद्धीकरण र देउवा 

देउवा दम्पती विदेश जानुअघि नै उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भइसकेको थियो । अनुसन्धानका क्रममा देउवा दम्पती, छोरा जयवीरसिंह र केही आफन्तका नाममा रहेका चल–अचल सम्पत्ति तथा बैंक खाता रोक्का गरिएको छ ।

विदेश उपचारका लागि निश्चित सीमासम्म विदेशी मुद्रा सटही गर्न राष्ट्र बैंक वा इजाजतप्राप्त बैंकको व्यवस्था छ । तर राष्ट्र बैंकका अधिकारीहरूका अनुसार देउवा दम्पतीले उपचारका लागि विदेशी मुद्रा सटही गर्न राष्ट्र बैंकसँग अनुमति मागेको अभिलेख छैन । 

देउवा पक्राउ पर्न सक्छन् ?

देउवा पक्रन निकै पहल भएको थियो । त्यसैले उनी नेपाल आउने बित्तिकै पक्राउ पर्न सक्छन् भन्ने आम आशंका जायज नै देखिन्छ । देउवा कानुनी रूपमा कुनै मुद्दामा दोषी ठहर भएका छैनन् । तर पनि उनलाई पक्रन यसअघि सरकारले इन्टरपोलमार्फत रेड नोटिस जारी समेत गरेको थियो । जुन सफल चाहिँ भएन । 

इन्टरपोलले उनीहरू कुनै गम्भीर मुद्दामा अदालतबाट दोषी ठहर नभएको आधारमा नेपालको आग्रह कार्यान्वयन गरेन । त्यसपछि सर्वोच्च अदालतले जेठ ११ गते देउवा दम्पतीविरुद्धको पक्राउ पुर्जी बदर गरिदिएको थियो । तर यसको अर्थ देउवा अनुसन्धानबाट पूर्ण रूपमा मुक्त छन् भन्ने होइन । अनुसन्धान जारी रहेकाले आवश्यक कानुनी प्रक्रिया अघि बढ्न सक्ने अवस्था भने कायम छ ।

घरमा उडेका नोटहरु !

जेन–जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएपछि ठूलो परिमाणमा नगद भेटिएको दाबी मात्रै होइन सामाजिक सञ्जालहरुमा प्रशस्तै भिडियोहरु समेत आए । तर यसलाई कांग्रेसले एआई भन्दै पन्छिने काम ग¥यो । यद्यपी यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेका छन् । 

त्यसैगरी विभागले असार ३१ गते दायर गरेको अभियोगपत्रमा विवादित व्यवसायी दीपक भट्टबाट जयवीरको स्वामित्वमा रहेका कम्पनीहरूले २ करोड ६० लाख रुपैयाँ प्राप्त गरेको उल्लेख गरेको छ । अनुसन्धानकर्ताले उक्त रकम वित्तीय अपराधबाट आर्जित हुन सक्ने आशंका गरेका छन् । 

अब देउवा नै अनुसन्धान श्रोत 

विभाग र अख्तियारका अधिकारीहरूका अनुसार देउवा दम्पती अनुसन्धानमा उपस्थित भएपछि उनीहरूको लामो विदेश बसाइ, उपचारको वास्तविकता र खर्चको स्रोतसमेत अनुसन्धानको विषय बन्न सक्छ । आरजुलाई पासपोर्ट खरिद प्रकरणमा बयानका लागि अख्तियारले बोलाइसकेको थियो । 

उनले उपचारका कारण उपस्थित हुन नसकेको इमेलमार्फत जानकारी दिएकी थिइन् । तर अब देउवा आफै स्वदेश फर्किएपछि अनुसन्धान गरिरहेका निकायहरुले के गर्छन् भन्ने चासो बढेको छ । देउवा तत्काल पक्राउ पर्छन् कि पर्दैनन् ? त्यो स्पष्ट छैन । तर अनुसन्धानको निष्कर्षले आवश्यक ठहर गरे कानुनी प्रक्रिया अघि बढ्न सक्ने अवस्था भने छ ।

अहिले देउवाको सबैभन्दा ठूलो खतरा तत्काल पक्राउभन्दा पनि अनुसन्धानमा उपस्थित भएर पाँच महिनाको विदेश बसाइ, उपचार र आर्थिक स्रोतबारे जवाफ दिनुपर्ने अवस्था हो । अब देउवा अनुसन्धानमा कति सहयोग गर्छन् र राज्यका निकायले कुन कानुनी बाटो रोज्छन् ? त्यसले पनि उनको राजनीतिक र कानुनी भविष्यको अर्को अध्याय निर्धारण गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update