News 24 Television
किन छापा मार्ने भन्दै मन्त्रीहरु जथाभावी उत्रिन्छन् ? राज्यका संयन्त्रले काम गर्ने कहिले ?

काठमाडौं । कोहि मन्त्री बनेपछि शुरुमै गर्ने काम के होला ? झ्वाट्ट जवाफ आउँछ, अवलोकन, छापा र तडकभडक । तर, नयाँ जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका मन्त्रीहरुले यस्ता कुरामा ध्यान नदिई धमाधम काम गर्नेछन्। जनतालाई महशुस हुने गरि आफ्नो क्षेत्राधिकारको प्रयोग गर्नेछन्, आम अपेक्षा यस्तै थियो। तर, भइदियो उल्टो। केहि मन्त्रीहरुले छापा हान्नेदेखि अवलोकनमा जथाभावी बोल्दा आफ्नो ओजमात्रै घटाएनन्, सरकारमाथि प्रश्न उठ्ने स्थान समेत निर्माण गरिदिए । 

मन्त्री होस त गोकर्ण विष्ट जस्तो। गणतन्त्रपछि विष्टले विद्युत क्षेत्रमा बक्यौता नतिर्नेहरुको लाइन काटेर वाहवाही कमाए। बक्यौता उठाउने काममा तीब्रता दिए। त्यसपछि गणतन्त्रले दर्जनौं नेताहरुलाई मन्त्री पायो। 

यस्तोक्रम रोकिएन्। मन्त्रीले जेब्राक्रसभन्दा अन्यत्रैबाट बाटो काट्नेदेखि विदेशका सडकमा खप्की खानेसम्म गरे। तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले भिजिट नेपाल २०२० को विश्वव्यापी प्रचार गर्ने भन्दै विश्व रेस सुरु गर्दा यस्तो अवस्था भोगे। यी उदाहरणका पात्रमात्रै हुन्। 

व्यवस्थासंगै मन्त्री पनि फेरिए तर, शैली कहिल्यै फेरिएन्। आचरणकै कारण देखिएको तनाव नयाँ भनिएका अनुहारले पनि पछ्याए। जसकारण संकटको स्थिति अहिलेपनि उस्तैछ। केहि उदाहरणहरु हेरौं, जो मन्त्रीमाथिका प्रश्न पेचिला बनिरहेका छन्।

१. सुधन गुरुङ, गृहमन्त्री

सुधन गुरुङ गृहमन्त्री बनेपछि एक पटक राजीनामा दिने बाध्यतामा परे। राजीनामा दिएपनि फेरि मन्त्री नियुक्त गरिए। सुधन तडकभडकको विरोध गर्नेमा पर्दथे। मन्त्रीहरुको गाडीको लस्करलाई लल्कार्थे। तर, उनै आफै अहिले यहि शैलीमा छन्। विरोध भएपनि राज्यको प्रोटोकल उनले बल्ल बुझेका छन्। 

यतिमात्रै नभई सुधनले तराईका जिल्लामा प्रहरीले गर्ने काम गरिदिए। उनले होटेलमा छापा मारे। युवतीहरुलाई नियन्त्रणमा लिन निर्देशन दिए। यतिमात्रै नभई प्रहरीको तालिमप्राप्त कुुकुर डो¥याएको घटनाले पनि खुव चर्चा पायो। यतिमात्रै नभई उनै निकटकाले उनकै निर्देशनमा सञ्चार माध्यममा सवारी साधनले अवरोध सिर्जना गरेको घटनाले पनि सरकारमाथिको दिक्दारी बढाएकै छ।

२. सुनिल लम्साल, पूर्वाधार विकासमन्त्री

मन्त्री सुनिल लम्साल अभिव्यक्तिका कारण विवादमा आइरहन्छन्। अनुगमनमा गइरहने मन्त्री लम्सालले ठेकेदारमाथि देखाउने व्यवहार र अभिव्यक्तिमा अपरिपक्कताका साथ गर्ने व्यवहारले प्रश्न उठ्ने गरेको छ। 

उनले सम्हालेको मन्त्रालय सञ्चालन गर्ने तरिका समेत भिन्नै रहेको बताइन्छ। प्रधानमन्त्री वालेन्द्र शाहका दौतरी समेत रहेका लम्सालले अवलोकनमा पुग्दा एउटा न एउटा विवादास्पद विषयमा प्रवेश गरेकै हुन्छन्। छापा शैलीमा अनुगमनमा पुग्ने र दिने अभिव्यक्तिका कारण उनी आलोचित हुने गरेका छन्।

३. गौरी कुमारी यादव, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

उद्योगमन्त्री प्रधानमन्त्री वालेन्द्र शाहको गृह नगरकी हुन्। वालेन्द्रका कारण नै राजनीतिमा लागेको दाबी गर्ने गरेकी यादवलाई केहि समय पहिले प्रधानमन्त्री वालेन्द्रले पक्राउ गर्न प्रहरीलाई निर्देशन नै दिएको आरोप लागेको थियो। यस्तोमा अहिले उनी फेरि चर्चा र विवादमा छिन्। 

रेडिसन होटेलमा छापा मार्दै उद्योगमन्त्रालयको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ सय ८४ सिलिण्डर बरामद भएको सूचना बाहिर ल्यायो। एउटा तारे होटेलले यति ग्यास राख्ने विषय भने खास नयाँ नहुने तर्क गरिएको छ। ठूलोमात्रामा ग्यासको खपत हुने होटेलहरुले यति संख्यामा सिलिण्डर राख्नुलाई छापाको नाममा गरिएको प्रचारले निजी क्षेत्र त्रासमा समेत देखिन्छ। अझं मन्त्रालयले छापा मारेको दाबीपछि शुक्रबार गरेको पत्रकार सम्मेलनमा पनि कारबाहीको चेतावनी दिइरहेको छ । छापाको नाममा चलिरहेका यस्ता सस्ता कामले पनि सरकारमाथिको विश्वसनीयता र आलोचना चर्किदै गइरहेको छ।

छापा प्रचलन पुरानै

मन्त्री बन्नेहरुले छापा मार्ने, सामाग्री जफत गर्ने, कारबाहीका निम्ति सिफारिस गर्ने जस्ता कामहरु विगतदेखि नै गर्ने गरेको प्रचलन पाइन्छ। मन्त्रीने नै छापा मार्ने कि उनीहरुले कानूनले गर्न सक्ने कामलाई सहज बनाउने ? प्रश्नहरु देखिन्छन्। कानूनलाई काम गर्न सहजता प्रदान गरिए, मन्त्रीले निर्देशन दिएमात्रै पुग्ने स्थिति बन्छ। 

राज्यका निकायहरुले नै स्वतः सक्रियतापूर्वक काम गर्न सक्छन्। तर, मन्त्री आफैले सक्रियतापूर्वक छापा मार्ने जस्ता काम गर्न खोज्दा सार्वजनिक प्रश्नहरु उठ्ने गरेका छन् । यो नेपालको राजनीतिमा पहिले देखि नै चलिरहेको परम्परा नै हो। पुराना दलका नेताहरु मन्त्री बन्न वित्तिकै छापा मार्न पुग्ने गरेका थिए। यो प्रचलन अहिले पनि रोकिन सकेको छैन्। नयाँ भन्दै जनताले दिएको अपेक्षा को पुर्ताल यहि छापा शैलीबाट होला ? आम रुपमा प्रश्नहरु भने देखिन्छन्।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update