News 24 Television
किरण थापा मुख्यमन्त्रीको उम्मेदवार, ३ सांसदको खोजी

मकवानपुर । बागमतीमा एमालेभित्र चर्किएको विवादको गाँठो फुकेको छ । मंगलबार हेटौंडामा एमाले सचिव तथा बागमती इन्चार्ज महेश बस्नेतको नेतृत्वमा बसेको संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई दलको नेतामै कायम राख्दै किरण थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ । 

थपलियाविरुद्ध आफ्नै सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि चर्किएको विवादमा पार्टी नेतृत्वको हस्तक्षेपपछि एमालेले नेतृत्व परिवर्तन नगरी सरकारको नेतृत्व परिवर्तन गर्ने फर्मुला तय गरेको हो । 

नेपाली कांग्रेससँगको सत्ता गठबन्धन टुटेपछि नेकपासँग सहकार्य गरेको एमालेकै भागमा परेको छ बागमती प्रदेश सरकारको नेतृत्व । एमाले संसदीय दलको नेता जगन्नाथ थपलिया हुन् । तर एमाले अध्यक्ष ओलीले भने किरण थापालाई मुख्यमन्त्री बनाउन चाहे । त्यसैले दलको नेताबाट राजीनामा दिन बाध्य पारिएपछि थपलिया ओली निवास गुण्डुकै ढलेर लामै समय अस्पताल भर्ना हुनु परेको थियो । 

मुख्यमन्त्री पाउने निर्णय भएसँगै एमाले बागमती प्रदेश संसदीय दलको नेता र मुख्यमन्त्री को ? भन्ने विषयले लामो समयदेखि चर्चा पायो । दलका नेता जगन्नाथ थपलियामाथि बहुमत सदस्यको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता समेत भयो ।

प्रदेश नेतृत्वको भागवण्डादेखि मुख्यमन्त्री दिलाउने खेलसम्म प्रमुख भूमिका खेलेका एमाले सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतकै नेतृत्वमा मंगलबार दलको नेता र मुख्यमन्त्री टुंगो लगाइयो । दलको नेतामा थपलियालाई नै निरन्तरता र मुख्यमन्त्रीमा थापालाई अघि सार्नेगरी निर्णय भएको छ ।  

दलको नेता र मुख्यमन्त्री फरक÷फरक व्यक्तिलाई बनाउन लागे पनि थपलियाले आपत्ति नरहेको दाबी गरिरहँदा बैठक उपस्थित केही सांसदहरुले पार्टीको हस्तक्षेपमा निर्णय भएको गुनासो गरेका थिए । गुण्डुदेखि दलको कार्यालयसम्म पार्टी सचिवको हस्तक्षेप र करकापमा किरण थापालाई मुख्यमन्त्री बनाइएको गुनासो सांसदहरुले गरेका हुन् । 

सचिव बस्नेतले भने थपलियाको विषयमा बाहिर आएका कुराहरु भ्रम भएको बताउँछन् । दुईदिनको निरन्तर छलफलले थपलियाकै प्रस्तावमा थापालाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिने सहमती भएको बन्नेतको भनाइ छ । 

बागमती प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आव्हान गरिसकेको छ । तर लामो रस्साकस्सीका बीच मुख्यमन्त्रीमा दाबी पेश गर्न सहमति जुटाए पनि एमाले र नेकपासँग बहुमत सदस्य भने छैनन् । 

१०४ सदस्यीय प्रदेश सभामा एमालेको २५ र नेकपाको २६ गरी ५१ मात्रै हुन्छ । त्यसमा पनि एमालेकी उपसभामुख अप्सरा चापागाई सभामुखको भूमिकामा छिन् । यसो हुँदा नयाँ सरकारको दाबी गर्न ३ सांसद जुटाउन आवश्यक हुन्छ । जसका लागि अब सदनमा रहेका हाम्रो नेपाली पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गर्ने थापा बताउँछन् । 

एमालेभित्रको लामो रस्साकस्सीपछि मुख्यमन्त्रीमा किरण थापाको नाम टुंगिए पनि सत्ता समीकरणको अंकगणित भने अझै चुनौतीपूर्ण छ । अब थापासामु थप तीन सांसदको समर्थन जुटाएर बहुमत पु¥याउँदै मुख्यमन्त्रीको दाबीलाई सुरक्षित गर्ने चुनौती छ । एमालेभित्रको विवाद टुंगिए पनि सत्ता गठनको खेल भने अझै बाँकी छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update