काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता भइरहँदा कांग्रेसभित्र अब मुख्य चासो गगन थापाको नेतृत्वमा बन्ने नयाँ टिमको स्वरूप कस्तो हुन्छ भन्नेमा केन्द्रित भएको छ । सभापतिमा फेरि गगन आउने पक्काजस्तै छ भने अन्य पदाधिकारीमा भने निर्वाचन हुने देखिएको छ । सभापतिमा पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले प्रतिस्पर्धा गर्ने घोषणा गरे पनि उनको जितको सम्भावना कमजोर छ । त्यसैले अहिलेको प्रतिस्पर्धा सभापति पदभन्दा बढी गगनको नेतृत्वमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको संरचना कसरी बन्छ भन्नेमा मोडिएको छ ।
संशोधित विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र चार जना उपसभापति रहनेछन्। उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै, महामन्त्री ३ जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री भने १५ जना रहनेछन् । कोषाध्यक्ष केन्द्रीय सदस्यहरूमध्येबाट एक जना निर्वाचित हुनेछन् भने प्रवक्ता र सहप्रवक्ता एक–एक जना रहनेछन् । केन्द्रीय सदस्यहरूमा खुलातर्फ ४५ जना र महिला खुलातर्फ १५ जना रहनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित चार–चार जना तथा उपत्यकाबाट एक महिलासहित दुई जनाको प्रतिनिधित्व अनिवार्य गरिएको छ ।
यस्तै, दलिततर्फ ५ महिला र १ मधेसीसहित १४ जना, जनजातितर्फ ८ महिलासहित २० जना तथा खस आर्यतर्फ ८ महिलासहित १८ जना रहनेछन् । मधेसीतर्फ ५ महिलासहित १३ जना, जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना, पिछडिएको क्षेत्रबाट ३ जना, थारूतर्फ २ महिलासहित ६ जना, श्रमिकतर्फ १ महिलासहित ३ जना र पेसागत विज्ञतर्फ २ महिलासहित ७ जना रहने व्यवस्था छ । यसैगरी, सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिहरूबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना रहनेछन्। बाँकी ६६ जना केन्द्रीय सदस्य भने केन्द्रीय कार्यसमितिले पछि मनोनीत गर्नेछ ।
गगन थापाको सम्भावित टिममा सबैभन्दा अगाडि वर्तमान उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालको नाम देखिन्छ । शर्मा वरिष्ठ उपसभापतिमा जाने सम्भावना छ भने भुसाल साविककै पदमा दोहोरिने अनुमान छ । विशेष महाधिवेशनबाट पनि थापासँगै शर्मा र भुसाल उपसभापतिमा चयन भएका थिए । तर, उपसभापतिको दौड यतिमै सीमित छैन । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका साथै देउवा पक्षबाट लामो समय सक्रिय रहेका ज्ञानेन्द्रबहादुर कार्कीले पनि उपसभापतिमा प्रतिस्पर्धा गर्दै छन् । त्यसैगरी महालक्ष्मी उपाध्याय ‘डिना’, मीनेन्द्र रिजाल, भीष्मराज आङ्देम्बे र चन्द्र भण्डारीलगायत पनि उपसभापतिको दौडमा छन् ।
महामन्त्रीमा भने प्रतिस्पर्धा अझ खुला देखिन्छ । गगन नेतृत्वको विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पुनः सोही पदमा दोहोरिने तयारीमा छन् । त्यस्तै महामन्त्रीमा आङ्गेलु शेर्पा, उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनील शर्मा, अमर पुन र शंकर तिवारीलगायतले पनि दाबी प्रस्तुत गरेका छन् ।
सहमहामन्त्रीतर्फ भने गगनको टिमले विशेष महाधिवेशनमा बनेको समावेशी संरचनालाई नै निरन्तरता दिने सम्भावना छ । महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारू तथा पिछडिएको क्षेत्रबाट सन्तुलित प्रतिनिधित्व गराउने तयारी छ । केन्द्रीय सदस्यतर्फ यो समीकरण अझ फराकिलो हुनेछ । खुला, महिला, प्रदेश, दलित, जनजाति, खसआर्य, मधेसी, थारू, पिछडिएको क्षेत्र, श्रमिक, पेसागत विज्ञ, युवा तथा अन्य समावेशी समूहबाट ठूलो संख्यामा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यसैले थापाको ‘टिम’ पदाधिकारीको सूचीमा मात्र सीमित नभई देशभरका नयाँ पुस्ता, क्षेत्रीय नेतृत्व र विशेष महाधिवेशनपछि जोडिएका नेताहरूलाई समेट्ने प्रयासका रूपमा देखिनेछ ।
यसको अर्को महत्त्वपूर्ण पक्ष भनेको कांग्रेसले यसपटक औपचारिक प्यानल नबनाउने घोषणा गर्नु हो । उपसभापति विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनमा उम्मेदवारहरू स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्नेछन् र प्रतिनिधिहरूले विवेकपूर्ण मतदान गर्न पाउनेछन् । त्यसैले ‘गगनको टिम’ भन्नाले अघिल्ला महाधिवेशनजस्तो एउटै प्यानलको पूर्ण सूचीभन्दा पनि गगनको नेतृत्व स्वीकार गर्ने पुराना सहयात्री, विशेष महाधिवेशनबाट स्थापित पदाधिकारी, देउवा पक्षबाट आएका केही नेता र नयाँ पुस्ताका आकांक्षीहरूको मिश्रित स्वरूप बुझ्नुपर्ने हुन्छ । गगन नेतृत्वको अन्तिम टिमको चित्र भने निर्वाचनको नतिजापछि मात्रै प्रष्ट हुनेछ । अहिलेसम्मको अवस्थालाई नियाल्दा गगनले नेतृत्वको निरन्तरता कायम राख्दै संगठनभित्र नयाँ अनुहारलाई पनि ठाउँ दिने गरी टिम विस्तारको तयारी गरेका छन् । १५ जना सहमहामन्त्री, ३ जना महामन्त्री र फराकिलो समावेशी केन्द्रीय समितिको जगमा बन्ने गगनको यो ‘ड्रिम टिम’ले कांग्रेसलाई आगामी निर्वाचनमा नयाँ भरोसा र सङ्कल्पका साथ जनतामाझ लैजाने अपेक्षा गरिएको छ ।


