News 24 Television
नेतृत्वमाथि युवा पुस्ताको बढ्दो हस्तक्षेप, होला त राजानीति उथलपुथल ? (भिडियो)
thum
  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । मुलुक र दलहरुको नेतृत्वमा युवा पुस्ता आउनुपर्ने माग चौतर्फी उठेको लामो समय भइसक्यो । आम रुपमा उठ्ने गरेको यो आवाज पुरानै भएपनि यसले सार्थकता भने पाउन सकेको छैन । तर यस्तो माग कार्यकर्ता र जनतास्तरबाट बृहत रुपमा उठ्दै आएको छ ।

प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा न दलका नेताहरुले युवा पुस्तालाई नेतृत्व स्वीकारे न युवा पुस्ताहरुले नै पुराना नेताहरुसामु नेतृत्वको दरिलो प्रस्ताव राख्न सके ।

मुलुक दुर्गतीको दलदलमा फस्नुको धेरै कारणहरुमध्ये युवाहरु नेतृत्वका लागि अग्रसर नबन्नु पनि एक कारण हो । तर अब भने प्राय दल तथा नागरिक स्तरमा युवा नेतृत्वका लागि विभिन्न संघर्ष र प्रयास हुन थालेको छ ।

अहिले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसमा समेत युवा नेतृत्वको दवाब बढ्दो देखिन्छ । चाहे नेतृत्वकै लागि होस् वा भविष्यको नेतृत्व आधार तय गर्न, काँग्रेसमा यसको जबरजस्त प्रयास भइरहेको छ ।

यही फागुन ७ गतेबाट संचालन भएको काँग्रेस महासमिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन देउवाका लागि भारी बन्यो ।

गगनले सभापति देउवाको चाहना र रणनीति अनुसार बनेको हालको सत्ता गठबन्धनप्रति अब्जेक्सन’ गर्दा काँग्रेसमा झमेलै उत्पन्न भयो । यसले देउवको आगामी नेतृत्वदायी भूमिकामाथि संकटको कारण बन्न सक्छ ।

गगन वितेको राजनीतिक सरगमीप्रति मात्रै सशंकीत छैनन् । उनले आफ्नो प्रतिवेदनमा भविष्यमा गठबन्धन नगर्ने, चुनावमा रुख बाहेकमा मत हाल्ने स्थिति सिर्जना नगर्ने लगायतका विषय पनि समेटिदिए । यसले देउवालाई अझ संकट पैदा गर्यो ।

यसबीचमा गगनलाई प्रतिवेदनमा उल्लेखित ती विषयहरु हटाउन धेरै आग्रह गरियो । तर गगन टसमस भएनन् । गगनसँग सहमति नै नजुटी शुरु भएको महासमिति बैठकमा देउवा चुनावी गठबन्धन आवश्यकता, औचित्य र समयक्रमको माग अनुसार हुने विषय भन्दै जवाफ फर्काउन बाध्य भए ।

नेतृत्वकै लागि वा अन्य विषयमा गगन र देउवाबीचको संघर्ष यो नै नयाँ भने होइन् । १४औं महाधिवेशनमा गगनले महामन्त्री पद जिते ।

त्यसपछि उनले संसदीय दलको नेतामा देउवाविरुद्ध उम्मेदवारी दिए । यहीबाट गगन देउवाको चुनौतीको पात्रका रुपमा स्थापित हुँदै आएका छन् ।

महासमिति बैठकमै फरक प्रतिवेदन पेश गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने गगनको विपक्षमा र देउवाको मतलाई मलजल गर्ने खालको बुँदा समेटे ।

शर्माले प्रतिवेदनमा गठबन्धनको औचित्य, आवश्यकता, कोशी प्रकरण लगायत विषयलाई दृढताका साथ अघि बढाएका थिए ।

गगनको प्रतिवेदनलाई काउन्टर दिन खोजेपनि शर्माको यो प्रतिवेदन नेतृत्वको समर्थन भने कदापी होइन । गगन र शर्माबीच यति फरक हो की गगन देउवासँग सिङ जुधाएरै नेतृत्व हत्याउन चाहन्छन् ।

शर्मा देउवाको मन जितेर नेतृत्व हत्याउन चाहन्छन् । त्यसैले यी दुई पात्रबीच तरिका फरक देखिएपनि उदेश्य भने एकै देखिन्छ । उनीहरुको स्वार्थ भनेको सक्षम र युवा पुस्ताको नेतृत्व स्थापित गराउनु नै हो ।

काँग्रेसमा मात्रै होइन अन्य दलहरुमा समेत युवा नेतृत्वहरु आउनसक्ने संकेतहरु प्रशस्तै देखिन थालेका छन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मेलित समाजवादी मोर्चाको नेतृत्व पनि युवाले नै गरिरहेका छन् ।

केही दिन अघि मात्रै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजक बनेका थिए । यस मोर्चाले अहिलेसम्म ५८ जिल्लामा संगठन विस्तार गरिसकेको छ ।

मोर्चाको पालो पालो नेतृत्व गर्ने भनिएतापनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसले पनि नेतृत्वमा युवाहरुलाई नै निम्त्याइरहेको छ । हाल विप्लव संयोजक रहनु मोर्चा आबद्ध दलका ५४ सांसदहरु र मुलुकभरका कार्यकर्ताहरुको पनि अप्रत्यक्ष रुपमा नेतृत्व रहनु हो ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि पुराना दल र नेताहरुको विकल्पलाई पहिलो सर्त बनाएको छ । उसले पुराना दल र नेताहरुकै कारण मुलुक अध्यारोतर्फ धकेलिएको भन्दै त्यसको खिलापमा राजनीतिक र सांगठानीक यात्रा गरिरहेको छ ।

वर्तमान अवस्थासम्ममा प्रयोग भइसकेका नेताहरुलाई राजनीति ढंगले पाखा लगाउने रास्वपाको पनि रणनीति नै रहेको छ । जसको नेतृत्वमा धेरैजसो युवाहरु नै छन् । र, उनीहरु लोकप्रिय र उत्कृष्ट लयमै छन् ।

यसले पनि अन्य दलहरुमा युवा नेतृत्वको आवश्यकता झल्काएको छ । यसरी पछिल्लो समय दलका युवा नेताहरु नेतृत्वका लागि अग्रसर हुनु तथा कार्यकर्ता र नागरिकस्तरबाटै युवा नेतृत्वको अत्याधिक ‘डिमाण्ड’ आउनु मुलुक र राजनीतिले नयाँ नेतृत्व प्राप्त गर्ने आशाको संकेत बनेको छ ।

यसले लामो समयदेखि युवा पुस्ताको नेतृत्वले भोका भएका नेपाली जनताहरुमा केही राहत मिल्ने पक्का छ । यदी यो चाहना पूरा भए मुलुकको राजनीति सँगै विकासमा उथलपुथल नहोला भन्न सकिन्न ।

https://youtu.be/j8BlKDpbACk?si=VMzEAfkFCVvk4IRn

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update